आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

ग्रेटवाल चढ्दा…

1 year ago
12/05/2018

ग्रेटवाल चढ्दा…

रोशन श्रेष्ठ

विश्वकै सबैभन्दा लामो पर्खाल र विश्वकै सातौं आश्चर्य । अन्तरिक्षबाट समेत देखिने मानवनिर्मित विश्व संरचना । २३ सय वर्षअघि तत्कालीन चिनियाँ शासकहरुद्वारा विदेशी शत्रुहरु आफ्नो मुलुकमा पस्न नसकुन् भनी बनाइएको माटो र ढुंगाबाट निर्मित कलात्मक संरचना । निर्माणमा झण्डै २० देखि ३० लाख जनशक्ति प्रयोग । विशाल र अखण्ड चीन निर्माणमा कोशेढुंगा । चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसलाई आकर्षण गरिरहेको छ । दन्त्यकथा जस्तै लाग्ने चीनको विशाल ग्रेटवालबारे थाहा पाउने विश्वका अधिकाँश जनतालाई एक पटक त्यहाँ पाइला टेक्ने रहर जाग्नु अस्वभाविक होइन ।

म, सशस्त्र प्रहरीका एसपी गोपाल गुरुङ र जिग्मे नामले चिनिने कर्मा शेर्पा २८ चैतमा काठमाडौंबाट सिचुवान प्रान्तको राजधानी छेन्दु पुग्यौं, नयाँ वर्षको पहिलो दिन (२०७५ साल वैशाख १ गते) ग्रेटवाल चढ्ने उद्धेश्यसहित । त्यहाँ दुई दिन बसेपछि हामी चिनियाँ साथीहरुसँग बेइजिङ गयौं । नयाँ वर्षको दिन गे्रटवाल चढ्ने उद्धेश्य भएपनि प्राविधिक कारणले सम्भव भएन । बेइजिङबाट ७२ किलोमिटर यात्रा पार गरेपछि २ वैशाखमा मात्रै हामी ग्रेटवाल पुग्यौं ।
त्यहाँ पुग्नुअघि ग्रेटवाल कस्तो होला, यति लामो पर्खाल कसरी बनाए होला भन्ने अनेक कुरा मनमा खेलिरहेका थिए । जब टाढैबाट पहाडमा र्नििर्मत नालीबेली आकारको ग्रेटवाल देख्यौं, हामी सबैलाई कतिखेर त्यहाँ पुगौं जस्तो भयो ।
ग्रेटवाल चढ्न टिकट काट्नु पर्ने व्यवस्था गरिएको रहेछ । टिकट काटेपछि त्यहाँबाट ग्रेटवालको बेससम्म गाडीले पुयाउने गरिएको रहेछ । बेसबाट भने त्यहाँ पुग्न दुई ओटा विकल्प राखिएका रहेछन् । पहिलो विकल्प, पैदल यात्रा । दोस्रो, शुल्कसहितको केवलकार । हामीले भने केवलकार रोज्यौं । पाँच मिनेटको केवलकार यात्रापछि हामी ग्रेटवालको सिढी चढ्ने ठाउँमा पुग्यौं ।

