बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

सुरु भयो चलचित्र प्रोजेक्ट बिमा

राजधानी समाचारदाता
6 months ago
21/05/2019

काठमाडौं । चलचित्र प्रोजेक्ट बिमा औपचारिक रूपमा सोमबारदेखि सुरु भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी जेनेरल इन्स्योरेन्सका सीईओ एनपी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्दै यो बिमा योजना सुरु गरे ।

अब चलचित्र निर्माताले फिल्म रिलिजअघिसम्मका लागि फिल्मको इन्स्योरेन्स गरेपछि फिल्म निर्माणका क्रममा  कुनै क्षति भए लुम्बिनीले बेहोर्नेछ ।  ‘फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्याका लागि चलचित्र प्रोजेक्ट बिमा लागू गरिएको हो,’ अधिकारीले भने ।

‘यो नितान्त निजी र स्वेच्छा बिमा भएकाले यसमा अनिवार्य भन्ने कुरा छैन । यदि कसैले दुर्घटना बिमा मात्र गर्छु भनी संघमा आवेदन दिन्छ भने यो बिमासहित त्यसभित्रै दुर्घटना बिमा पनि हुन्छ,’ अधिकारीले भने ।

अहिले चलचित्र निर्माताले चलचित्र विकास बोर्डमा १३ हजार ५ सय रुपैयाँ तिरेर बिमा समितिमा फिल्म छायांकनको अवधिभर तीन महिनाका लागि कलाकार र प्राविधिकको ५ लाखसम्मको दुर्घटना बिमा गर्दै आएका छन् ।

तर, चलचित्र प्रोजेक्ट बिमा फिल्म रिलिज नहुँदासम्मका लागि फिल्मकै बिमा भएको पनि अध्यक्ष अधिकारीले प्रस्ट्याए ।

सम्झौतामा उल्लेख भएको कागजपत्र र आवश्यक रकम बुझाएपछि यो बिमा हुने पनि अधिकारीले प्रकाश पारे । बिमा कम्पनी र निर्माता संघबीच सोमबार पाँच बुँदामा सम्झौता भएको हो ।

सम्झौतापछि इन्स्योरेन्सका सीईओ   प्रधानले भने, ‘चलचित्र छायांकनमा हुने हानिको इन्स्योरेन्स कम्पनीले एक महिनाभित्र भुक्तानी गर्नेछ । त्यसपछि ल्याबको कामको बिमा गरेको छ भने त्यो अवधिको क्षति पनि कम्पनीले बेहोर्नेछ ।’ बिमाले चलचित्रकर्मीलाई ठूलो राहत मिल्ने पनि उनले बताए । फिल्मको लागतअनुसारको बिमा रकम तय गरिएको हो । हलिउड, बलिउडलगायत अन्य देशमा केही वर्षदेखि यो बिमा लागू भएकोमा नेपालमा बल्ल सुरु भएको हो ।

(Visited 36 times, 1 visits today)
Loading comments...