सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

सशस्त्रमा चार एआईजीको सरुवा, दुईको पदस्थापन

3 years ago

राजधानी समाचारदाता
काठमाडौं, ६ असोज

सरकारले सशस्त्र प्रहरी बलका चार जना एआईजीको सरुवा र दुई जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका एआईजीहरुको सरुवा र पदस्थापन गरेको हो । सशस्त्र प्रहरी बलमा लामो समयदेखि एआईजीको सरुवा हुन सकेको थिएन । यसैगरी बढुवा भएका दुई एआईजीको पनि झण्डै साढे तीन महिनासम्म पदस्थापन हुन सकेको थिएन ।

apf-logo

पछिल्लो समयमा प्रशासन विभाग हेर्ने जिम्मेवारी पाएका मानवस्रोत विभागका एआईजी सिंहबहादुर श्रेष्ठलाई प्रशासन विभाग सरुवा गरिएको छ । मानवस्रोतमा भने असार पहिलो साता एआईजीमा बढुवा भएका शैलेन्द्र खनाललाई पदस्थापन गरिएको छ । एआईजीमा बढुवा भएपनि तत्काल पदस्थापन नहुँदा उनी लामो समयसम्म सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारीमा थिए । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारीमा डीआईजी रहने व्यवस्था छ । यद्यपि, खनाल एसएसपी हँुदा पनि प्रवक्ता थिए ।

खनालसँगै बढुवा भएका जीतबहादुर पुनलाई महानगरीय सशस्त्र प्रहरी बलको जिम्मेवारी दिइएको छ । उनी वर्तमान आईजीपी दुर्जकुमार राईसँगै २ फागुनमा अनिवार्य अवकाशमा जाने भएकाले करिब पाँच महिना मात्रै महानगरीय सशस्त्र प्रहरी बलको प्रमुख हुनेछन् ।

यस्तै, कार्यविभागका एआईजी कृष्णकुमार तामाङलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बलमा प्रशिक्षण प्रतिष्ठानलाई ‘राम्रो ठाउँ’का रुपमा लिइँदैन । त्यहाँ सरुवा भएका एआईजीले पनि आफूलाई ‘थन्क्याइएको’ रुपमा लिने गर्छन् । हाल त्यहाँ सरुवा भएका तामाङ पनि आईजीपी राईकै व्याची हुन् । उनले पनि २ फागुनमा सशस्त्र प्रहरी बलबाट बिदा हुनुपर्ने छ ।

यसैगरी, प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी प्रकाश ओझालाई सीमा सुरक्षा विभाग सरुवा गरिएको छ । सीमा सुरक्षा विभागमा रहेका एआईजी पे्रमकुमार शाहीलाई कार्य विभाग सरुवा गरिएको छ ।

(Visited 17 times, 1 visits today)
Loading comments...