जब ग्रेटवालको सिढी चढ्न थाल्यौं, छुटै रोमाञ्चकता महसुस भयो । हजारौंको संख्यामा युवायुवतीदेखि वृद्धवृद्धासम्म ऐतिहासिक ग्रेटवालको स्पर्श गर्न, चढ्न आएका थिए । कतिपय त आफ्ना स साना बालबच्चालाई पनि लिएर आएका थिए । यसमा चिनियाँ नागरिकदेखि बाह्य नागरिकसम्म प्रशस्त देखिन्थे । अधिकाँशले ग्रेटवाल चढ्न पाउँदा खुसी साटासाट गरेको महसुस गर्न सकिन्थ्यो ।  नालीबेली आकारको पहाड । स साना बुट्यानसहितको हरियाली । सिरिरी हावा चलिरहने । मौसम हल्का चिसो । टाढैसम्म ग्रेटवालका अन्य सिढीहरु पनि देखिने । हामी तस्बिर खिच्दै अघि बढ्यौं । जति सिढी चढे त्यति नै चढ्न मन लाग्ने । हामीले करिब पाँच किलोमिटर जति गे्रटवालको यात्रा ग¥यौं । ग्रेटवाल चढ्दाको छुट्टै अनुभूति के हो भने हतपत थकाइ नलाग्ने । माटो र ढुंगाको संरचनाका कारण पनि हुन सक्छ थकाइ नलाग्नुको कारण । अर्काे कारण, छोटो छोटो दूरीमा बनाइएका शत्रुलाई नियाल्नका लागि सुरक्षाकर्मीले पहरा दिने गरी बनाइएका ठाउँ । यी ठाउँमा पुगेपछि थकाइ स्वतः मेटिन्छ र अगाडिका सिंढी चढ्न प्रेरित गर्छ ।

हामीसँगै आएका चिनियाँ साथीहरुले ग्रेटवालको इतिहासबारे हामीलाई वर्णन गर्न थाल्नु भयो । ग्रेटवालकै सिढीमा भएकाले पनि हुनसक्छ, जति सुन्यो त्यति बढी सुन्न मन लाग्यो । हामीले अत्यन्तै रुचीपूर्वक उहाँहरुबाट ग्रेटवालबारे सुन्न खोज्यौं । ग्रेटवालबारे हामीलाई जानकारी गराउने क्रममा उहाँहरुले आफ्ना पुर्खाको वीरतालाई सलाम गर्न पछि पर्नु भएन । वीर पुर्खाहरुकै कारण चीन अहिले यो अवस्थामा आइपुगेको उहाँहरुको भनाइ थियो ।
तुलनात्मकरुपमा मलाई भन्दा बढी एसपी गुरुङलाई ग्रेटवालबारे बढी जानकारी रहेछ । चिनियाँ साथीहरुले ग्रेटवालको महत्वबारे दर्साउँदा उहाँ बीच–बीचमा ग्रेटवालको ऐतिहासिक महत्वबारे प्रकाश पार्नु हुन्थ्यो । घुमघाममा सोखिन उहाँलाई धेरै कुराको जानकारी रहेछ भन्ने कुरा मैले त्यतिबेला मात्रै थाहा पाएँ ।
हामी ग्रेटवालको जुन भूमिमा थियौं, त्यसको पारी पट्टी तत्कालीन मंगोलिया भन्ने देश रहेछ । र, हामी जुन भूमिबाट ग्रेटवालमा पुगेका थियौं, त्यो चाँहि प्राचीन चिनियाँ भूमि । प्राचिन चिनियाँ भूमि उपत्यका जस्तो, उब्जाउ प्रशस्तै हुने । मंगोलिया भने उब्जाउहीन, डाँडाकाँडा जस्तो । त्यसैले पनि तत्कालीन मंगोलियाका शासक युद्धमार्फत चिनियाँ भूमि कब्जामा लिन चाहन्थे । चिनियाँ भूमि कब्जामा लिन तत्कालीन मंगोलियाका शासकले धेरै प्रयास गरे, तर सकेनन् । वास्तवमा युद्धकै उपज रहेछ ग्रेटवाल ।

अग्रेंजीमा ग्रेटवाल भनिने चीनको विशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो भएको हो । ग्रेटवालको निर्माण सँगसँगै स साना राज्यहरू एकीकरण हुन थालेकाले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पु याएको विश्वास गरिन्छ । पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनिङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश घटाउने हो भने हाल यसको लम्बाई ६,३५० किलोमिटर.मात्र हुन आउँछ । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारलाई दश वर्षसम्म काममा लगाएका थिए । त्यसपछि विभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८ देखि १६४४ मा गरियो । चीनको पुरातत्व सर्वेक्षण विभागको हालसम्मको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरू सहित ८८५१.८ किलोमिटर सम्म फैलिएको छ । । यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएको इतिहासमा उल्लेख छ ।

