बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

तातोपानी कुण्डमा नुहाउने भीड

1 year ago
03/03/2018

तातोपानी कुण्डमा नुहाउने भीड

 जनक श्रेष्ठ

मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ बाहुनडाँडास्थित तातोपानी कुण्डमा रोग निको हुने विश्वासमा नुहाउनेहरूको भिड बढ्न थालेको छ । विश्य प्रख्यात अन्नपूर्ण पदमार्गसँगै जोडिएको यस तातोपानी कुण्डमा दैनिक २ सय जनाको हाराहारीमा मानिसहरू रोग निको हुने विश्वासमा नुहाउन आउने गरेका छन् । विशेषगरी छालासम्बन्धी र बाथका रोगीहरू लमजुङसहित अन्य जिल्लाहरूबाट समेत यहाँ नुहाउन आउने गरेका छन् ।

यो कुण्ड सदरमुकाम बेंसीसहरबाट २० किलोमिटर उत्तरमा मस्र्याङ्दी नदीको किनारमा अविस्थित छ । बाहुनडाँडाको फेदीमा रहेको ठूलो पहरोबाट तातोपानीको मूल निस्किएको छ । उमालेको जस्तो तातोपानीमा केही मिनेट राखेमा अन्डासमेत उसिनेर खान सकिने स्थानीय बताउँछन् । मस्र्याङ्दी नदीको किनारमा तीनवटा पोखरी बनाइएको छ । एकपटकमा २० जनासम्म नुहाउन सकिन्छ ।

 तातोपानीमा पहिलोपटक नुहाउन आएका करुण दनाईले तातोपानीमा आएर नुहाउँदा धार्मिक रूपमा पनि छालाको रोग, चर्म रोग, ढाड दुख्ने समस्या पनि समाधान हुने भन्दै आफू पनि आएको बताए । उनले तातोपानी कुण्ड वरपर खानेपानीको व्यवस्था र शौचालयको व्यवस्था भने राम्रो हुन नसकेको भन्दै यसमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताएका छन् । दुई वर्षअघिबाट मेरो ढाड दुख्ने गरेको थियो, सो तातोपानीमा नुहाउँदा निको हुने जनविश्वास तथा धार्मिक आस्थाले २९ माघमा त्यहाँ पुगी नुहाए अनि एक सातापछि नै मेरो ढाड दुख्ने समस्या पूर्ण रूपमा हटेको बेंसीसहर नगरपालिका ६ चनौटेका रोहन सिन्चुरीले बताए । उनीसँगै गएका उनका ममी दिलमाया, बाबा धन काजीलगायत परिवार नै गएको सिन्चुरीको भनाइ छ । उनका अनुसार रोहनका आमाबुबाको हातखुटा दुख्ने, नशा दुख्ने गरेकोमा तातोपानीमा नुहाएर आएपछि अहिले दुखाइ कम हुँदै गएको छ ।

उनीहरू मात्र होइनन् यस कुण्डमा नुहाउन लमजुङ, तनहुँ, गोरखा र मनाङदेखिका मानिस आउने गर्छन् । सो कुण्डमा बालबालिकादेखि वृद्धवृद्धासम्मकै बिरामीहरू नुहाउनलाई आउने गरेको स्थानीय नरबहादुर गुरुङले बताए । यहाँको तातोपानी नुनिलो र निकै तातो भएकाले नुहाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुने बताइन्छ । तातोपानीमा धार्मिक आस्थाले नुहाउन आउनेहरूमध्ये केहिले बोका, कुखुरा, हाँस, परेवा बलिसमेत चडाउने गरेको स्थानीय बताउँछन् ।

 

(Visited 15 times, 1 visits today)
Loading comments...