बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

स्थानीय तहका समस्या, के भन्छन् प्रमुख प्रशासकीय अधिकृत ?

राजधानी समाचारदाता
6 months ago
22/05/2019

 

अधिकार क्षेत्रको अस्पष्टताले काममा अवरोध

सुकदेव लम्साल

बन्दीपुर गाउँपालिका,

तनहँु

 

स्थानीय तहले जनअपेक्षा अनुरूप विकास गर्न सकेको  अवस्था छैन । विकास  बजेट अघिल्लो वर्षको तुलनामा केही बढी नै प्रयोग भएको छ, यसमा अब आउने वर्षमा सुधार हँदै जाने देखिन्छ । तर, पनि अधिकांश स्थानीय तह साना योजनामा नै अल्झिएका छन् । यसमा कर्मचारी समायोजनले समेत असर  पारेको  छ ।

प्रशासक र जनप्रतिनिधिबीचको  सम्बन्धमा परिष्कृत र सौहार्द बन्दै गएको छ । जनप्रतिनिधिले समेत विकासका मोडलमा परिवर्तन र कानुनको अधिनमा रहेर विकास  गर्नुपर्ने  तथ्यलाई स्विकार्दै गएको देखिन्छ । स्थानीय तह, प्रदेश र केन्द्रबीच अधिकार क्षेत्रको अष्पष्टताले  स्थानीय निकायका काममा अवरोध पु¥याएको छ । स्थानीय तहमा बढेको नागरिक सचेतनाले सबैलाई जिम्मेवार बनाउँदै लगेको छ र विकासका कामले परिपक्वता पाउँदै गएका छन् । अबका वर्षमा यसले निरन्तरता पाउँदै जाने देखिन्छ ।

 

 

बजेटको अख्तियारी ढिला आउँदा समस्या

प्रदीप गौतम

अरुण गाउँपालिका,

भोजपुर

 

 

उपभोक्ता समितिमार्फत भएका काम उठाउन समस्या छ । सुरुमा योजना माग गर्छन् तर पछि खोजी नै नगर्ने यो प्रवृत्ति बढी छ ।

अन्य स्थानीय तहमा जस्तै  कर्मचारी अभाव छ । हाम्रो स्थानीय तहमा ३६ जनाको दरबन्दी छ, अहिले निजामती सेवाका हामी १० जना मात्र छौं । केही कर्मचारी करारमा नियुक्त गरेर काम सञ्चालन गरिरहेका छौं । कर्मचारी अभावले कामको चाप बढेको छ । प्रदेश सरकारबाट आएको बजेटको ढिला अख्तियारी आउँदा कार्यान्वयन गर्न समस्या छ । भौतिक संरचना निर्माण गर्न सकिएको छैन । गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या छ । भौतिक संरचना निर्माणका लागि रकम भने विनियोजन गरेका छौं । गाउँपालिकाभित्र रहेको पानीको समस्या समाधानमा डीपीआरको काम भइरहेको छ ।

गाउँपालिकामा सञ्चालन भएका योजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । स्थानीय तहका जनप्रतिनिधिको साथ सहयोग राम्रो छ । गाउँपालिकाले कृषि, स्वास्थ्य ,शिक्षा, यातायात, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

 

 

 

क्लिन, ग्रिन र अर्गानिक जिरी बनाउने हाम्रो लक्ष्य हो

शिवप्रसाद रिजाल

जिरी नगरपालिका,

दोलखा

 

हामीले जिरी नगरपालिकाको समृद्धिका लागि योजनाबद्ध तरिकाले कार्यक्रम अघि बढाइरहेका छौं ।

शिक्षामा सशक्त अनुदानका कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयमा विद्यार्थीको गुणस्तर अभिवृद्धिका लागि हामी लागि परेका छौं । विद्यार्थीको चौतर्फी विकास होस् भन्ने अपेक्षा हो ।

जिरी अस्पतालको गुणस्तर सुधार गर्ने हाम्रो योजना छ । यस्तै, जिरीलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियानमा छौं । निकट भविष्यमै ६ वटा पार्क निर्माण गर्ने अभिप्रायले अघि बढेका छौं । सडकको स्तरोन्नति पनि भइरहेको छ ।

विस्तार भएको सडकलाई स्तरोन्नति गर्ने ध्येयका साथ लागि परेका छौं । जिरीमा कृत्रिम ताल गौरवको योजनाभित्र पर्छ । पर्यटक तान्नका लागि कृत्रिम ताल निर्माण गर्ने तयारीमा छौं ।

व्यावसायिक कृषि पशुपालनलाई समेत जोड दिएका छौं । क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी हाम्रो लक्ष्य हो । त्यसका लागि सबै सरोकारवाला निकायसँगको समन्वयमा अघि बढिरहेका छौं ।

 

 

कर्मचारी–जनप्रतिनिधि समन्वय छैन

सालिकराम भट्टराई

पौवादुङ्मा  गाउँपालिका,

भोजपुर

 

स्थानीय तहमा समस्या धेरै छन् । कर्मचारी–कर्मचारी, जनप्रतिनिधि–जनप्रतिनिधि र कर्मचारी र जनप्रतिनिधिबीच ग्याप छ । जसको कारण सोचे जस्तो काम उठाउन सकिएको छैन । हालसम्म हाम्रो ४० देखि ४५ प्रतिशतमा मात्र काम सकिएको छ । यो आर्थिक वर्षमा ८० प्रतिशत सक्ने लक्ष्य छ तर यस्तै तरिका हो भने त्यो पनि सम्भव हुन्नजस्तो छ । कर्मचारी अभाव छ ।  दुई जना मात्र वडा सचिव छन्, बाँकी दुई जना प्राविधिकलाई वडा सचिवको काम लगाउनुपरेको अवस्था छ । विषयगत कार्यालयमा पनि कर्मचारी अभाव छ । सबै कामको भार प्रमुख प्रशासकीय अधिकृतमाथि छ । इन्जिनियर नहुँदा विकास निर्माणको काम पनि प्रभावित भएको छ ।  यहाँ ३१ जनाको दरबन्दी हो तर अहिले निजामती सेवाका चार जना मात्र छौं ।

बाँकी विकासतर्फका र करारमा केही कर्मचारी नियुक्त गरेर काम उठाउनुपरेको छ । दिनरात खटेर भए पनि जनताको सेवालाई प्राथमिकतामा राखेका छौं ।  हामीले कृषि, विद्युत्, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिहेको छौं । अहिले, सन्तानेश्वर मन्दिर, च्यांग्रे भ्यु टावर र पर्यटकीय क्षेत्र अरुण डाँडाको डीपीआर सकिएको छ । जनप्रतिनिधिको सहयोग भएपछि कुनै÷कुनै समयमा ग्याप पनि छ ।

 

(Visited 41 times, 1 visits today)
Loading comments...