मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

रिसालको प्रश्न– खोइ नैतिक शिक्षा ?

1 year ago
26/05/2018

रिसालको प्रश्न– खोइ नैतिक शिक्षा ?

एकराज पाठक

अहिलेको शिक्षा शिक्षाजस्तै छैन, गुरु त्यस्तै विद्यार्थी उस्तै । न गुरुप्रतिको श्रद्धा छ र न त विद्याप्रतिको निष्ठा । नैतिकताको झनै खडेरी । नैतिक शिक्षाको अभाव छ । गुरुहरू विद्याका तेज थिए र अध्ययनले ज्ञानका अखण्ड खानी । अनि विद्यार्थीहरूमा अध्ययनप्रतिको निष्ठा र लगाव असाध्यै थियो । पढ्नुपर्छ, ज्ञान आर्जन गर्नुपर्छ भन्ने भावना थियो । ज्ञानले नै मानिसलाई ठूलो बनाउँछ भन्ने भावना थियो, यसले गर्दा विद्यार्थीमा पढाइको पिपासा थियो ।
फेरि अनुशासन विद्यार्थीहरूमा औधी थियो । गुरुप्रतिको श्रद्धाको झन् कुरै भएन । कक्षामा गुरु प्रवेश गरेपछि विद्यार्थीहरू उठ्थे, नमस्कार गर्थे र बस भनेपछि मात्र बस्थे । अनि गुरुहरूको परिश्रम पनि प्रशंसनीय । उनीहरू विद्यार्थीकै लागि मिीहनेत गर्थे र लाग्थ्यो कि कसले पढाएका विद्यार्थी कस्ता भन्ने हुन्थ्यो । त्यसैले त उहिले शिक्षाकोे जग बलियो थियो । अहिलेजस्तो सतही र लब्धांकपत्रमा कसैको पढाइको मापन हुन्नथ्यो । उहीले कुनै विद्यार्थीको ज्ञानमा उसको अध्ययनको तहको मापन हुन्थ्यो तर अहिले नम्बरमा । अहिले कसले कति नम्बर ल्यायो भन्ने छ, न ज्ञान र न त मुहार नै हेर्नुप¥यो । यो कसैको ज्ञान नाप्ने अवैज्ञानिक विधि हो ।


आफ्नो जीवनका करिब ६ दशक अध्यापनमै बिताएका प्राध्यापक शिवगोपाल रिसालको अनुभव हो यो । गएको आइतबार मानभवनस्थित उनकै निवासमा पुग्दा यसरी तुलना गर्दै थिए उनी । प्राध्यापक रिसालले पद्मकन्या क्याम्पसमा २०१८ सालदेखि अध्यापन सुरु गरेका हुन् । धार्मिक, आचारी र संस्कृत कुल घरानमा जन्मिएका उनलाई गुरुकुलमै संस्कृत भाषा, धर्म र संस्कारको ज्ञान लिन कुनै गाह्रो थिएन । बुबा, आमा, हजुरबुबा हजुरआमाको संस्कारले उनलाई पनि एक असल सांस्कारिक मानिसका रुपमा हुर्किन सहज बनायो । त्यसैले उनी दशकौंदेखि नेपालमा हिन्दू धर्म संस्कार, संस्कृत र नेपाली भाषाका एक प्रकाण्ड विद्वान्का रूपमा सुपरिचित छन् । अध्यापनको कामबाट औपचारिक रूपमा त उनी २०५७ मा सेवानिवृत्त भए तर आइतबार पनि उनी प्रवचनमा जान हतारमै थिए । हरेक दिन बिहान र बेलुका अहिले पनि प्रवचन छ उनको । एकजना आफन्त वासु रिमाल यात्रीको समेत सहयोगमा २०५५ मा जावलाखेलमा स्थापना गरेको स्वाध्याय परिवारमा बेलुका प्रवचन हुन्छ भने बिहान जावलाखेलकै सत्संगमा ।
अनि हरेक शनिबार दिउँसो गहनापोखरीको लक्ष्मीनारायण मन्दिरमा उनको प्रवचन हुन्छ । प्राध्यापक रिसाल भन्छन्, ‘औपचारिक कक्षा कोठा नभए पनि यो पनि ज्ञान बाँड्ने कार्य हो, मेरो अध्ययन अध्यापन जारी नै छ । उनले जावलाखेलको सत्संग परिवार २०३५ मा नै जन्माएका हुन् । त्यहाँ अहिले पनि हिन्दू धर्मका विद्वान्हरूबाट नित्य प्रवचन हुने गर्छ ।

गुरुप्रतिको श्रद्धाको झन् कुरै भएन । कक्षामा गुरु प्रवेश गरेपछि विद्यार्थीहरू उठ्थे, नमस्कार गर्थे र बस भनेपछि मात्र बस्थे । गुरुहरूको परिश्रम पनि प्रशंसनीय थियो, उनीहरू विद्यार्थीकै लागि मिहिनेत गर्थे । 

