बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

शिख समुदायले मागे राष्ट्रिय बिदा

राजधानी समाचारदाता
1 year ago
22/11/2018

नेपालगन्ज। शिख समुदायका आस्थाका प्रतीक गुरुनानक देवको ५५०औं प्रकाश वर्ष (जन्मजयन्ती) का अवसरमा बाँकेका शिख समुदायले राष्ट्रिय बिदाको माग गरेका छन् । अल्पसंख्यक जातिमा रहेका शिख समुदायको जनसंख्या बाँकेमा मात्र ३ हजार बढी छ ।

अत्यन्तै अल्पसंख्यकको रूपमा रहेका शिख समुदायले शिख धर्मका प्रवर्तक गुरुनानक जयन्तीमा राज्यले बिदा नदिएको भन्दै उनीहरूको गुनासोसमेत गरेका छन् ।

गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह शिखले गुरुनानक जयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको जानकारी दिए । बिहीबारदेखि नै नेपालगन्जका गुरुद्वारामा शिख धर्मग्रन्थको अखण्ड पाठ गरिने र शनिबार त्यसको समापन गर्दै भण्डारा लंगर प्रसाद वितरण गर्ने तयारी रहेको उनले बताए । गुरुनानक जयन्ती आउने शुक्रबार भए पनि शनिबार अखण्ड पाठ समापनसँगै भजन कीर्तन गरी मनाइने उनले बताए । बाँकेको हिरमिनियाको शिखखनपुरवामा शिख समुदायको सबैभन्दा पुरानो गुरुद्वारा रहेको गुरुद्वारा सञ्चालक समितिका उपाध्यक्ष हरपाल सिंह शिखले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार बाँकेमा शिखखनपुरवा, जमुनाह, बनकटवा र नेपालगन्जमा गरी चार ठाउँमा गुरुद्वारा रहेको र जिल्लामा करिब ३ हजार शिख समुदायको जनसंख्या छ ।

यसैबीच गुरुनानक जयन्तीको अवसर पारेर नेपालगन्ज गुरुद्वारामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतका व्यक्तित्वहरूको सो कार्यक्रममा उपस्थित थिए ।

 

 

मुस्लिम समुदाय ‘मोहम्मद–डे’

नेपालगन्ज÷रास– राष्ट्रिय बिदाको माग गर्दै बाँकेका मुस्लिम समुदायले महोम्मद डे मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४०औं जन्मजयन्ती अर्थात् मोहम्मद डे बुधबार मनाइएको हो ।

मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रब्बी अव्बल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । नेपालगन्जमा रहेका इस्लाम धर्मावलम्बीले हजरत मोहम्मदको जन्म दिनका अवसरमा बुधबार नगरसहित आसपासका गाउँपालिकामा ¥याली निकालेका छन् ।

आफ्नो पर्वलाई राज्यले सम्बोधन नगरेको भन्दै बाँकेका मुस्लिम समुदायले रोष प्रकट गरेका छन् । संविधान सभाका सदस्यसमेत रहेका हाजी अब्दुल हमिद सिद्दिकी भोलाले सरकारले मुस्लिम समुदायको पर्वको बिदा कटौती गरेर समुदायप्रति सौतेलो व्यवहार गरेको आरोप लगाए ।

उनले भने,‘ पर्वमा बिदा गर्दा विकास र समृद्धि रोकिन्छ भने सबै समुदायका पर्वको बिदा कटौती गरौं, नत्र भने कसैलाई काखा कसैलाई पाखा नगरौं ।’

मुस्लिम अगुवा मेराज हल्वाई हिमालयले मुस्लिमका पर्वहरू इद, बकरइद, मोहर्रम र मोहम्मद डेमा राज्यले सम्बोधन र राष्ट्रिय बिदा दिँदै मुस्लिम समुदायलाई राष्ट्र निर्माणको मूल प्रवाहमा लगाउन आग्रह गरे ।

 

(Visited 44 times, 1 visits today)
Loading comments...