बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

व्यावहारिक शिक्षामा लगानी बढाऊ

9 months ago
21/03/2018

व्यावहारिक शिक्षामा लगानी बढाऊ

 

८ चैतबाट एसईई परीक्षा सञ्चालन हुँदै छ । वर्ष दिन अध्ययन गरेर विद्यार्थीहरू तीन घण्टामा आफ्नो ज्ञानको तह प्रदर्शन गर्दै छन् । कक्षामा शिक्षकले घोकाएको पाठ र आफूले घोकेको आधारमा हामीकहाँ सबैजसो विद्यार्थीको मूल्यांकन गर्ने  परिपाटी छ । अभिभावकदेखि शिक्षकसम्मले ‘घोकन्ती विद्या धावन्ती खेती’ उखान स्मरण गराउने चलन अझै छँदै छ । एसईई दिँदै गरेका विद्यार्थी पनि यसबाट अछुतो छैनन् । एसईईकै मुखमा काभ्रेको एउटा निजी विद्यालयले टपरी गाँस्नेदेखि बत्ती कात्नेसम्मका व्यावहारिक ज्ञान सिकाएर त्यसको प्रदर्शनी पनि ग¥यो । काभ्रेको सो विद्यालयले सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान दिएर अरूका लागि पनि अनुसरणयोग्य काम गरेको छ । यो सिकाइ प्रक्रिया एउटा उदाहरण मात्र हो ।

माध्यमिक तह उत्तीर्ण विद्यार्थीहरू घरको भान्सामा पोख्त हुँदैनन् । दैनिक जीवनमा आवश्यक घरायसी सामग्री उत्पादनमा पनि उनीहरूको सीप देखिँदैन । एक ढंगले व्यावहारिक ज्ञानका विषयमा उनीहरू माध्यमिक तह उतीर्ण हुँदासम्म ‘बच्चा’ नै हुन्छन् । विद्यालयको पाठ्यक्रममा यस्ता व्यावहारिक सीप नभएका पनि होइनन् । तर, विद्यालयमा उनीहरूलाई यस्ता ज्ञान हम्मेसी सिकाइँदैन । बत्ती कात्ने, टपरी गाँस्ने, फाटेका कपडा सिलाउने जस्ता सामान्य ज्ञानको अपेक्षा माध्यमिक तह उतीर्ण विद्यार्थीबाट बाबुआमाले गर्छन् । तर, सैद्धान्तिक ज्ञानको रापमा उनीहरूले दैनिक जीवन व्यवहारमा आवश्यक विषय सिक्नै पाउँदैनन् । सिक्ने चाह भएकाले पनि विद्यालयमा अवसर पाउँदैनन् । कतिपयले घरमा समेत त्यो वातावरण पाइरहेका हँुदैनन् । विद्यालयबाटै उनीहरूलाई आधारभूत तथा व्यावहारिक ज्ञान सिकाइनुपर्छ । काभ्रेको विद्यासागर स्कुल यो मामिलामा एक कदम अघि देखिएको छ । यसले निरन्तरता पाउनुपर्छ । विद्यार्थीलाई व्यावहारिक जीवनमा आवश्यक सीप विकासका लागि घर मात्र होइन, विद्यालय महŒवपूर्ण आधार हो । यसको मतलव विद्यालय मात्रै सबथोक होइन, अभिभावकले पनि दैनिक जीवनयापनका क्रममा आइपर्ने आंशिक ज्ञान आफ्ना सन्ततिलाई दिने हो भने कुनै पनि सहरिया बालबालिकाले ‘दूध कहाँबाट आउँछ भनेर प्रश्न गर्दा ‘गाडीबाट’ भन्ने जवाफ दिने थिएनन् ।

कोर्समा भएका मात्र होइन, अतिरिक्त क्रियाकलापअन्तर्गत व्यावहारिक सीप विकास विद्यालयले गराइदिन आवश्यक छ । यसका लागि राज्यले पाठ्यक्रममा सुधार गरी व्यावहारिक ज्ञानलाई अनिवार्य गराउने व्यवस्था मिलाउनुपर्छ । साथै विद्यालयले स्थानीय आवश्यकता र समाजको चाहनाअनुसारका सीप विद्यार्थीलाई सिकाउन अग्रसरता लिनुपर्छ । कम्प्युटर सिकाउने नाममा अभिभावकलाई घरमा बिल थमाउने विद्यालयहरूले जबसम्म टपरी गाँस्न सिकाएबापतको बिल पनि अभिभावक कहाँ पठाउँदैनन्, तबसम्म विद्यार्थीको व्यावहारिक ज्ञान अपुरो नै रहन्छ । घोकेर मात्र होइन, भोगेर पनि ज्ञान मिल्छ भन्ने बोध गराउने कार्यमा अभिभावकसँगै विद्यालय र राज्यको नीतिसमेत हुनुपर्छ । सरोकारवालाको यसतर्फ ध्यान जाओस् ।

(Visited 2 times, 1 visits today)