बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

वैदेशिक रोजगारको पीडा, एउटै गाउँमा सात जनाको शव आयो

टीकाराम नेती
1 year ago
22/11/2018

 

झापा । गत शुक्रबार सुतिरहेकै अवस्थामा कुवेत मृत्यु भएको भनिएका झापा शिवसताक्षी नगरपालिका–१० माइधारका विष्णु घिमिरेको बुधबार दाहसंस्कार गरियो ।

विष्णुको जुन घाटमा दाहसंस्कार गरियो, त्यही ठाउँमा त्यसरी नै तिनै मलामीले बाकसमा बेरेर ल्याएका अन्य सात जनाको दाहसंस्कार गरिएको छन् ।

१३ वर्षदेखि कुवेत बस्दै आएका विष्णुको शव बुधबार घर आइपुगेको थियो भने उनैकै छिमेकी यज्ञप्रसाद बजगार्इंको शव पनि गत २२ चैतमा घरमै आइपुगेको थियो । विभिन्न सपना देखेर खाडी मुलुक पुगेका माइधारका युवाको अधिकांश सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ ।

स्थानीय वार्ड सदस्य भाष्कर सिटौलाका अनुसार केही वर्षयता ७ जनाको शव विभिन्न मुलुकबाट बाकसमा प्याक भएर आएको छ भने एक जनाको शव साढे ४ महिनादेखि साउदीमा अलपत्र परेको छ ।

सिटौलाका अनुसार ओम चापागाईंको साढे ४ महिनाअघि मृत्यु भएको भए पनि अझै शव ल्याउन सकिएको छैन । उनी भन्छन्, ‘हामी त पुरै आतंकित भइसक्यौं । एउटा घाउ बिर्सन नपाउँदै अर्को शव आइपुग्छ ।’

विर्खलाल योड्या, राजकुमार खुलाल, रूपलाल विक, चन्द्रमणि ढकाल र जीवन माझीको शव पनि साउदी र कुवेतबाट विष्णुको जस्तै गरी बाकसमा ल्याइएको थियो । विष्णुकी श्रीमती बेहोस छिन् । छिमेकीहरू शोकमा डुबेका छन् । ‘घरमै बसेर पनि मुखमा माड लाग्दैन । वैदेशिक रोजगारमा जाँदा यसरी धमाधम लास आउँछ, कसरी चित्त बुझाउनु ?’ मृतक ओम चापागाईंकी श्रीमती कमला सापकोटाले पीडा पोखिन् । उनी श्रीमान्को लास चाँडै ल्याइदिन आग्रह गर्छिन् ।

शिवसताक्षी नगरपालिका प्रमुख चन्द्र शर्माले वैदेशिक रोजगार र युवाको विषयमा राज्य गम्भीर नभए माइधारमा बर्सेनि भित्रिने लासको पीडा अन्य नगरपालिकाले पनि भोग्नुपर्ने बताउँदै मृत्यु र त्यहाँ नेपालीले गर्नुपर्ने कामको विषयमा खोजी गरिनुपर्ने बताए ।

(Visited 33 times, 1 visits today)
Loading comments...