बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

कलामा समर्पित एउटा जीवन

11 months ago
26/05/2018

कलामा समर्पित एउटा जीवन

वेद राना मगर

‘मेवा दाना टुप्पैमा फलेको, टुप्पैमा फलेको
पत्तो पाइनँ यो जोबन ढलेको
नरोऊ मायालु
उठी खर काटौं, बसी खर काटौं’

कुनै समय रेडियो नेपालमा अत्यधिक गुन्जने गीतहरूमध्येको एक हो यो । धेरै श्रोताको मन जित्न सफल यो सुमधुर लोकभाकामा आफ्नो कर्णप्रिय स्वर भर्ने गायिका हुन्, कविता आले । यिनै गायिकाद्वारा स्वरबद्ध ‘झ्याम्मै चौतारी माया लाऊँ भने छैन दौतरी…’, ‘जलेवाले पानी खायो मलेवाले देख्यो…’, ‘तोरी हरियो माया लाउनाले बीचै परियो…’ जस्ता गीत पनि कम्ती  लोकप्रिय भएनन् ।
त्यस्तै, ‘माथिमा माथि त्यो कली लेकमा केशरी फुलेको…’, ‘तोरी फूल हामीलाई नभुल…’, ‘छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ…’ लगायत गीतका कारण पनि उनको लोकप्रियताको दायरा झन् फराकिलो बन्न पुग्यो । रेडियो नेपाल सुन्दै तीस र चालीसको दशकमा आफ्नो तन्नेरी वय गुजार्नेहरू अहिले पनि आलेका यी कालजयी गीत गुन्जिएको पल ‘नोस्टाल्जिक’ बन्न पुग्छन् ।
नेपाली कला जगत्की मूर्धन्य व्यक्तित्व आले यतिखेर आफ्नो ढल्कँदो वयमा पनि तन्मयका साथ कला साधनामा तल्लीन छिन् । नेपाली गीतसंगीत र कलाप्रति उनमा देखिएको यो असीम समर्पण भाव साँच्चै उदाहरणीय छ ।

२०२७ सालमा इलाममा खिचिएको तस्बिर

२०१२ सालमा इलाममा जन्मेकी यी गायिका पहिलो गीत रेकर्ड गराउने बेला १९ वर्षकी थिइन् । ‘२०३१ सालमा एउटा सामूहिक राष्ट्रिय गीतमा पहिलोपटक आफ्नो स्वर दिएकी थिएँ,’ उनी भन्छिन् । नाम उल्लेख नगरिए पनि त्यस गीतलाई नै आफ्नो गायनयात्राको प्रस्थान बिन्दु मान्छिन् उनी । लगत्तै श्रीमान् जेबी आलेको रचना रहेको ‘पिपले छाया…’ बोलको गीतमा पहिलोपटक आफ्नो नाम अंकित भएको उनी सुनाउँछिन् । ‘त्यो गीत पनि सामूहिक रूपमै गाइएको थियो,’ विगत सम्झँदै उनी भन्छिन्, ‘त्यसमा संगीतकारसमेत रहनुभएका मदनदीप बिम, अशोक देवान, शिव बस्नेत र मेरो स्वर थियो ।’
२०३२ सालतिर जेबीकै संकलन रहेको ‘संक्रान्ति बजार मान्छेको हजार…’ भन्ने गीत एकल स्वरमा गाएपछि भने बिस्तारै श्रोतामाझ चिनिन थालेको उनी बताउँछिन् । आलेका अनुसार २०३४ सालतिर रेकर्ड गरिएको ‘उठी खर काटौं, बसी खर काटौं’ गीतले त्यतिबेलाको सांगीतिक बजारमा राम्रैसँग तरंग ल्याएको थियो । जेबीकै संकलन रहेको ‘माथिमा माथि त्यो कली लेकमा केशरी फुलेको…’ गीत पनि निकै चर्चित भयो । एकपछि अर्को गीत ‘हिट’ हुँदै गएपछि धेरै श्रोता उनका ‘फ्यान’ भएका थिए ।
उनका अन्य लोकआधुनिक गीत ‘मेरो माया कहाँ गयो कुन्नि…’, ‘तम्मरै तीरमा…’, ‘बूढो घरैमा बूढी मिटिङमा…’, ‘घर त मेरो साँगुरी भयो बाखरी खोरैले…’, ‘चुरौटे दाइले चुरा है ल्यायो…’ले पनि त्यतिबेलाको सांगीतिक बजार नपिटेका होइनन् । अधिकांशतः पुर्बेली भाकालाई अँगालेकी आलेले राष्ट्रिय गीत ‘यो मेरो देश…’ मा मात्र होइन, ‘कटिका उकाला लाग्या…’ बोलको डेउडा गीतमा पनि आफ्नो स्वरलाई ‘म्याच’ गराएकी छन् ।