यस कार्यका लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरूसम्म लैजानु एउटा कठिन कार्य थियो, त्यसैले मजदुरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिक रहेको ढुंगा र मैदानी भाग नजिक माटो र ढुंगाको पर्खालको निर्माण गरे । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्कोद्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ ।

अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो । संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाई र चौडाईमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाई ५.३ मिटर छ ।

पूर्वी भागतर्फको पर्खाल भने पकाइएको इँटा तथा आयताकार ढुंगाको जोडाइबाट बनाइएको छ । जसको सरदर उचाई ७.५ मिटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ रहेको छ । पर्खालमा शत्रुलाई नियाल्नका लागि सुरक्षाकर्मीले पहरा दिने ठाउँ पनि पहिलो खन्ड निर्माणकै क्रममा बनाइएको थियो ।

ग्रेटवालको संरचनामा ६ हजार २ सय ५९ किलोमिटर वास्तविक पर्खाल, ३ सय ५९ किलोमिटर ट्रेन्च र २ हजार २ सय ३२ किलोमिटर पहाड र नदीजस्ता प्रतिरक्षात्मक प्राकृतिक अवरोधहरु समेटिएका छन् । गे्रेटवालको दुई वर्षे नक्सांकन परियोजना चीनको ‘स्टेट हेरिटेच’ले गरेको थियो ।

उक्त नक्सांकनमा अन्तरिक्षबाट भू–उपग्रहद्धारा ‘इन्फ्रारेड’ प्रविधि तथा स्थल नक्सांकनमा ‘ग्लोबल पोजिसनिङ’ प्रणालीको प्रयोग गरिएको थियो ।पहिलेको अनुमानमा प्रत्येक खन्डको भौतिक नापमा नभई त्यहाँ पाइएका ऐतिहासिक अभिलेखको आधारमा गरिएको उल्लेख छ । अहिले सम्पन्न मापन विधिमा पर्वत र मरुभूमिमा गरिएको खोजीले अज्ञात स्थलहरु पत्ता लागेका हुन् भनी कल्चरल हेरिटेजका निर्देशक सान जिसिआङको हवाला दिँदै चाइना डेलीको वेबसाइटमा भनिएको छ । यो सर्वेक्षणले प्राचीन रहस्यको लम्बाइबारे स्पस्ट हुन सहयोग मात्र गरेको छैन, थुपै्र समस्याहरुमाथि प्रकाश पार्नुका साथै संरक्षणको प्रयास गरेको छ ।

चिनिया जनतामा देखिएको त्यो खुसी चीन

भ्रमणको सिलसिलामा सिचुवान प्रान्तको राजधानी छेन्दु अवतरण गरेका हामीहरु चीनको राजधानी बेइजिङ, ग्रेटवालका अलावा सिचुवान प्रान्तकै धार्मिक स्थलहरु लेसान ग्यान्ट बुद्ध, सामुद्रिक सतहबाट ३०९९ मिटर उचाइमा रहेको माउन्ट इमेईस्थित चार ओटा हात्तीले बुद्धलाई बोकेको १२ हजार किलो सुनद्वारा निर्मित बुद्ध स्तुपा, तिब्बतको खान्डीदेखि मिन्याक ट्रेडिसन र पामादुसम्म पुग्यौं ।
हुनत छेन्दु अवतरण भएदेखि नै छेन्दुको विशाल र भव्य अन्तर्राष्ट्रिय विमानस्थल, प्राकृतिक सुन्दरता, सफा, सुन्दर र व्यवस्थित सहर, हरियाली, व्यवस्थित र चौडा सडक, भौतिक पूर्वाधारले हामीहरुको मन जितिसकेको थियो । हामीले छेन्दु सहरलाई राम्रैसँग नियाल्यौं । हामीलाई विमानस्थलमा लिन आएका चिनियाँ साथीले छेन्दु सहरका बारेमा हामीलाई बताउन थाल्नु भयो । सिचुवान प्रान्तको राजधानी छेन्दुले विकासको फड्को मारेको डेढ दशक पनि भएको रहेनछ । चिनिया मित्रले छेन्दु चीनको सातौं ठूलो सहर भनेपछि त हामीमा अरु सहर कस्तो होला भन्ने कौतुहलता थपियो । उहाँको कुरा सुनेपछि हामीलाई अशल र दूरदर्शी शासक भए विकासले फड्को मार्न त्यति धेरै समय लाग्ने रहेनछ भन्ने अनुभूति भयो ।