विद्याजस्तो सरस्वतीको मन्दिरमा भित्रिएको राजनीति उनका लागि चिन्ताको विषय हो । यसले विद्यार्थी होस् वा शिक्षकमा ज्ञानभन्दा बढी राजनीति सिकाएको छ । प्राध्यापकजस्ता लोकमै विद्वान् कहलिनुपर्ने मानिसलाई कुनै न कुनै राजनीतिक पार्टीमा लाग्न बाध्य बनाएको छ अहिलेको राजनीतिले । त्यसैले शिक्षाको गुणस्तर घटाएको छ । यसले विद्यार्थीमा पनि सतहीपन ल्याएको छ । उनीहरूको लगाव पनि ज्ञानका लागि भन्दा पनि कुनै नेताको नजिक हुन बढी देखिन्छ । यो अवस्थाले शिक्षाको गुणस्तर, गुरु र विद्यार्थीबीचको भावना र सम्मान नै घटाएको रिसालको बुझाइ छ ।
नैतिकता खोइ ? नेपालको अध्यात्मिक यात्राका साधक रिसालको प्रश्न हो यो । उनी भन्छन्, ‘देशको शिक्षा प्रणालीले संस्कृत शिक्षाको महŒव बुझेन । देशका युवामा नैतिकता हराउनुमा संस्कृत शिक्षाको अभाव हो । संस्कृतमा नै नैतिकता, नैतिक शिक्षा छ । तर हेरौं न, अहिले देशमा हत्या, हिंसा आदिमा भर्खरका युवाको संलग्नता सुनिन्छ । कस्तो अचम्म हेर्नुस् त उनीहरूमा कुनै अपराध बोध नै छैन । किनभने उनीहरूमा नैतिक शिक्षाको अभाव छ । देशमा यसरी नै नैतिक शिक्षाको खडेरी पर्दै जाने हो भने हामी र हाम्रो समाज कहाँ पुग्ला ? कम्तीमा पहिलेजस्तो विद्यालयस्तरमै भए पनि संस्कृत शिक्षाको व्यवस्था भए अहिलेको समाजमा हरेक दिन देखापर्ने हिंसात्मक प्रवृत्तिहरूमा धेरै कमी आउनेछ । भगवान् कृष्णले गीतामा अध्यात्म विद्या विद्यानां भन्नुभएको छ, विद्याविमोक्षायां भन्नुभएको छ । अध्यात्म विद्या नै विद्या हो । अनि यही विद्याले नै मानिसलाई ज्ञान दिन्छ, मोक्ष दिन्छ । तर, हाम्रो अहिलेको विद्या यस्तो छ ? छैन । फोस्रो छ, खोक्रो छ, सतही छ । अध्यात्मबिनाको विद्याले नैतिकवान्, चरित्रवान्, निष्ठावान् र देशलाई चाहिले असल युवा उत्पादन गर्न सक्दैन । खोइ कसले बुझिदिने ?’

नेपाली भाषा र संस्कृतप्रतिको सेवा उनको अझै सकिएको छैन । उनको ५९औं पुस्तक छापाखानामा छ । धर्मपत्नी मीनाकुमारी रिसालतिर फर्केर भने, ‘खोइ प्रेसले फोन गरेको छैन, छापिसक्यो कि ?’ मीना पनि सहप्राध्यापक । रत्नराज्य क्याम्पसबाट सेवानिवृत्त । तर, उनीहरूलाई ‘रिटायर्ड लाइफ’ जिउन फुर्सद छैन । ज्ञानको भोक मरेको छैन । मीनाले गीताको नेपाली अनुवाद गरी पुस्तक प्रकाशन गरेकी छन् ।
मीना प्राध्यापक रिसालबारे भन्छिन्, ‘यो उमेर भयो, उहाँको काम नै लेख्ने हो । प्राध्यापक रिसालका सबै ग्रन्थहरू, काव्यहरू अध्यात्मिक लेखनमा छन् । उहाँले नेपाली भाषाका विभिन्न पत्रिका पनि प्रकाशन गर्नुभयो । २०१६ देखि पुस्तक लेख्ने काम सुरुभयो । आजसम्म जारी छ ।’
प्राध्यापक रिसालको व्यक्तित्व र कृतित्व झल्किने गरी प्रा.डा. जयराज पन्तले ७७८ पृष्ठको एक ग्रन्थ नै तयार पारेका छन् । ग्रन्थ तयार पारी विमोचनको तयारीकै समयमा पन्तको निधन भयो । जुन दुर्घटनाले रिसाललाई अहिले पनि स्तब्ध बनाउने गर्छ । २ वैशाख १९९४ मा जन्मिएका रिसालले ८० काटे । उनको अघिल्तिर आफ्ना ५८ कृतिको चाङ छ । उनीमाथि अध्ययन गरी लेखिएका शोधपत्र, ग्रन्थ र जीवनी त कतिकति । तर पनि उनमा अध्यात्मिक लेखनको भोक मर्नु त के बरु भोक जागेजस्तो लाग्छ ।

उनीजस्ता अथक साधकले धर्म, संस्कार, संस्कृति, भाषा, अध्यात्मजस्ता अलौकिक महŒवका विषयमा आर्जन गरेको सम्पत्ति र स्थापित गरेको साधनालाई राज्यले कसरी संस्थागत गर्ने ? अब नसोचे ढिला हुन सक्छ । यो अद्वितीय सम्पत्तिलाई आउने पुस्ताले कसरी बचाइराख्ला र जीवन्तता प्रदान गर्न सक्ला भन्ने चिन्ता देशको सम्बद्ध पक्षमा अब हुनुपर्ने हो ।

(Visited 43 times, 1 visits today)
Loading comments...