बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

यसरी रहस्यमय मृत्यु भयो नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमसेरको

राजधानी
6 months ago
10/05/2019

नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शमसेर हुन् । उनी नेपाली वैज्ञानिक चामत्कारिक आविस्कारकका साथै दक्षिण एशियाकै पनि अग्रणीमा गणना गनिन्छन् । तर उनीपछि त्यो लिगेसी र स्वत्व कसैमा पनि सरेन । सधैं राणा र राजाहरुको एकतन्त्रीय हुकुमको जगजगी मात्र रह्यो ।

तर पनि नेपालीहरु विदेशी भर्ती र लडाइँमा अथाह प्रयोग गरिइँदै आएका छन् । विज्ञान र प्रविधिको विकास किन भएन वा हुन दिइएन भन्ने कुरा गेहेन्द्र शमसेर र उनको विज्ञानसम्बन्धी आष्किारलाई हेरे पुग्छ ।

नेपाल अहिले पनि विज्ञान तथा प्रविधिमा निकै पछाडि छ । सञ्चार प्रविधिको प्रयोगमा केही अघि देखिए पनि अस्त्रको विकास र यसप्रतिको लगावमा निकै पछुवा पनि । नेपालीहरु विश्वमा जहाँ पनि गएर लडाइँ लडे, त्यहाँ सफल भए पनि । तर नेपालीहरुलाई सधैं शान्तिवादी भनियो । देशमा केही पनि र कुनै पनि अस्त्रको विकास गर्ने सोच पनि पलाएन र गर्न पनि दिइएन ।

नेपालको विज्ञान तथा प्राविधिक इतिहासलाई हेर्यौं भने गेहेन्द्र शमशेर र उनका साथी मुसे थापाको प्रसँग जोडिन आउँछ । गेहेन्द्र शमशेर वीर शमसेरका जेठा छोरा थिए । उनी सानैदेखि निकै उत्सुक, इच्छुक र केही गरेर छाड्ने स्वभावका थिए ।

घरमै केही शिक्षा हासिल गरेपछि उनी अंग्रेजी सिक्न दरवार हाइस्कूलमा भर्ना गरिए । विद्यालयमा उनीमा बोल्ने, सोच्ने, केही नयाँ रचनात्मक कुरा गर्ने, खेलकुदमा चासो राख्ने र अन्य रचनात्मक क्रियाकलापमा भाग लिने गर्दथे । उनको यो प्रतिभा शिक्षकहरुका लागि पनि केही आश्चर्यको विषय बनेको थियो ।

उनले वैज्ञानिक आविष्कारमा निकै चासो राख्थे र सकेसम्म कुन वैज्ञानिकले के कुरा पत्ता लगाए र कसरी उक्त काम गरे, सोको बारेमा गहिरोगरी अध्ययन र खोज गर्दथे ।

बि. सं १९४२ मा उनका पिता वीर शमशेर श्री ३ महाराज तथा प्रधानमन्त्री भएपछि उनको चेतना र कलाले केही नयाँ कुरा देख्ने र विकास गर्ने मौका पायो । उनको प्रविधिप्रतिको चासोमा उनका पिता वीर शमशेरको निकै गहिरो ध्यान गएको थियो ।

यो चाहना र इच्छालाई ख्याल गरेर वीर शमशरले उनलाई जापान पठाउने निधो गरे । त्यति बेलासम्म उनलाई सरकार र दरबारको हतियारको प्रमुख बनाइएको थियो । जापानमा गएका बेला उनले हतियारका बारेमा निकै खोज, अनुसन्धान र सहकार्य गर्ने मौका पाए । उनले प्रविधिसम्बन्धी निकै धेरै ज्ञान हासिल गरे । यो उनका लागि बरदान र अभिशाप दुवै साबित भयो ।

त्यतिबेला उनले विदेशबाट मगाइएका र किनिएका हतियारमा सधैं भर पर्न नसकिने र देशमा आफैले यसको निर्माण गर्नुपर्ने कुरामा जोड दिन्थे । किनेका हतियारको सीमा र यसमाथिको विदेशी नियन्त्रण उनलाई मन परेको थिएन । उनले नेपालमा आफ्नै स्वदेशी हतियारहरु उत्पादन गर्ने, गोली गट्ठा र बारुद पनि आफैले निर्माण गर्ने सोच बनाएका थिए ।

भनिन्छ, उनी हतियार तथा बन्दोबस्ती शस्त्रागारको प्रमुख भएपछि तात्कालीन नेपाली सेनालाई चाहिने हातहतियार, बारुद तथा बन्दोबस्तीका अन्य सामानहरु आफ्नै नेतृत्वमा नेपालमा निर्माण गर्ने र सेनाको आवश्यकता पूरा गर्ने गर्दथे ।