स्व. श्रीमान् जेबी आलेसँग २०५५ सालमा खिचिएको तस्बिर

सानी छँदा रेडियोमा बज्ने गीत सुन्दै गुनगुनाउँदै गर्दा थाहै नपाई सुरताल मिलाउन सक्ने भएकी थिइन् उनी । ‘बुबा रेडियोवाला भनेर चिनिनुहुन्थ्यो, बुबासँग रेडियो भएकै कारण गीत सुनिरहन्थें, गुनगुनाउँथें पनि,’ गायनप्रति आशक्ति बढ्नुको रहस्य खोतल्दै उनी भन्छिन्, ‘रेडियो सुन्ने अवसर नपाएकी भए सायद मेरो गायकीपन जाग्दैनथ्यो कि †’ उनी नौ वर्षकी हुँदा परिवारको बसाइँसराइ भयो मोरङको उर्लाबारीमा । ‘त्यहाँको वनजंगलमा घाँसदाउरा गर्दा पनि रेडियोमा सुनेका भाका दुरुस्त उतार्ने कोसिस गरिरहन्थें,’ उनी बाल्यकाल सम्झिन्छिन् ।
इलाम बजारमा सरकारी जागिरे रहेका तेह्रथुम निवासी जेबीसँग २०२७ सालमा उनको विवाह भयो । त्यसको एक वर्षपछि उनको सरुवा काठमाडौंस्थित शिक्षा मन्त्रालयमा भयो । उनी पनि श्रीमान्सँगै काठमाडौं आइन् । ‘काठमाडौं नआएको भए सायद गीत रेकर्डको कुरैै हुँदैनथ्यो होला,’ उनी सम्झिन्छिन्, ‘श्रीमान् गीत रचना तथा संकलनमा रुचि राख्नुहुन्थ्यो, सोही क्रममा रेडियो नेपालमा उहाँको आउजाउ बढ्दै गयो ।’ गायन थालनीको प्रसंग जोड्दै उनी थप्छिन्, ‘गाउन प्रेरित गरिरहनुहुन्थ्यो, मलाई गाउनचाहिँ आउने तर खुब लजाउने ।’ पछि श्रीमान्ले फकाइफुल्याइ गरेर रेडियो नेपालमा लग्दै गीतहरू रेकर्ड गराएको घटना आफ्नो स्मृतिपटमा अझै ताजा बनेर रहेको उनी बताउँछिन् ।

छोरा क्रान्ति आले

आवाजको दुनियाँमा एउटी कुशल गायिका भनेर चिनिएकी आले गायनमा प्राप्त सफलताको सम्पूर्ण श्रेय आफ्ना श्रीमान्लाई दिन्छिन् । ‘उहाँले त्यति नगर्नुभएको भए आज म गुमनाम हुन्थें होला,’ उनी भन्छिन्, ‘मेरा जति पनि चर्चित गीत छन्, प्रायः सबैमा उहाँकै लेखन र संकलन छ ।’
गायनमा मात्र होइन, उनले अभिनयमार्फत पनि पृथक् परिचय बनाएकी छन् । पछिल्लो समय अभिनयमा उनको सक्रियता निकै बढेको देखिन्छ । ‘सुपर हिट’को ‘लिस्ट’मा आफ्नो नाम दर्ज गराउन सफल नेपाली चलचित्र ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘घामपानी’ लगायतमा उनलाई देख्न पाइनु यसको प्रमाण हो । आफू अभिनित अन्य चलचित्रको फेहरिस्त प्रस्तुत गर्दै आले भन्छिन्, ‘गोर्खा पल्टन, सायद, गुड बाई काठमान्डु, बन्धकी, हाम्रो टिमलगायत फिल्ममा पनि अभिनय गरें ।’

