शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

निर्माण व्यवसायी महासंघको अध्यक्षमा चारजनाको प्रतिस्पर्धा, अन्तिम मत परिणाम आज

1 year ago
23/09/2018

मधुजंग पाण्डे/काठमाडौ।

नेपाल निर्माण व्यवसायी महासंघको आगामी तीन वर्षे नयाँ नेतृत्वकालागि शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा चारजनाबीच प्रतिस्पर्धा भएको छ । यसैगरि, सो निर्वाचनमा महासचिवमा समेत त्रिपक्षीय भिडन्त भएको थियो । महासंघको सो निर्वाचनमा पदाधिकारी सहित मुख्य पदमा ४ वटा अध्यक्षहरुले आ–आफ्ना तर्फबाट छुट्टाछुट्टै व्यवसायीहरुको समुह नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

सत्तारुढ दल निकट वामघटकका तर्फबाट अध्यक्षका उम्मेदवार यक्षध्वज कार्की आफ्नो छुट्टै समुह बनाएर चुनावी मैदानमा उत्रिएका थिए । उनीसँगै अध्यक्षकै प्रतिस्पर्धामा नेपाली काँग्रेस निकट समुहको नेतृत्व रवि सिँहहले लिएका थिए । यसैगरि, महासंघका निवर्तमान महासचिव रामशरण देउजा पनि अध्यक्षकै प्रतिस्पर्धी हुन । देउजाले आफ्नो छुट्टै समुह नै बनाएर अध्यक्ष, महासचिव सहितका मुख्य पदमा उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेस निकट देउजाले अन्तिम समयमा पार्टीले आफूमाथि अन्याय गरेको भन्दै छुट्टै स्वतन्त्र तथा संस्थागत व्यवसायीक समुह बनाएर चुनावी मैदानमा उत्रिएको दाबी गरेका छन् । त्यसैगरी, अध्यक्ष पदका अर्का प्रतिस्पर्धी पुरुषोत्तम मानन्धर पनि मैदानमा उत्रिएका थिए । उनले यस निर्वाचनमा आफ्नो स्वतन्त्र व्यवसायीक उम्मेदवारी भएको बताएका छन । उनको उम्मेदवारीलाई अहिले विशेष गरी नेपाली काँग्रेसको आधिकारिक समुह रवि सिंहको मत काट्ने अनुमान गरिएको छ ।

निर्माण व्यवसायी महासंघको इतिहासमै सबैभन्दा बढी उम्मेदवार अध्यक्षमा भिडेको यो निर्वाचन नै पहिलो भएको सम्बन्धीत व्यवसायीहरुले बताएका छन । यस निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका चारजना व्यवसायी मध्ये देउजा र मानन्धरको उम्मेदवारीले कार्की र सिंहको मत एकआपसमा काट्ने अधिकाँश व्यवसायीको अनुमान रहेको छ । शनिबार सो निर्वाचनमा सहभागी व्यवसायीहरुका अनुसार महासंघका मतदाता संख्या बढी भएको ठानिएको काँग्रेस निकट निर्माण व्यवसायीहरुबाटै यसरी आधिकारिक बाहेक थप २ जना उम्मेदवार भएपछि काँग्रेसको आधिकारिक समुह स्वतः कमजोर बन्न पुगेको अनुमान गरिएको छ । उनीहरुले अब आफुहरुले अन्तिम मत परिणाम कुर्नु बाहेक अन्य केही बिकल्प नभएको बताए । सो निर्वाचनमा मैदानमा उत्रिएका अध्यक्षका प्रत्यासी उम्मेदवारहरुले अहिले नयाँ नेतृत्वकालागि तिब्र प्रतिस्पर्धा भएको दावी गरेका छन ।