त्यतिबेला सुन्दरी जल, बालाजु, जमल र भोजपुरको मेघचन भन्ने ठाउँमा ससाना धातु उद्योगहरु, पानी घट्ट, चामल मिल, हावाको पंखा तथा घट्ट र जलविद्युतसम्म निक्लेका थिए ।

यी सबै नेपालका लागि आधारभूत आविष्कारहरु पक्कै थिए । उनले आफैले कार बनाएर पृथ्वी वीर विक्रमलाई उपहार दिएका थिए । त्यसबेलाका सेनाले एकनाले राइफल मात्र चलनमा ल्याएका थिए ।

तर गेहेन्द्रले दुईनाले राइफलको आविष्कार गरे । त्यसको नाम पनि उनले आफै राखेको थिए । त्यसको नाम उनको नामको अघिल्लो अक्षर ‘गे’ भनेर दिइएको इतिहासकारका लेखहरुमा पाइन्छ ।

उनले त्यसै बखत नयाँ मोडेलको तोप पनि निर्माण गरेका थिए । त्यो तोप निकै शक्तिशाली र परम्परका भन्दा भिन्न पनि थियो । त्यसको नाम उनले उनका हजुरबाजे धीरशमशेरको नामबाट ‘धीरगन’ भनी राखेका थिए ।

त्यो धीर तोपको आवाज काठमाडौं उपत्यकाको चारै कुनामा सुनिन्थ्यो भनी त्यतिबेलाका बूढापाकाहरुले भन्ने गर्दथे । पहाड थर्काउने आवाज आएपछि सबैले धीरतोप खुल्यो भनेर जान्दथे । यसको प्रायः शाही सलामीमा प्रयोग गरिन्थ्यो ।

भनिन्छ, उनको आविष्कारबाट राणाहरु निकै खुशी नै थिए । राणा परिवारमा उनको निकै बखान हुने पनि गर्दथ्यो । देव समशेरका पालामा त उनलाई जापानमा त्यहाँको प्रविधि सिक्न पनि पठाइएको थियो ।

उनले निकै मेहनतका साथ त्यहाँका प्रविधिहरुको जासुसी गरेर अध्ययन गर्न भ्याएका थिए । साथै, स्वदेशमा फर्किएपछि उनले नेपालको प्रविधिक क्षेत्रमा निकै सुधार पनि ल्याएका थिए ।
नेपालमा सुधारसहितका नयाँ हातहतियारहरु निर्माण हुन थाले । यसले सैनिकीकरणमा पनि ठूलो सुधार ल्यायो ।

नेपालको फौजी तालिम र व्यावसायीकरणमा सुधार आयो । तर दुर्भाग्य, त्यसैबेला १९६३ को दशैंका अवसरमा गेहेन्द्रको मनमा आफूले निर्माण गरेको नयाँ पिस्तोल तात्कालीन श्री ३ चन्द्र शमशेरलाई उपहार चढाउन मन लाग्यो ।

उनले निकै मेहनतका साथ सानो जहाँ पनि सजिलै छिपाउन सकिने चिटिक्कको पेस्तोल बनाए । निकै मेहनत गरेर बनाएको यो पेस्तोल आफ््नो कोटको खल्तीमा राखेर उनी दरबार गए ।

दरवारमा निकै चर्चा चलेका कारण रिसले जलेका चन्द्र शमशेर शंकालु पनि उत्तिकै थिए । उनले देव शमशेरलाई रातारात धनकुटा लखेटेर आफू श्री ३ भएका थिए । गेहेन्द्र शमशेरले देव शमशेरलाई देवता जस्तै मान्दथे । यसका कारण पनि चन्द्रशमशेर त्रसित थिए ।

दशैंमा चढाउन लगेको कोटको खल्तीमा राखेको सानो पेस्तोल चन्द्र शमशेरलाई ढोगिदिंदा अनायाश खल्तीबाट खस्यो । चन्द्र शमशेर निकै झस्किए । तर गेहेन्द्र शमशेरले यो उनलाई नै दशैंका अवसरमा चढाउन भनी बनाएको सविस्तार विन्ति चढाए ।

एक वर्षपछि गेहेन्द्र शमशेरको निकै रहस्यमय मृत्यु भयो । भनिन्छ यसमा चन्द्र शमशेरको नै हात थियो । तर प्रमाण भने अझैं सम्म पनि फेला परेका छैन ।

(Visited 1,316 times, 1 visits today)
Loading comments...