आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

गृह मिलाउन माओवादीलाई सकस

1 year ago
22/02/2018

राजधानी समाचारदाता / काठमाडौं

नेकपा माओवादी केन्द्रमा गृह मन्त्रालयका लागि हानाथाप देखिएको छ । पार्टीलाई सरकारको नेतृत्व कसले गर्ने भन्दा पनि गृह मन्त्रालय मिलाउन हम्मे देखिएको छ ।

वरिष्ठ नेता रामबहादुर थापाले पार्टीबाट सरकारको नेतृत्व गरेर जाने देखिएपछि नेतृत्वमा थापा सर्वसम्मत जस्तै देखिएका छन् । तर, माओवादीले पाउने गृह मन्त्रालयमा भने हानाथाप परेको हो ।

पार्टीभित्र संघीय संसद्मा प्रतिनिधित्व गर्नेमा अध्यक्षपछि थापा दोस्रो वरीयतामा छन् । थापाले सरकारको नेतृत्व गरेर जाने भएपछि उनको नेतृत्वमा विवाद नहुने देखिएको छ ।

थापाले उपप्रधानसहित अर्को कुनै मन्त्रालय सम्हालेर सरकारमा सहभागी हुनेछन् । थापाले भने उपप्रधानसहित गृह नै सम्हालेर जाने इच्छाराखेका छन् ।तर, अन्य नेताहरूले उपप्रधानसहित अन्य कुनै मन्त्रालय सम्हालेर थापालाई सरकारमा पठाउनुपर्ने भन्दै गृह नदिन अध्यक्षसँग माग गरेका छन् ।

थापाको अलवा पूर्व उपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्वहरूमन्त्री गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतले सरकारको नेतृत्व गरेर जाने इच्छा देखाएका छन् । पूर्वउपप्रधानमन्त्री रहेका कृष्णबहादुर महराले भने सभामुखमा इच्छा देखाएको माओवादी स्रोत बताउँछ । थापाले सरकारको नेतृत्व गरेको अवस्थामा पूर्वउप्रपधानमन्त्री बनिसकेकाले रायमाझी बाहिरिने छन् भने पोखरेल र पुन सरकारमा सहभागी हुन सक्ने देखिएको छ ।

माओवादीभित्र मन्त्रीका सम्भावित अन्य पात्रमा मातृका यादव, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत, अग्नि सापकोटा, हरिबोल गजुरेल, जयपुरी घर्ती, शशी श्रेष्ठ, हितबहादुर तामाङ, हिमाल किरातीलगायत छन् ।

यता, माओवादी केन्द्रले सरकारको नेतृत्वमा वरिष्ठता र मन्त्रीहरूमा योग्य र दक्षताका आधारमा छान्ने तयारी गरेको छ । सरकारको नेतृत्व गरिरहेको एमालेसँग कति–कति वटा र कुन–कुन मन्त्रालय बाँडफाँट गर्ने भन्ने अन्तिम तयारी भई नसकेकाले माओवादीले मन्त्री छान्न सकेको छैन । अध्यक्ष पुष्पकमल दाहालले भने नेताहरूलाई समृद्धि र विकासमा नतिजा दिन सक्नेहरूलाई मात्र मन्त्री बनाउने बताएका छन् ।

माओवादी केन्द्रका नेताहरूसँग बुधबार आफ्नै निवासमा भएको अनौपचारिक बैठकमा अध्यक्ष दाहालले योग्य, दक्ष र प्रतिबद्ध व्यक्तिलाई मन्त्री बनाइने बताएका छन् ।

‘अब समृद्धि र विकासमा नतिजा दिन सक्ने योग्य, दक्ष र प्रतिबद्ध व्यक्तिलाई सरकारमा पठाउनुपर्छ, अध्यक्ष दाहालले नेताहरूसँग बुधबार भने,‘अहिले प्रधानमन्त्रीसँग कुन कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन, मन्त्रालयको टुंगो लगाएपछि छलफल गरेर टुंगो लगाउनुपर्छ ।’अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग मन्त्रालयको भागबन्डा टुंगो लागेपछि बैठक बसेर मन्त्रीहरूको टुंगो लगाउने नेताहरूसँग बताएका थिए ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...