आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

तेस्रो राष्ट्रपतिका लागि दुवै महिला उम्मेदवार

1 year ago
08/03/2018

महेश्वर गौतम / काठमाडौं

मुलुकको तेस्रो राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारीलक्ष्मी राई उम्मेदवार बनेका छन् । २९ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि सत्तापक्षीय वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति भण्डारीलाई नै उम्मेदवार बनाइएको छ भने प्रतिपक्षमा रहेको कांग्रेसले राईलाई उम्मेदवार बनाएको छ । संघीय संसद् भवन बानेश्वरमा बुधबार दुवै उम्मेदवार आफ्ना प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

एमालेले मंगलबार राति अबेर विवादका बीच राष्ट्रपतिको उम्मेदवार भण्डारीलाई नै बनाउने निर्णय गरेको थियो भने कांग्रेसले बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकबाट राईलाई उम्मेदवार बनाउने तय गरेको थियो । उम्मेदवारी दर्ताका लागि संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेकी भण्डारीले आफूले संविधानको भावनाअनुसार काम गरेकाले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने मौका पाएको बताइन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरू माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङ छन् भने माओवादी केन्द्रबाट ओनसरी घर्ती प्रस्तावक बसेकी छन् ।यस्तै माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहित एमाले नेताहरू विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले भण्डारीको उम्मेदवारीमा समर्थन गरेका छन् ।

यसैगरी, कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी राईको प्रस्तावकमा कांग्रेसकै चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे छन् । यस्तै उनको उम्मेदवारीमा सरिता प्रसाईं, शिवचन्द्र चौधरी, सुजाता परियार र राधा घलेले समर्थन गरेका छन् । राई दोस्रो संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सांसदसमेत थिइन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भण्डारी भने संविधान घोषणापछि ११ कात्तिक २०७२ मा पहिलोपटक मुलुकको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । सो बखत नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै उनी राष्ट्रपति निर्वाचित भएकी हुन् । तेस्रो राष्ट्रपतिका लागि भने २९ फागुनमा निर्वाचन हुने आयोगको कार्यतालिका छ ।राष्ट्रपतिको निर्वाचनमा सत्तापक्षीय गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारीलाई सबैले सुनेका छन् तर त्यही पदको अर्की उम्मेदवार कुमारी लक्ष्मी राई को हुन् भन्ने सबैलाई चासो छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दुवै उम्मेदवार संयोगले दुवै जना महिला र दुवै भोजपुरे चेली हुन् ।

को हुन् राई ?

२१ वैशाख २००६ मा भोजपुर, छिनाम्खुमा जन्मिएकी कुमारीलक्ष्मी राईले त्रिविविबाट अंग्रेजीमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । दोस्रो संविधानसभा निर्वाचनबाट कांग्रेस कोटामा समानुपातिकतर्फकी सभासद् बनेकी राई कांग्रेसकी पुरानै कार्यकर्ता हुन् ।

लक्ष्मीका बाबु दिवानसिंह राई २०१६ सालमा बीपी कोइरालाको मन्त्रिमण्डलमा मन्त्रीसमेत बनेका थिए । राईले २०१५ सालमा नै भोजपुरबाट सांसदको निर्वाचन जितेका थिए ।

पञ्चायतकालमा मोरङको वयरवनमा भएको झोडाकाण्डमा कम्युनिस्ट कार्यकर्ताको आक्रमणबाट बाबु दिवानसिंहको मृत्युपछि लक्ष्मी पुस्ताको पथलाई अँगाल्दै २०३० बाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

बुधबार राष्ट्रपतिका लागि संसद् भवन बानेश्वरमा उम्मेदवारी दर्तापछि उनै लक्ष्मीले भनिन, ‘म वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा सिनियर हुँ ।’

राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने क्रममा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी (बाँया) र कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राई ।    तस्बिर ः राजधानी

(Visited 10 times, 1 visits today)
Loading comments...