बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

इच्छाशक्ति भए हेजाबले छेक्दैन

11 months ago
19/05/2018

इच्छाशक्ति भए हेजाबले छेक्दैन

 तुलसी भण्डारी

भित्रबाटै केही गरौं भन्ने इच्छाशक्ति जागेपछि घुम्टो (हेजाब)भित्र रहेर पनि प्रगति गर्न केहिले छेक्दैन भन्ने पर्साको बहुअरीका मुस्लिम महिलाले देखाउन सुरु गरेका छन् । एक दुई जना मात्र नभएर २० जनाको समूह नै बनाई हेजाबभित्रैबाट उनीहरू आर्थिक उपार्जन गर्ने सीप सिक्दै इच्छाशक्ति प्रस्फुटनको नमुना पेस गर्न थालेका हुन् ।

घरभित्र बसेर पनि केही गर्न सकिन्छ । तर, आफंैमा जागरण हुनुपर्छ भन्नेमा उनीहरू सबै एकमत छन् । चुलोचौकाबाहेक दिउँसोको समयमा आफैं केही काम गरी आर्थिक उपार्जन गरौं भन्ने सोचले सिलाइकटाइ सिक्न थालेको सहभागीमध्ये सल्मा खातुनले राजधानीसँग बताइन् । सीप सिक्न थालेको ५१ दिनको अन्तरालमा भोटो, काने टोपी, चारपाटे र ६ पाटे पेटीकोट, बाबा सुरुवाल, चौबन्दी चोलो र सादा समिज सिलाउन जानेको उनले बताइन् । त्यसो त उनकै छेउमा रहेकी अर्की सल्मा खातुनले पनि सीप सिक्न थालेपछि धेरै आत्मविश्वास बढेको बताइन् । आर्थिक उपार्जनबिना अबको समयमा आफू र बालबच्चाको भविष्य सुदृढ पार्न कठिन हुन्छ । आफंैसँग कुनै काम गर्ने सीप भए श्रीमान्लाई आर्थिक क्षेत्रमा साथ दिन सकिन्छ भनेर हेजाबभित्र रहेर पनि त्यसको विकल्प रोजेको उनले बताइन् । उनीहरूलाई यो प्रेरणा भने २००८ बाट यसैगरी सिलाइकटा सिकेर आर्थिक उपार्जन गर्दै आएका जहानारा खातुन र सफिना खातुनहरूबाट मिलेको हो । सुरुमा उनीहरूले पनि समूहमा नै सहभागी भई यस्तो सीप सिकेको जहाराले बताइन् । जहारा अहिले सिलाइ कटाइ सिक्दै गरेका २० जना महिलाकी सहायक प्रशिक्षक हुन् ।

पर्साको गण्डक बहुअरीका मुस्लिम महिलासहित बारा, पर्सा र सलाहीका ३ सय जना बेरोजगार महिला पुरुषहरूलाई सीप सिक्ने मौका भने वीरगन्जमा रहेको साना व्यवसाय परामर्श केन्द्रले जुराइ दिएको हो । सीप सिक्नेहरूमा अधिकांश मुस्लिम, दलित, आदिवासी, मधेसी र विपन्न वर्ग समेटिएको साना व्यवसाय परामर्श केन्द्रका प्रबन्ध निर्देशक विजय श्रीवास्तवले राजधानीसँग बताए । यो वर्ष सञ्चालन भइरहेको तालिममध्ये ड्रेस मेकर, विल्डिङ इलेक्ट्रिसियन र गलैंचा बुन्ने गरी तीन किसिमको चलिरहेको छ । पहिलो फेज ९० दिनको हुन्छ । ‘हामी तीन फेज गरी पूर्ण काममा नलागुन्जेलसम्म सीप सिक्दा दिने इक्वपमेन्ट, सिकेपछि स्वरोजगारका लागि पहल र आफैं काम सञ्चालन गर्नेहरूका लागि विभिन्न सहकारीमा पहल गरी लघु उद्योग सञ्चालन गर्नसम्म साथ दिन्छौं,’ उनले भने । २००२ सालबाट सीप विकासका लागि मुलुकका २४ ⁄ २५ जिल्लाका विभिन्न बेरोजगारलाई सीप सिकाउँदै १४ हजारलाई पोख्त बनाएको सो संस्थाका तालिमको अनुगमनकर्ता नवराज घिमिरेले बताए ।

 ‘तालिम लिएकाहरूमध्ये ८० प्रतिशत जति हामीले सिकाएको काममा नै आबद्ध भएको र १० प्रतिशत जति यस्तै सीप सिकी विदेशमा गएर राम्रो आम्दानी गरिरहेका छन् । बाँकी १० प्रतिशत मात्र साना व्यवसायले सिकाएको कामको प्रकृतिभन्दा अन्य क्षेत्रमा आबद्ध भएको हामीसँग तथ्यांक छ,’ उनले भने ।

(Visited 12 times, 1 visits today)
Loading comments...