राजधानी समाचारदाता
1 year ago
0
काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिक–२०२० को नेपाली टिमको तयारीलाई लिएर नेपाल ओलम्पिक कमिटी र जापानको जीकेई गाकुइन स्कुल कर्पाेरेसनसँग सम्झौता भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले कर्पाेरेसनका प्रतिनिधिसँग छलफल गरेका थिए ।
सम्झौताअनुसार कर्पाेरेसनले नेपाली खेलाडी र प्रशिक्षकका लागि विशेष प्रशिक्षण उपलब्ध गराउनेछ । उसले छोटो समय र लामो समयका लागि प्रशिक्षण दिनेछ । सन् २०१८ मा सातदिने ट्रेनिङ उपलब्ध गराउने उल्लेख छ भने सन् २०१९ मा लामो समयको प्रशिक्षण उपलब्ध गराउने सहमति भएको छ ।
कोचका लागि ११ नोभेम्बरमा एनओसीको भवनमा मानसिक तथा शारीरिक फिटनेस सेमिनार आयोजना गर्ने सम्झौतामा उल्लेख छ । जापानिज कोच मियुकी कासुगाले १२ नोभेम्बरमा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षण दिने भएका छन् । मंगलबार भएको सम्झौतामा एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठ र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो ।