दैलेख । पछिल्लो समय जिल्लामा नाचिने लहरे पैंचरी नाच बिस्तारै लोप हुँदै गएको छ। युवाहरुले लहरे पैंचरी नाच सिक्न र नाच्न नमान्दा अहिले जिल्लामा यो नाच लोप हुन थालेको हो ।
नारायण नगरपालिका–११ बिन्ध्याबासिनीका ८० बर्षिया मैनबहादुर बिष्टले लहरे पैंचरी नाच बिस्तारै लोप हुन्छ की भन्ने चिन्ता लागेको बताए । अहिलेका युवाहरुले लहरे पैचरी नाच सिक्न र नाच्न नमान्दा प्राचीनकाल देखि दैलेखमा नाचिने पैंचरी नाचनै लोप हुने अवस्थामा पुगेकोे उनले गुनासो गरे।दैलेख जिल्लामा परम्परागत रुपमा लहरे पैंचरी नाच हरेक चाडपर्व, बिवाह, सास्कृतिक कार्यक्रममा खेलिँदै आएको उनले राजधानीलाई जानकारी दिए। पहिला पहिला धार्मिक पर्व तथा बिवाहरुमा पैंचरी नाच नाचिने गरेको समेत उनले बताए ।
“हाम्रो संस्कार संस्कृति संरक्षण गर्दै अघि बढ्नुपर्छ,” बिष्टले भने,“संस्कृति नै हरायो भने हाम्रो अस्तित्व पनि हराउन सक्छ ।यसतर्फ युवालाई जागरुक बनाउन तिनै तहका सरकारले भूमिका खेल्नुपर्छ ।
यस्तै पछिल्लो समयमा मेला,महोसत्वमा डिस्को, हिन्दी अङ्ग्रेजी गीत गुन्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत खेलिने लहरे पैंंचरी नाच लोप हुँदै गएको नारायण नगरपालिका–११ का निवर्तमान वडाध्यक्ष टंक बहादुर बिष्टले बताए। उनले आफु वडा वडाध्यक्ष भएको बेला लहरे पैंचरी नाच संरक्षण गर्नको लागी सहयोग गरेको बताए । पहिले पहिले पुजा, छैटिमा खेल्ने गरिने उनको भनाई छ । आफुहरुले बाजेपुर्खाको पालादेखि परम्परागत रुपमा प्रस्तुत गर्दै आएको लहरे पैंचरी नाच लोप हुन थालेकामा निकै चिन्तित बनेको उनको भनाई छ ।
दैलेखको नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका साविक पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टी, बडाभैरवलगायत स्थानमा सबै समुदाय मिलरे लहरे पैचरी खेल्ने गरेका छन् । लहरे पैंचरीमा मादल, दमाह, झ्याली लगायतका बाजा बजाएर खेलिन्छ ।
यस्ता कला संस्कृति जोगाउन आफूले सक्दो सहयोग र सहकार्य गर्ने भगवतीमाई गाँउपालिका दैलेखका अध्यक्ष गणेश बहादुर थापाले बताए । स्थानीय कला, संस्कार र संस्कृति स्थानीय सरकारको सम्पत्ति भएकोले त्यसलाई जोगाउनको लागि पालिकाले सहयोग गर्ने जानकारी दिए । उनले भने पालिकाले लहरे पैंचरी नाच जोगाउनको लागी आवश्यक पर्ने पोसाक, बाजागाजा लागी स्थानिय संस्था संग समन्वय गरेर सहयोग गरिएको उनले बताए ।