शनिबार बिहान १० बजेबाट सुरु भएको मतदान दिउसो साँढे २ बजे समापन भएको थियो । महासंघ निर्वाचन समिति प्रमुख अधिवक्ता बाबुराम दाहालले कुल ९ सय ३७ मत खस्नुपर्नेमा साढे २ बजेसम्म जम्मा ९ सय ८ वटा मत मात्र खसेको जानकारी दिए । सो निर्वाचनको मतगणना कार्य शनिबार साँझ साढे ७ बजेसम्म पनि सुरु भएको थिएन । मध्य रातीबाट सुरु हुने मत गणना कार्य आइतबार बिहान मात्र सार्वजनिक हुने महासंघले जनाएको छ ।
महासंघका निर्वाचन समिति प्रमुख दाहालले यस निर्वाचनमा सहभागी व्यवसायीहरुले साँढे २ बजेभित्र मतदान गरेको जानकारी दिए । उनले २ बजेसम्म मात्र मतदान गर्ने पूर्व निर्धारित समयतालिका रहेपनि सो समय भित्र लाइनमा बसेका मतदाता बाहेक कसैलाई पनि मतदान प्रक्रियामा भाग लिन नपाउने गरी मतदान स्थलमा प्रवेश बन्द गरिएको थियो । शुक्रबार राति ९ बजे अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन समितिले अध्यक्ष पदमा रवि सिंह, रामशरण देउजा, यक्षध्वज कार्की र पुरुषोत्तम मानन्धर रहेको जनाएपछि शनिबार बिहान मतदान कार्य सुरु भएको थियो ।

यस निर्वाचनबाट आगामी तीन वर्षकालागि एक अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरु गरी कुल ५४ जना निर्वाचित हुने छन । अन्य थप पाँच जना सदस्य भने पछि मनोनित हुने छन

यसैगरि, महासंघको बरिष्ठ उपाध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना र वर्तमान उपाध्यक्ष निकोलस पाण्डेबीच तिब्र प्रतिस्पर्धा भएको थियो । उपाध्यक्ष एसोसियट तर्फ वर्तमान प्रवक्ता एवं नीतिगत उपमहासचिव बिष्णु बुढाथोकी र आङदोर्जी लामाबीच प्रतिस्पर्धा भएको थियो । यस निर्वाचनमा महासचिव पदमा ३ जनाको प्रतिस्पर्धा रहेको थियो । जसमा अध्यक्षका उम्मेदवार कार्की समुहबाट महासचिवमा वर्तमान कोषाध्यक्ष रोशन दाहाल, सिँह समुहबाट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला र वर्तमान केन्द्रिय सदस्य दिपक गौतमबीच तिब्र प्रतिस्पर्धा भएको थियो ।
उप महासचिव नीतिगत तर्फ टंकप्रसाद चैलागाई, सूर्य प्रसाद तिमिल्सीना र चन्द्रशेखर मल्लबीच प्रतिस्पर्धा भएको थियो । उप महासचिव आन्तरिक तर्फ हरिप्रसाद ढकाल, नरहरि थपलिया र निलध्वज थापा चुवानी मैदानमा उत्रिएका थिए । यसैगरि, कोषाध्यक्षमा हिरण कुमार श्रेष्ठ। गौरी प्रसाद उप्रेती र माधव घिमिरे चुनावी मैदानमा उत्रिएका थिए । सह कोषाध्यक्षमा सरस्वती कार्की, ऋषिराम जोशी, नवराज खड्का र अमरबहादुर विष्टबीच प्रतिस्पर्धा भएको थियो । सातवटा प्रदेश उपाध्यक्षहरु सहितको अन्य केन्द्रीय कार्यसमितिका लागि परेका उम्मेदवारी मध्ये विभिन्न पदमा कतिपय भने शुक्रबार रातिदेखि नै निर्विरोध भइसकेका छन्।

गत बिहीबारबाट राजधानीमा सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभासँगै शनिबार भएको यस निर्वाचनबाट आगामी तीन वर्षकालागि एक अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी र सदस्यहरु गरी कुल ५४ जना निर्वाचित हुने छन । अन्य थप पाँच जना सदस्य पछि मनोनित हुने छन ।
सकेसम्म सहमतीकै आधारमा नयाँ नेतृत्व छनोट गर्नकालगि महासंघका पूर्व अध्यक्ष एवं संघीय प्रतिनिधी सभाका साँसद् जीपछिरिङ लामा शेर्पाको संयोजकत्वमा एक कार्यदल नै गठन गरिएको भएपनि अन्तिम प्रयासमा पनि सहमती नभएपछि निर्वाचन भएको हो । सो निर्वाचनमा आफ्नो पक्षको उम्मेदवार निर्वाचनकै अन्तिम घडीसम्म टुंग्याउन नसकेको काँग्रेसले शकुन्तलाल हिराचनलाई जसरी आस्वस्थ मात्र बनाउने काम ग¥यो त्यसले काँग्रेसको आन्तरिक शक्तिमै क्षति पुगेको मतदानमा सहभागी व्यवसायीहरुले टिप्पणी गरेका थिए ।

(Visited 24 times, 1 visits today)
Loading comments...