शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

बेइजिङमा परराष्ट्रमन्त्रीको विश्वासचिनियाँ सहयोग बढ्छ

11 months ago
18/04/2018

राजधानी समाचारदाता / काठमाडौं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको राजधानी बेइजिङ पुगेर नेपाल–चीनबीचको परस्पर लाभमा सहयोग वृद्धि भई समृद्ध नेपाल निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार बिहान बेइजिङ पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सो अभिव्यक्ति दिएका हुन् ।

चीनले राष्ट्र निर्माणमा ७ दशकमा गरेको उत्कृष्ट उपलब्धिका लागि नेपाली जनताको तर्फबाट बधाई दिँदै उनले भने, ‘२०१७ को अक्टोबरमा भएको १९औं चाइनिज कम्युनिस्ट पार्टीको कंग्रेस सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिन चाहन्छु ।’ उनले सो अवसरमा नेपालले राजनीतिक उपलब्धिमा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउँदै संविधानअनुसार स्थानीय, प्रदेश र संघको गरी तीन तहको सबै निर्वाचन सम्पन्न भई नेपालमा स्थायी र शक्तिशाली सरकार बनेको जानकारी गराएका थिए ।

उनले स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरी संघीय संरचनाको कार्यान्वयन भएको बताउँदै भने, ‘दुई तिहाइभन्दा बढीको समर्थमा बनेको शक्तिशाली सरकारको प्रतिनिधिका रूपमा म चीन भ्रमणमा आएको छु । नेपाल यतिबेला शान्ति, राजनीतिक स्थिरता र सामाजिक आर्थिक परिवर्तनको बाटोमा रहेको छ ।’

उनले अहिलेको सरकारले ‘समृद्ध नेपाल, खुसी नेपाल’को भिजन लिएर देश निर्माणमा सरकार जुटेको बताए । त्यसका लागि विदेशमा रहेका युवालाई समेत स्वदेश फर्केर देश निर्माणमा योगदान दिन आग्रह गरे । ‘शान्ति, स्थिरता र समृद्ध समाजमार्फत आफ्नो लक्ष्यप्राप्तिमा विश्वस्त छौं,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको सो रिसेप्सनलाई सम्बोधन गर्दै भने, ‘नेपाल–चीनको सम्बन्ध सदियौं पुरानो रहेको र नेपालको विकासमा चीनको महŒवपूर्ण योगदान हुनेछ ।’

उनले बुधबार (आज) चीनका विदेशमन्त्री एचई वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने बताए । त्यसैगरी, आफ्नो बेइजिङ बसाइका क्रममा उनले उच्चस्तरीय नेतृत्वसँग भेट्ने कार्यक्रम छ । नेपाल फर्कनुअघि उनले चेन्ङडुको भ्रमण गर्ने र त्यहाँका प्रादेशिक नेताहरूसँग भेट्ने कार्यक्रम छ । उनले चिनियाँ थिङ ट्यांकको राउन्ड टेबल बैठकमा सम्बोधन गर्नेछन् । उनले आफ्नो भ्रमणलाई नेपाल–चीनको सम्बन्धलाई थप विस्तार गर्ने र विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिएका छन् ।

उनले पुराना सम्झौता कार्यान्वयनको विषयमा छलफल हुने बताए । अघिल्लो वर्ष चीन र नेपालबीच भएको बेल्ट एन्ड रोडअन्तर्गत भएको सहकार्य सम्झौतामा हस्ताक्षर गरेको थियो । सन् २०१६ मा थुप्रै सम्झौतामा हस्ताक्षर भएको थियो । यसअघि सन् २०१७ मा नेपालमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाले चीन भ्रमण गरेका थिए । त्यसैगरी, तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि सोही समयमा चीन भ्रमण गरेका थिए । चीनका उपप्रधानमन्त्री वाङ याङले सन् २०१७ मा नै नेपालमा भ्रमण गरेका थिए, जुन उत्पादनमूलक भएको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चीनका लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित रहेको बताउँदै यतिबेला नेपालमा लगानीको राम्रो वातावरण रहेको बताए । पर्यटकका रूपमा नेपाल भ्रमण गर्ने चिनियाँहरूको समेत वृद्धि भएको स्मरण गर्दै भने, ‘यस्ता गतिविधिले पनि दुई देशको सम्बन्ध विस्तारमा उत्कृष्ट भूमिका खेल्छ ।’ उनले नेपाल–चीनबीचको सहयोग पछिल्लो समय वृद्धि भइरहेको र यो वृद्धि हुने सम्भावना बढेको बताए । ‘नेपालले समृद्धिको भिजनलाई पूरा गर्नका लागि भौतिक, आर्थिक र सामाजिक पूर्वाधारमा फोकस गर्ने रणनीति तय गरेको छ,’ उनले भने ।

ओलीको भाषण चिनियाँ भाषामा

प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण चिनियाँ भाषामा अनुवाद गरिएका छन् । सिचुआन विश्वाविद्यालयको पान्गोला इन्टिच्युट र दक्षिण एसिया इन्टिच्युटले प्रधानमन्त्री ओलीका भाषणको संग्रह प्रकाशन गरेको हो । मंगलबार साँझ परराष्ट्रमन्त्री ज्ञवालीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीका छनोट गरिएका भाषणहरू’ नामक चिनियाँ भाषाको पुस्तक विमोचन गरे । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे चिनियाँ चासो रहेको यो प्रकाशनले देखाउँछ । सो पुस्तकमा ओलीको विकास योजना र समृद्ध नेपालको भिजनका विषयमा दिएको भाषणहरू समावेश गरिएको छ ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...