सुरुमा उनी स्वरकै माध्यमले चलचित्रसँग जोडिएकी हुन् । २०५३ सालमा युवराज मास्की रानाद्वारा निर्देशित पहिलो मगरभाषी चलचित्र ‘लङ्घन’मा एक पात्रका लागि उनले स्वर दिएकी थिइन् । त्यसपछि २०५७ सालमा सन्जोग लाफाद्वारा निर्देशित मगर भाषाकै चलचित्र ‘गिनसारा’मा उनी आमाको भूमिका निर्वाह गर्दै अभिनय जगत्मा होमिइन् । पछि लाफाकै अर्को मगरभाषी चलचित्र ‘आसे’मा उनी परदेश गएका प्रेमी फर्केर आउने आशामा अविवाहिता नै रहेर जीवन कटाएकी एउटी वृद्धाको भूमिकामा देखा परिन् ।
चलचित्रका अलावा टेलिचलचित्रमा पनि उनले आफूलाई समाहित गर्दै लगिन् । सोही कारण मह सञ्चारद्वारा निर्मित ‘मान्छे’, ‘तर्सिङ होम’, ‘भूत’, ‘छोरी’, ‘गाउँकी तारा’लगायत टेलिचलचित्रमा चरित्र अभिनेत्रीका रूपमा उनी टेलिभिजनमा छाइन् । ‘मह सञ्चारकै भाइरस नामक टेलिचलचित्रका पनि थुप्रै भागमा खेलेकी छु,’ आले भन्छिन् । अन्य टेलिचलचित्र ‘साँघु तरेपछि’, ‘ज्यान हाजिर छ’, ‘सयपत्री’, ‘सहयात्री’मा पनि उनको अभिनय हेर्न पाइन्छ । खासगरी
‘आमा’को भूमिकामा उनको अभिनय जमेको अनुभूति हुन्छ । उनी अभिनित दुई चलचित्र ‘साली कसको भेनाको’ र ‘छिरिङ’ रिलिज हुने तर्खरमा छन् । चलचित्र ‘छिरिङ’मा नायक बनेका गायकहरू यश कुमार र निमा रुम्बाकी आमा बनेर उनी दर्शकमाझ आउन लाग्दै छिन् ।

रंगमञ्चीय थुप्रै नाटकमा पनि उनले अभिनय गरिन् । र, अझै पनि उनी रंगमञ्चको अभिनयलाई निरन्तरता दिँदै आइरहेकी छन् । उनको परिचय गायन र अभिनयमा मात्रै सीमित छैन । २०४८ सालतिरै रेडियो नेपालमा मगर भाषाको पहिलो समाचारवाचिकका रूपमा उनले आफ्नो नाम दर्ता गराइसकेकी छन् । कविराज मगरको संकलन तथा लेखन रहेको पुर्बेली मगरहरूको लोकप्रिय गीत तथा नृत्य ‘हुर्रा’मा आधारित डकुमेन्ट्रीको निर्देशन र प्रस्तुतिमा पनि उनको उल्लेखनीय योगदान छ ।
त्यसैगरी, थुप्रै रेडियो नाटकलाई उनले आफ्नो स्वरले सिँगारेकी छन् । एन्टेना फाउन्डेसनको सहयोगमा बनेको ‘मनैसरि सुनाखरि’ शीर्षकको नाटकमा उनले दुई वर्ष लगातार काम गरिन् । ‘डेढ दर्जन एफएमसहित रेडियो नेपालबाट साताको दुईपटक प्रसारण हुने सो रेडियो नाटकमा तामाङनी हजुरआमाको भूमिका निर्वाह गरें,’ उनी भन्छिन् । विभिन्न सामाजिक संघसंस्थामा उनको बाक्लो सहभागिता रहेको देखिन्छ ।
व्यापार–व्यवसायमा लागेका उनका श्रीमान् जेबी हिकोला कलर ल्याबका संस्थापक सञ्चालक थिए । त्यसो त जागिर छाडेर २०३० सालतिरै उनले क्यापिटल फोटो स्टुडियो पनि खोलेका थिए । चित्रकला, फोटोग्राफी र भिडियोग्राफीमा सौखिन उनी चलचित्र विकास कम्पनीका  ‘भाइस पे्रसिडेन्ट’ पनि थिए । पारिवारिक जीवन राम्रैसँग चलिरहेको थियो । तर दुर्भाग्य † झापाको दुर्गापुरमा ३ कात्तिक २०५६ का दिन आफैंले चलाइरहेको कारलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिँदा जेबी गम्भीर घाइते भए । दुर्घटनाको नवौं दिन अर्थात् १२ कात्तिकमा उनले कहिल्यै नफर्किने बाटो अँगाले । उक्त घटनाले कविता आलेको जीवनमा ठूलो वज्रपात प¥यो । त्यसपछिका दिनमा पतिवियोगलाई भुल्न उनी कलासँगै समाजसेवामा पनि जुटेकी हुन् । ‘सायद कला र समाजसेवामा नलागेको भए अझ कति पीडा हुन्थ्यो होला ?’ उनी भन्छिन्, ‘जेहोस्, कलाले बाँच्न सिकाएको छ ।’
उनका दुई भाइ छोराले पनि आफ्ना बाबुआमाको पदचापलाई केही हदसम्म पछ्याएको देखिन्छ । गायनमा नलागे पनि जेठा छोरा राजुले २०५४ सालमा ‘डाक्टर पाइलट’ ब्यान्ड खोले । त्यस ब्यान्डमा ‘गिटारिस्ट’समेत रहेका उनी हाल हङकङमा बस्छन् ।

