शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

राष्ट्रपतिको शपथ न्यायिक विवादमा

12 months ago
28/03/2018

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथको वैधानिकता विवाद सर्वोच्च अदालत प्रवेश गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अवकाश पाइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथ बदरको माग गर्दै परेको निवेदन अस्वीकार गर्ने सर्वोच्च प्रशासनको आदेश बदर गरेपछि यो विवाद अदालत प्रवेश गरको हो ।
पराजुलीले २१ साउनमै अवकाश पाएका देखिएको र न्यायपरिषद्ले पत्राचार गरिसकेको अवस्थामा शपथको वैधता संवेदनशील प्रश्न भएको इजलासले जनाएको छ ।
शपथ बदरको मागसहित अधिवक्ता नारायण खरेलले दायर गर्न ल्याएको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दरपीठ (दर्ता अस्वीकार ) गरेको थियो । दरपीठविरुद्ध भण्डारीले इजलासमा निवेदन दर्ता गरेपछि न्यायाधीश खतिवडाको मंगलबारको इजलासले निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।
इजलासले निवेदकले गम्भीर विषय उठान गरेकाले निरूपण गर्नुपर्ने देखिएको भन्दै निवेदन दर्ता गर्न आदेश दिएका हुन् ।

प्रधानन्यायाधीशमा तीन न्यायाधीश सिफारिस

न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम्मध्येका तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्‌को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा पठाएको हो । परिषद्‌ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर जबराको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि सर्वोच्च अदालतमा रिक्त रहेको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा न्यायपरिषद्ले अभिलेख पठाएपछि संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...