बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

ब्रेक्जिटको नयाँ प्रस्तावमा समर्थन गर्ने अन्तिम मौका

एजेन्सी
6 months ago
22/05/2019

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले सांसदलाई ब्रेक्जिटको नयाँ प्रस्तावलाई समर्थन गर्न अपिल गरेकी छन् ।

उनले सांसदलाई प्रस्तावको समर्थन गर्ने अन्तिम मौका भएको पनि बताइन् । प्रधानमन्त्री मेले सांसदलाई युरोपेली संघबाट अलग हुने विधेयकलाई समर्थन गरेमा ब्रेक्जिटलाई लिएर दोस्रो पटक मतदान गर्ने या नगर्ने भन्ने विषयमा मत दिने मौका प्राप्न हुने बताइन् ।

प्रधानमन्त्री मेले भनिन्, ‘म यो महत्वपूर्ण मुद्दामा संसदमा साँचो र इमान्दार भावनाको कदर गर्दछु । सरकारले अर्को जनमत संग्रह गराउने मुद्दामा भोटिङ गराउन सक्छ । तर यो त्यतिबेला मात्रै हुन्छ, जब ईयूबाट अलग हुने विषयसँग जोडिएको सम्झौतामा स्वीकृति मिल्छ ।’

यसअघि प्रधानमन्त्री मेले प्रस्तुत गरेको विधेयक संसदबाट तीन पटक अस्वीकृत भइसकेको छ । तर उनले यसपटकको विधेयकमा केही परिमार्जन गरेको बताएकी छन् ।

तर विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले आफ्नो पार्टीले विधेयकको समर्थन गर्न नसक्ने बताएका छन् । उनले यो पहिलेकै विधेयकको अर्को रुप भएकाले समर्थन गर्न नसक्ने बताए ।

उनले भने, ‘हामी विधेयकको समर्थन गर्न सक्दैनौं, किनकि यो पहिलेकै विधेयकको परिवर्तित रुप हो र यसमा बजार एकत्रीकरण या सीमा शुल्क संघ या अधिकारको संरक्षण, खासगरी ग्राहकको अधिकार र हामीले खाने खानाको गुणस्तरको कुरा गरिएको छैन ।’

तर प्रधानमन्त्री मेले यो विधेयकमा श्रमिक अधिकार, पर्यावरण सुरक्षा र उत्तरी आयरिस सीमाजस्ता विषयको समाधानसहित आएको दाबी गरेकी छन् ।

प्रधानमन्त्री मेको पार्टीका केही नेताले समर्थन गरिरहेका छैनन् । कन्जर्भेटिभ पार्टीका सांसद ज्याकोब रीस–मगले यो प्रस्ताव पहिलेका भन्दा पनि खराब रहेको बताए ।

प्रधानमन्त्री मेले यदि समर्थन प्राप्त नभएमा ब्रेक्जिट नै नहुने बताइन् । सबै प्रयासका बाबजुद अन्तिम पटकका लागि जुनको सुरुमा ब्रेक्जिट सम्झौता विधेयक संसदमा पेश गर्दैछिन् । प्रधानमन्त्री मेले ब्रेक्जिटको प्रस्तावलाई समर्थन प्राप्त भएमा पद छाड्ने बताइसकेकी छन् ।

(Visited 37 times, 1 visits today)
Loading comments...