हामीले लगभग पाँच दिन छेन्दुमा बितायौं । यो अवधिमा हामीले छेन्दु सहरलाई राम्रैसँग नियाल्यौं । पाँच पाँच मिनेटको पैदल दूरीमा निःशुल्क सार्वजनिक शौचालय, फोहोर फाल्न ठाउँ ठाउँमा राखिएका भाँडा, सडक छेउमा पैदल यात्रीलाई बस्न गरिएको व्यवस्था, ट्राफिक व्यवस्थापनजस्ता विषयले काठमाडौंको धुवाँ धुलो, अव्यवस्थित टाफिक समस्यालाई सम्झन बाध्य गरायो । सँगसँगै नीति निर्माणमा बसेका हाम्रा नेता र सरकार (जो पटक पटक छेन्दु पुगेका छन्) लाई छेन्दुको उचित व्यवस्थापनले लज्जित बनाउँछ जस्तो अनुभूति पनि भयो । वास्तवमा चिनियाँ जनतामा पहिला देश अनि मात्र आफू भन्ने संस्कृतिको विकास भएको रहेछ ।  देशको लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावना उहाँहरुमा रहेछ । देशको कानुनी व्यवस्थालाई पूर्णरुपमा पालना गर्नुपर्छ, अनिमात्र देशको विकास हुन्छ भन्ने भावना पनि उहाँहरुमा पाइयो । कडा कानुनकै कारण हुनसक्छ, चीनका जनता हतपत आफूलाई असुरक्षित महसुस गर्दा रहेनछन् । रातको १२ बजे नै किन नहोस्, चाहे पुरुष, चाहे महिला एक्लै सडकमा हिडिरहेको देख्न सकिन्छ । दुई साता लामो चीन भ्रमणका क्रममा बेइजिङबाट फर्केपछि हामीहरु सिचुवान प्रान्तकै धार्मिक स्थलहरु लेसान ग्यान्ट बुद्ध र माउन्ट इमेईतर्फ लाग्यौं । लेसान ग्यान्ट बुद्धको प्रतिमा भएको ठाउँ छिन्दुबाट १५६ किलोमिटरको सडक दूरीमा रहेछ ।

पहाडको फेद र नदीको तिरमाथि बनाइएको यो बुद्ध प्रतिमा २३३ फिट अग्लो छ । विश्व सम्पदा सूचीमा सूचिकृत लेसान ग्यान्ट बुद्धको प्रतिमामा पुग्न दुई विकल्प रहेछन् । पैदल र पानी जहाज । हामी भने पानी जहाजबाट गयौं । पानी जहाजबाटै हामीले ग्यान्ट बुद्धको अवलोकन ग¥यौं । यो ठाउँमा दैनिक हजारौं मानिस दर्शनका लागि पुग्ने रहेछन् । त्यसपछि हामी अन्य बौद्ध गुम्बाहरुमा पनि गयौं ।

