शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

हिमपात कारण कर्णालीका हिमाली जिल्लामा यातायात सेवा प्रभावित

राजधानी समाचारदाता
11 months ago
27/01/2019

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ ।

मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।

कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताए । एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । ‘नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ’, उनले भने ।

एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताए । उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उनको भनाइ छ ।

एक प्रहरीबाट ७१२ नागरिकको सुरक्षा

जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताए ।

उनले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताए । हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताए ।

(Visited 50 times, 1 visits today)
Loading comments...