आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

पहिलो जितको खोजीमा नेपाल

1 year ago
08/03/2018

राजधानी समाचारदाता / काठमाडौं

नेपाली क्रिकेट टोलीले बिहीबार विश्वकप छनोट क्रिकेटको आफ्नो दोस्रो खेलमा बलियो टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । नेपाल र स्कटल्यान्डबीचको खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोटर््स क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । समूह चरणमा शीर्ष तीनभित्र रहेर सुपर सिक्स चरणमा पुग्न नेपालले स्कटल्यान्डलाई पराजित गर्नैपर्ने चुनौती छ । तर, नेपालले अहिलेसम्म स्कटल्यान्डलाई पराजित गर्न सकेको छैन । यसअर्थमा बिहीबारको खेल नेपालका लागि प्रतियोगितामा पहिलो जितका साथै स्कटल्यान्डविरुद्ध बदला लिने सुनौलो अवसर पनि हुनेछ ।

नेपालले चार वर्षअघि न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा स्कटल्यान्डसँग ९१ रनको पराजय बेहोरेको थियो । यस्तै, सन् २०१५ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा ३ रनको तथा दोस्रो खेलमा ९ विकेटको हार बेहोरेको थियो ।

जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्यान्ड पाँच टोली सम्मिलित समूह ‘बी’को शीर्ष स्थानमा छ ।

स्कटल्यान्डले समूहको पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले तथा दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो । अफगानिस्तानविरुद्धको जितमा स्कटल्यान्डका कोलुम म्याकलोइडले १५७ रनको सानदार इनिंस खेलेका थिए । उनै कोलुम नेपालका लागि मुख्य चुनौती बन्न सक्छन् ।

आफ्नो पहिलो खेलमा जिम्बावेविरुद्ध ११६ रनको पराजय बेहोर्दा शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय इनिंस खेल्दा बलिङमा पनि नेपालले राम्रो प्रदर्शन गर्न सकेको थियो । जिम्बावेविरुद्ध सुदृढ ब्याटिङ गरेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिँदै आफ्नो बलियो पक्ष बलिङलाई पनि सुधार गर्नुपर्ने देखिन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँगको हार स्वाभाविक रहेको बताउँदै दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध उत्रँदा कुनै दबाब नहुने बताएका छन् ।

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्यान्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्यान्ड समूहको शीर्ष स्थानमा रहँदा समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ ।

दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक–एक खेल खेलेको हङकङ र नेपाल अंकविहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् । छनोटमा शीर्ष दुईमा रहने टोलीले सन् २०१९ मा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...