शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

अदालतमा बयान दिँदादिँदै ढलेका पूर्व राष्ट्रपति मोर्सीको निधन

एजेन्सी
6 months ago
18/06/2019

कायरो । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ ।

राजधानी कायरोस्थित अदालतमा बयान दिन गएका उनी बयान सकिएलगत्तै अदालतमै बेहोस् भएर ढलेका थिए । त्यसलगत्तै उनको निधन भएको उनका वकिलहरुले जानकारी दिएका छन् ।

सन् २०१३ मा सैनिक शासकले अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो । हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुनसक्ने एमनेस्टीको आशङका छ ।

मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ ।

उनी इजिप्टको पहिलो नागरिक राष्ट्रपति पनि हुन् । उनले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्बन्ध राखेको उनका निकटस्थहरु बताउँछन् ।

‘अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा गर्यो,’ न्यायधिवक्ताको कार्यालयले भनेको छ । ‘उहाँलाई स्थानीय समयानुसार अपरान्ह ४ बजेर ५० मिनेटमा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरीरमा घाउचोट देखिएको छैन,’ अस्पताल स्रोतले भन्यो ।

उनका कारण अदालती कारवाहीमा बाधा नपुगोस् भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।

उनी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।

जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंङ्कास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालत उपस्थित भएका थिए । उनलाई अन्य तीन मुद्दामा ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो ।

उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन् । उनको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्कनसक्ने पूर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

पूर्व राष्ट्रपति मोर्सीको निधनले इजिप्ट तथा अन्य देशमा रहेका उनका समर्थकमाझ तनाव चर्किन सक्ने आशंका पनि गरिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनले उनलाई सहिद घोषणा गरिसकेका छन् । एर्दोआनले इजिप्टका नेता अब्देल फतेह अल सीसीलाई यो घटनाको जिम्मेदार ठहर गर्दै मोर्सीलाई मृत्युको मुखमा पु¥याउने निरंकुश शासकलाई इतिहासले नबिर्सने चेतावनी दिएका छन् ।

उनका विरुद्ध भइरहेका अदालती कारबाहीप्रति कतिपयले प्रश्न उठाएका थिए । गत वर्ष बेलायती संसदको एक संसदीय समितिले उनलाई दिनको २३ घण्टा एकान्त कारावासमा राखिएको र त्यो यातना भएको जनाएको थियो । यही अवस्था रहेमा उनको चाँढै निधन हुने पनि सो समितिले चेतावनी दिएको थियो ।

(Visited 57 times, 1 visits today)
Loading comments...