बेलायतमा बस्दै आएका कान्छा छोरा क्रान्ति आले भने सुपरिचित गायक हुन् । आफ्नै दाजु राजुको ‘डाक्टर पाइलट’ ब्यान्डमा ‘भोकलिस्ट’ रहेका क्रान्तिले नेपालमा हुँदा वर्षैपिच्छेजस्तो हिट गीतहरू दिएका थिए । ‘मनसुन मनसुनको हावाले…’, ‘ए होइ भनी बोलाको मैले…’, ‘सरकारी जागिर…’, ‘कान्छी हे कान्छी…’ बोलका गीत गाएर उनी त्यतिबेला तन्नेरी पुस्ताको ‘च्वाइस’मा अग्रपंक्तिमा हुन्थे । आमा कविता र छोरा क्रान्तिको स्वरमा ‘उठी खर काटौं बसी खर काटौं…’ गीतलाई केही वर्षअघि मात्र ‘रिमेक भर्सन’मा प्रस्तुत गरिएको छ । त्यो गीतले पनि निकै चर्चा बटुलेको थियो । सम्भवतः आमाछोराको स्वरमा गाइएको यो नै पहिलो दोहोरी गीत हो ।
हिजोआज आधुनिक र लोकदोहोरीले ख्याति पाएको देख्दा उनलाई खुसी लाग्ने गरेको छ । तर, लोकदोहोरीका नाममा यदाकदा आएको उच्छृंखलताप्रति भने उनको चित्तदुखाइ छ । ‘एल्बमका रूपमा आएका गीतमा सभ्यता र शालीनता हुनुपर्छ,’ उनी भन्छिन्, ‘नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने र मौलिकता नमर्ने गरी गीतसंगीत सिर्जना गर्नुपर्छ ।’ समाज, संस्कृति, प्रकृतिलाई कलात्मक ढंगले चिनाउने अनि हर्ष, बिस्मात् र मित्रताको भाव झंकार गर्ने गीतसंगीत नाट्यश्वरीको वरदान भएकाले उत्ताउलोपनबाट बचाउनुपर्ने उनको मत छ ।
कलाका अनेकन् विधामार्फत आफूमा निहित प्रतिभालाई उजागर गरेकै कारण उनी सामान्य व्यक्तिबाट सुपरिचित व्यक्तित्व बन्न सफल भइन् । नेपाली गीतसंगीत र कला क्षेत्रको स्तरोन्नतिमा उनको योगदानले वास्तवमै महŒवपूर्ण हिस्सा ओगटेको छ । सोही कारण उनी वीरेन्द्र–ऐश्वर्य सेवा पदक र भूपालमानसिंह युवा पुरस्कारकी हकदार बनिन् ।

मास्टर मित्रसेन एसोसिएसन हङकङलगायत अरू थुप्रै संघसंस्थाद्वारा प्रदान गरिने सम्मान तथा अवार्ड उनका पोल्टामा परेका छन् । २०६७ देखि २०७१ सालसम्म उनी नेपाल संगीत–नाट्य प्रतिष्ठानमा प्राज्ञ सदस्यसमेत रहिन् । उनकै सम्मानमा डेढ वर्षअघि सांस्कृतिक संस्थान (नाचघर) र मगर सांस्कृतिक संघले ‘कविता आले एकल साँझ’ आयोजना पनि ग¥यो ।
विदेश गएर छोराबुहारी नातिनातिनासँगै बसूँ भन्ने लाग्दैन ? उनको जवाफ छ, ‘कहिलेकाहीँ भेट्न जान्छु, केही समय बस्छु पनि,’ उनी भन्छिन्, ‘सँगै बसौं भनेर उनीहरू कर गर्छन् तर किनकिन विदेशमै बस्छु भन्ने कहिल्यै लागेन । जेजस्तो भए पनि आफ्नै देशमा रमाइरहेकी छु । सायद ममा भएको राष्ट्रियता यहीँ नै हो कि †’

(Visited 15 times, 1 visits today)
Loading comments...