आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

एनसीसी बैंक घोटाला प्रकरण बैंक व्यवस्थापनको कार्यशैलीप्रति नै आशंका

1 year ago
24/03/2018

राजधानी समाचारदाता / काठमाडौं

एनसीसी बैंकमा भएको घोटाला प्रकरणमा बैंक व्यवस्थापनमाथि नै आशंका पैदा भएको छ । बैंकका सञ्चालक नै पक्राउ परिसकेको सो मुद्दालाई अहिले पुरानो विषय भनेर नयाँलाई ढाकछोप गर्न लागिएको छ ।

एनसीसी बैंकसँग मर्जर भएको एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटालामा एनसीसी बैंक तथा एपेक्स डेभलपमेन्ट बैंक व्यवस्थापनमाथि आशंका उत्पन्न भएको हो । तत्कालीन एपेक्स बैंकले घटना छलछाम गर्न अहिलेसम्म चुप बस्यो भने मर्ज भएपछि एनसीसी बैंक पनि हालसम्म घोटालालाई सार्वजनिक नगरी किन चुप बस्यो ? मर्ज भइसकेपछि यति ठूलो रकम घोटाला भएको घटनामा किन मौन बस्यो भन्ने प्रश्न अहिले जताततै उठ्न थालेको छ ।

दुई बैंकबीच मर्जर सम्झौता भएपछि १ करोडभन्दा बढी कर्जा प्रवाह गर्दा मर्जर कमिटीमा जानकारी गराउनुपर्ने नियम भए पनि बैंक व्यवस्थापनको कमजोरीका कारण जानकारी नगराई कर्जा प्रवाह गरिएकाले डेढ वर्षपछि बैंक घोटाला भएको खुलेको हो । आर्थिक हिनामिना गर्ने हेतुले बैंक व्यवस्थापनले मर्जर कमिटीमा जानकारी नगराउँदा बैंक घोटाला भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘अनुसन्धानमा कर्जा दिँदा मर्जर कमिटीमा छलफल नै नगरी दिएको पाइयो ।’ तत्कालीन एपेक्सका कर्मचारीले पनि राष्ट्र बैंकको छानबिन कमिटीमा बैंक व्यवस्थापनको कमजोरीका कारण सो घोटाला भएको बयान दिएका थिए ।

राष्ट्र बैंक स्रोतका अनुसार एपेक्स सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद धितालको योजनामै कर्जा दुरुपयोग भएको थियो । उनले आफ्नो गल्ती राष्ट्र बैंकको छानबिन समितिसमक्ष पनि स्वीकार गरेका थिए । तर, राष्ट्र बैंकको छानबिन समितिले तयार पारेको प्रतिवेदनकै आधारमा बैंकिङ कसुर गरेको आरोप लगाउन नमिल्ने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ कसुर लगाउन ती अध्ययन प्रतिवेदनमा उल्लेख गरेका सबै घटनाका बारेमा कानुन शाखाले अध्ययन गरेर प्रमाणित भएपछि मात्रै बैंकिङ कसुर ठहरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले घटना लुकाउन नचाहेको भन्दै राष्ट्र बैंककै सहयोगमा दोषी पक्राउ परेको राष्ट्र बैंकले जनाएको छ । सबै घटना अध्ययन गरी दोषी प्रमाणित गर्न प्रक्रियागत रूपमा जानुपर्ने भएकाले केही ढिलो भएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए ।

आर्थिक हिनामिना गर्ने हेतुले बैंक व्यवस्थापनले मर्जर कमिटीमा जानकारी नगराउ“दा बैंक घोटाला भएको राष्ट्र बैंक स्रोतको भनाइ छ

कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसीसी बैंकमा बैठक चलिरहेका बेला छापामारी १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । एनसीसीले एपेक्ससहित चारवटा विकास बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार थालेको थियो । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका हुन् । एनसीसीसँग मर्जरपछि पनि आर्थिक हिनामिना गरेको आंकामा अदालतको आदेशअनुसार एपेक्सको कारोबार विवरण छुट्टै राखिँदै आएको थियो ।

एपेक्सका कर्मचारीहरूले नक्कली पुर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको तथ्य सार्वजनिक भएको थियो । खोला तथा बगरको कमसल जग्गासमेत धितो राखेर अधिक धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेका थिए । साथै करिब ३५ जनाजति नक्कली ऋणी बनाई कर्जा दुरुपयोग गरेको अनुसन्धानमा खुलेको छ । एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित २० जनामाथि कारबाही गर्न राष्ट्र बैंकले सिफारिस गरेपछि  प्रहरीको उनीहरूलाई पक्राउ गरेको हो ।

(Visited 23 times, 1 visits today)
Loading comments...