बौद्ध गुम्बाहरुमध्ये ३०९९ मिटर उचाईमा रहेको माउन्ट इमेईस्थित चार ओटा हात्तीले बुद्धलाई बोकेको १२ हजार किलो सुनद्ववारा निर्मित बुद्ध स्तुपाको दर्शन गर्न पाउँदा मन साह्रै खुसी भयो । अत्यन्तै चिसो, हावा चलिरहने र घाम कम लाग्ने यो ठाउँमा पुग्न केवलकारको यात्रापछि पैदल हिड्नु पर्ने रहेछ । क्षण क्षणमै मौसम परिवर्तन भइरहने यहाँको विशेषता रहेछ । यहाँको बुद्ध स्तुपाको दर्शन गर्न दैनिक हजारौं व्यक्ति पुग्ने गर्दा रहेछन् ।

यहाँको बुद्ध स्तुपाको दर्शन गरेकोे भोलिपल्ट हामी लाग्यौं तिब्बततर्फ । त्यहाँ जानुको मुख्य उद्धेश्य भने हामीसँगै काठमाडौंबाट आउनु भएका जिग्मेका बाबु आमा भेट्नलाई थियो । हुन त उहाँकी आमा पनि छेन्दुबाटै हाम्रो धार्मिक यात्रामा सहभागी हुनु भएको थियो । त्यसपछि हामी उहाँको घर पामादु लागेका थियौं

छेन्दुको विकासबाट प्रभावित भएका हामीलाई तिब्बतको विकासले पनि धेरै नै प्रभावित बनायो । तिब्बतमा अहिले चीन सरकारले विकास निर्माणलाई तिब्रता दिइरहेको छ । तिब्बतको खान्डीदेखि अझै अगाडिको यात्रा गरेका हामीलाई त्यहाँको हिमाली बनोटले खुबै मोहित गरायो । खान्डीदेखि केही टाढा रहेको जेदु माउन्टेनमा हिउँ खेल्न पाउँदा साह्रै रमाइलो भयो ।

चीनले अहिले तिब्बती भूमिमा सडक निर्माणलाई पहिलो प्राथमिकता राखेको रहेछ । त्यहाँ अहिले धमाधम सडक निर्माण भइरहेका छन् । सडक निर्माणका कारण तिब्बतका जनता अत्यन्तै खुसी भएको अनुभूति पनि हामीले गर्न पायौं ।

समग्रमा भन्ने हो भने चीन भ्रमणका क्रममा हामीले चिनिया जनताको व्यवहार मिलनसार, सहयोगी, सबैलाई सम्मान गर्ने, त्यसमा पनि पाहुनालाई विशेष आतिथ्यता प्रदान गर्ने खालका पायौं ।

चिनिया जनता खानपिनमा सारै सोखिन रहेछन् । परिवार, साथी भाइसँग रमाइलो गरी गरी खाने । साँझ ६, ७ बजेसम्म बेलुकीको खाना खाइसक्ने उहाँरुको बानी रहेछ । खानपिनका परिकार पनि प्रशस्तै । दुई साता लामो बसाइमा हामीले पनि पहिला खाइसकेका परिकार दोहो¥याएर कुनै खाएनौं । मासुजन्य परिकार नै चीनको प्रमुख खानेकुरा रहेछ । शाकाहारीलाई भने चीन जाँदा खानेकुरामा अलि समस्या नै पर्ने अनुभव पनि हामीले गयौं ।

हामीले चीन भ्रमणमा अनुभव गरेको अर्काे मुख्य कुरा, त्यहाँ कसैको अनुहार न्याउरो, खिस्रिक परेको देखेनौं । सबै हँसिला, सडकमा पनि रमाइलो गर्दै हिँडेका । जहाँ गए पनि हामीले चिनियाँ जनता खुसीसँग बसेका देख्यौं । राज्यले जनताका आधारभूत कुरा पूरा गरे कसैको अनुहार मलिन हुँदैन भन्ने अनुभव पनि हामीले रामै्रसँग गयौं ।

 

(Visited 23 times, 1 visits today)
Loading comments...