बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

दिगो विकासका लागि एनसीएफ र यूएनडीपीबीच सम्झौता

राजधानी समाचारदाता
10 months ago
28/02/2019

 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपाल (एनसीएफ) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच प्रदेश २ मा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिकालाई मजबुद बनाउने विषयमा सम्झौता भएको छ । प्रदेश २ को राजधानी जनकपुरधाममा महासंघ र यूएनडीपीबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महासंघका तर्फबाट अध्यक्ष केशवप्रसाद बडाल र यूएनडीपीका तर्फबाट कन्ट्री डाइरेक्टर रिनाउड मेयरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । २०३० सम्ममा सबै आयाममा गरिबीको अन्त्य गर्ने र सुरक्षित विश्व निर्माण गर्नका लागि तयार गरिने विश्वव्यापी सम्झौताका रूपमा दिगो विकास लक्ष्य रहेको छ । यूएनडीपी र एनसीएफबीच भएको सम्झौतामा दिगो विकास लक्ष्यको विषयमा सचेतना जगाउन संयुक्त रूपमा पहल गर्ने र सबै स्टकहोल्डर तथा सबै तहका सहकारी संघसंस्थालाई दिगो विकास लक्ष्यका लागि योगदान दिनका लागि पैरवी गर्ने उल्लेख छ ।

यो साझेदारीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको योगदानलाई अधिकतम वृद्धि गर्नका लागि अन्य विकल्पको समेत खोजी गर्नेछ । ‘राष्ट्रिय सहकारी महासंघ नेपालसँगको यो साझेदारीले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र लक्ष्य प्राप्तिमा उनीहरूको योगदान दिनका लागि देशभरि रहेका सहकारीको विशाल नेटवर्कले महŒवपूर्ण काम गर्ने हामीले विश्वास लिएका छौं,’ यूएनडीपी नेपाल निवासी प्रतिनिधि रेनाउड मेयरले जनकपुरमा सम्झौतापत्रमा हस्ताक्षर गरेपछि भने ।

उनले भने, ‘सामाजिक–आर्थिक सशक्तीकरण, सहभागिता र समावेशिताको महŒवपूर्ण अंगका रूपमा सहकारी रहेको छ । त्यही अवधारणमार्फत कसैलाई पछाडि नपारी अगाडि बढ्नु नै विश्वव्यापी लक्ष्यको पनि उपलब्धि हो ।’ उनले अन्य प्रदेशमा पनि यस्तोखाले साझेदारी गर्न सहकारीहरूलाई अनुरोध गरे । ‘दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि दिशानिर्देश गर्न हामी प्रतिबद्ध रहेका छौं र निरन्तर रूपमा सबै तहका सहकारीको क्षमता वृद्धि गर्नेछौं, जसका कारण उनीहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि निश्चित भएर योगदान दिन सक्ने छन्,’ राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले बताए ।

सम्झौताअनुसार एनसीएफले आफ्ना गतिविधिमा दिगो विकास लक्ष्यलाई जोड्नेछ । जसले सकारात्मक र दीर्घकालीन योगदान सिर्जना गर्नका लागि भूमिका खेल्नेछ । यूएनडीपी र एनसीएफले दिगो विकास लक्ष्यको प्रगतिका लागि सहकारीलाई स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने अनुकूल वातावरण निर्माण गर्नका लागि योजना बनाई कार्य गर्ने सहमतिसमेत भएको छ ।

 

 

(Visited 70 times, 1 visits today)
Loading comments...