आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन, समृद्धिका लागि जुटौं

12 months ago
30/03/2018

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै देश र जनताको हितमा काम गर्न सांसदहरूलाई आह्वान गरेकी छन् । उनले समृद्धि हासिल गर्नेतर्फ मुलुक अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

‘अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।’

संघीय संसद् भवन नयाँबानेश्वरमा अभिवादन फर्काउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर : द्वारिका काफ्ले

उनले मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउँदै अब मुलुक स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको बताइन् । जनताको संवैधानिक तथा कानुनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नुपर्ने बताइन् ।

राष्ट्रपतिले राजनीतिक असन्तुष्टिको हल संसद्बाट खोज्न पनि आग्रह गरिन् । ‘भर्खरै सम्पन्न भएका निर्वाचनहरूमा नेपाली जनताले उत्साहपूर्ण सहभागिता जनाएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिबाट वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम् अभ्यासमार्फत प्रतिनिधि संस्थाहरूभित्रैबाट समाधान हुनुपर्छ भन्ने अभिमत व्यक्त गरेका छन्,’ उनले भनिन्, ‘त्यसैले संसद्मा आमनेपालीको विश्वास प्रतिबिम्बित छ ।’ पौने ३ करोड नेपालीले यातायात, सञ्चार, ऊर्जाको विकास र विस्तारसँगै कृषि पर्यटन र सेवाका क्षेत्रहरूको आधुनिकीकरण र विस्तार चाहेको उनले बताइन् ।

‘गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य एवं स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास लोकतन्त्रको रक्षा, सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र संवद्र्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पु¥याउन जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट काम हुन्छ भन्ने जनताले अपेक्षा गरेका छन्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘अझ वर्तमान सरकारको स्पष्ट, दूरदृष्टि र दृढ संकल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ ।’

राष्ट्रपति भण्डारीले राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्ता पक्ष र कसैलाई प्रतिपक्ष भने पनि आमरूपमा हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सधैं सम्मान गर्नुपर्ने बताइन् । उनले जनचाहना र आवश्यकता सम्बोधन गर्न जनप्रतिनिधिहरू निष्ठापूर्वक लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘क्षेत्र, सम्प्रदाय र दलगत स्वार्थभन्दा माथि उठेर जनता र देशको सर्वोपरि हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ ।’ उनले मुलुक अब कुनै पनि बहानामा हिंसाको बाटोमा जान नहुने बताइन् ।

राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको थियो । उनको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई बुझाएका थिए । संसद्मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्र थेगो मात्र नभएर जीवनशैली भएको बताइन् । ‘जीवनस्तरमा परिवर्तन नआएसम्म लोकतन्त्र नारा मात्रै हुन्छ,’ उनले भनिन् । संविधानजारी पछि बनेको संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन हो । संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ भएपछि सम्बोधन गर्ने व्यवस्था छ । अन्तरिम संविधानअनुसार विगतमा राष्ट्रपतिले संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्ने प्रचलन थियो । तर, संविधानले नै राष्ट्रपतिलाई संसद्मा सम्बोधनको मौका दिएको छ ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...