आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

अघि बढे देउवा , पदाधिकारी छिट्टै तोकिने

1 year ago
09/04/2018

महेश्वर गौतम  / काठमाडौं

संसदीय दलको नेतामा भारी मतसहित विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी अघि बढाएका छन् । तीनै तहको निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि आलोचना जारी रहँदाकै बीच पार्टीभित्रको आन्तरिक निर्वाचनमा बलियो बनेका देउवा केन्द्रीय समितिमा समीक्षा जारी रहेकै मौका पारेर पार्टीको रिक्त पदहरूमा भर्पाइको तयारीमा जुटेका हुन् ।

सभापति निकट केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार ३ वैशाखदेखि पुनः सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा नै पदाधिकारी मनोनीत गर्ने र केन्द्रीय समितिबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ ।

‘३ वैशाखबाट पुनः सुरु हुने केन्द्रीय समितिको बीचमा यी विषयमा निर्णय हुन सक्ने सम्भावना छ, पदाधिकारी चयन, विभिन्न विभाग गठन, विधान मस्यौदा समितिलगायतका विषयमा यही बैठकबाट निर्णय गर्ने भन्ने कुरा आएको छ,’ नेता विश्वकर्माले राजधानीसँग भने ।

आफ्नै समूहका भनिएका धेरै नेता आकांक्षी भएपछि देउवाले १३औं महाधिवेशन सकिएको २६ महिना बित्दासम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् । यसपटक भने उनले संसदीय दलको निर्वाचन समेत सकिएको र आफूलाई सहयोग गरेकाहरूको सूची नै बनाएर जिम्मेवारी सुम्पिने तयारी गरेका हुन् । उनले केन्द्रीय समितिमा सो सूचीलाई ल्याउने र बैठकबाटै टुंगो लगाउने बुझिएको छ ।

पार्टीभित्र रिक्त पदाधिकारीसहित केन्द्रीय सदस्य र बाँकी अन्य निकाय गठन गर्न ढिला हुँदा सभापति देउवाको पार्टीभित्र चर्काे आलोचना हुने गरेको छ । कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर, यस बैठकमा केन्द्रीय सदस्य भने थप हुने सम्भावना छैन ।

यसपटक भने देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै जना आफ्नै खेमाको पार्ने गरी रणनीति बनाएको स्रोतले बतायो । पार्टी विधानमा व्यवस्था भएअनुसार सभापतिले एक जना उपसभापति, एक महामन्त्री र एक जना सहमहामन्त्री केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउनेछन् ।

देउवाको प्रस्तावमा उनका निकट सहयोगी मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि उपसभापतिको सूचीमा परेको बताइन्छ । तर, कतिपयले उपसभापतिमा पार्टी दुई धारमा रहँदा देउवा धारमा नै रहेका र कार्यवाहक सभापतिसमेत भइसकेका नेता गोपालमान श्रेष्ठलाई ल्याउन सक्ने समेत बताउँदै आएका छन् । उनी आफूले सिनियर नेता भएकाले उपसभापति पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।

यस्तै, नेता विजयकुमार गच्छदारलाई पनि के गरी व्यवस्थापन गर्ने भन्नेमा देउवाले ध्यान दिइरहेका छन् । उनका लागि विधान परिमार्जन गर्दा नयाँ पद सिर्जना गर्न सकिनेतर्फ पनि देउवाले सोच्दै आएको उनी निकट नेताहरू बताउँछन् ।

यस्तै, निर्वाचितबाहेकका एक महामन्त्री पदका लागि पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काको नाम देउवा निकटका अन्य सहयोगीहरूले बढी चर्चामा ल्याएका छन् ।तर, अघिल्लो सरकारमा अर्थमन्त्रीको हैसियतमा देउवालाई सघाएका नेता ज्ञानेन्द्रबहादु्र कार्कीको पनि महामन्त्रीका लागि उत्तिकै चर्चा छ । यसैगरी, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी पाएका नेता बालकृष्ण खाँडको पनि महामन्त्रीमा चर्चा छ ।
संसदीय दलको निर्वाचनका बखत मिलेर अघि बढौं भन्ने सन्देश लिएर वरिष्ठ नेताको दैलोमा देउवाद्वारा पठाइएका नेता रमेश लेखक पनि देउवाको रोजाइमा पर्न सक्ने सम्भावना अत्यधिक छ । दलको नेतामा देउवालाई ल्याउन लेखक सक्रिय भएर लागेका थिए । उनी नै दलको नेतामा उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहलाई उपनेतामा व्यवस्थापन गर्ने र अन्य विषयमा समेत सहमति गरेर अघि बढ्ने देउवाको सन्देश लिएर पौडेल निवास पुगेका थिए ।
यसैगरी, एक सहमहामन्त्री पदका लागि देउवाले मीन विश्वकर्मालाई सूचीमा राखेको बताइन्छ । पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नाम पनि यो सूचीमा पर्न सक्ने नेताहरू बताउँछन् । ‘को पर्ने भन्ने त्यही दिनमा नै थाहा होला तर सूचीमा पहिले चर्चा भएका भन्दा बाहेकका नाम पनि छन्, आवश्यकता र सहयोगका हिसाबबाट नाम अट्ने–हट्ने भइरहेको छ,’ देउवाका सहयोगी मानिएका एक नेताले भने । यस विषयमा नेताहरूको राय देउवाले बुझिरहेका छन् ।
विधानअनुसार ८५ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा १३औं महाधिवेशनबाट ६४ सदस्यीय समिति निर्वाचित भएको थियो । महाधिवेशनबाट सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति निवार्चित भएका थिए भने अन्य मनोनीत हुन बाँकी छ । त्यसमध्ये पनि केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि हाल केन्द्रीय समिति ६३ सदस्यीय छ ।
केन्द्रीय सदस्य खड्काको १६ चैतमा निधनपछि स्थगित केन्द्रीय समितिको बैठक ३ वैशाखबाट बस्नेछ । बैठकले महासमिति बैठकको समेत मिति र स्थान तय गर्नेछ । बैठकबाटै विधान मस्यौदा समिति बनाउने तयारीसमेत भएको छ । महासमितिमार्फत संघीय संरचनाअनुसार परिमार्जन हुने कांग्रेस विधानमा पदाधिकारीहरूको संख्या थप्ने–नथप्नेबारे बहस हुने समेत बताइन्छ ।

 

(Visited 4 times, 1 visits today)
Loading comments...