आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

पुराना जीर्ण चलचित्रले पायो डिजिटल रूप

डब्बु क्षत्री
5 months ago
20/06/2019

 

काठमाडौं । ६ महिनायताबाट चलचित्र विकास बोर्ड चावहिलको भुइँतलामा केही व्यक्ति फिल्मको रिलका टुक्रा जोड्न व्यस्त देखिन्थे । जीर्ण भइसकेका रिलको पुरानो गम पुछेर उनीहरूले नयाँ गममार्फत रिलका टुक्रा टाँसेर त्यहाँ जोड्दै आएका थिए । यो कार्यलाई उनीहरूले मूर्त रूप दिएका छन् ।

अस्तित्व नै मेटिन लागेका १० वटा पुराना नेपाली चलचित्रलाई अब आधुनिक डिजिटल शैलीमा हेर्न पाइने भएको छ । ती प्राविधिकको अथक प्रयासपछि पुराना चलचित्रका रिलका ती टुक्रा जोडेर पूरा रिल बनाई डिजिटलाइजेसन गरिएको छ । यी फिल्मलाई पूण रूपमा ध्वनि र दृश्यगत अवस्थामै देख्न पाइनेछ ।

शाही नेपाल चलचित्र संस्थानले २०२२ सालमा निर्माण गरेको चलचित्र ‘आमा’ देखि २०४० मा निर्मित ‘के घर के डेरा’सम्मलाई डिजिटलाइजेसन गर्ने काम बोर्डले सम्पन्न गरेको छ ।

संस्थानले २०२२ देखि ४० सालसम्म निर्माण गरेको नेपाली चलचित्र आमा, हिजो आज भोलि, परिवर्तन, मनको बाँध, कुमारी, सिन्दुर, जीवन रेखा, बदलिँदो आकाश, शान्तिद्वीप र के घर के डेरालाई डिजिटलाइजेसन गरिएको हो ।

त्यतिबेला निर्माण गरिएको चलचित्र विश्वासलाई डिजिटलाइजेसन गर्न सकिएन । बोर्ड अध्यक्ष केशव भट्टराईले चलचित्र विश्वासबारे राजधानीसँग भने,‘चलचित्र विकास कम्पनी नेपालमा पुराना नेपाली चलचित्रको रिललाई भण्डारण गर्दा निरन्तर निश्चित तापमा राख्नुपर्नेमा त्यसो नगरिएको पाइयो । जसका कारण चलचित्र विश्वासको रिल ढुसी परेर धुजाधुजा भएकाले त्यसमा भएको दृशय नै उडेकाले यो चलचित्रलाई संरक्षण गर्न सकिएन ।’

पुराना कालजयी नेपाली चलचित्र संरक्षणका लागि डिजिटलाइजेसनमा विगत ६ महिनादेखि व्यस्त रहेका वरिष्ठ छायाकार एवं चलचित्र निर्देशक मञ्जुकुमार श्रेष्ठले भने, ‘कैयौं फिल्मका रिल टुक्रिएर धुजाधुजा भएका थिए  । ती फिल्मका साउन्ड टेपहरू पनि हराएका थिए । ती टेप जोडेर डिजिटलाइजेसन गर्ने क्रममा फिल्मको टेप हराएर ध्वनि उडेको ठाउँमा पुनः स्वरांकन गरेर ध्वनियुक्त बनाएका छौं ।’

त्यो समयका अधिकांश चलचित्र आफूले छायांकन गरेका कारण ती चलचित्रको कुन ठाउँमा कुन संवाद थियो भन्ने थाहा भएको पनि श्रेष्ठले बताए, ‘त्यसैका आधारमा हामीले ध्वनि नभएको ठाउँमा पुनः स्वरांकन गरेर ध्वनि राखी फिल्मलाई पूर्ण बनाउन सफल भएका छौं ।’

डिजिटलाइजेसन गरिएका यी फिल्मलाई कम्तीमा ५ सय वर्षसम्मका लागि पुनः सरक्षण गरेर राख्ने प्रविधि आफूहरूले अपनाउन लागेको वरिष्ठ ध्वनि विज्ञ तथा चलचित्र निर्देशन प्रदीपकुमार उपाध्यायले बताए । ‘अबको ७÷८ पुस्तासम्मले यी नेपाली चलचित्रलाई हेर्न र अहिलेको नेपाली समाजलाई बुझ्न सकून् भनेर हामीले ५ सय वर्षसम्म पनि नबिग्रने विशेष डिक्समा यी फिल्मलाई संग्रह र संरक्षण गरेर राख्दै छौं,’ उनले भने । यी कालजयी चलचित्रहरू नेपालको सम्पदा भएकाले भावी पुस्ताका लागि आफूहरूले जोगाउनुपर्ने दायित्व भएको पनि उनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार मुम्बईबाट विशेष मेसिन नै मगाएर चलचित्र विकास बोर्डमा जडान गरी जीर्ण अवस्थामा रहेका यी १० नेपाली चलचित्रलाई डिजिटलाइज्ड गरिएको हो ।

बोर्डबाट यी १० चलचित्रसँगै ऐतिहासिक महŒव बोकेका १५ घण्टा समयावधि बराबरका वृत्तचित्रलाई समेत पुरानो रिलबाट डिजिटलाइजेसन गरिसकेको छ । यी वृत्तचित्रमा ती कालखण्डकाऐतिहासिक तथा महŒवपूर्ण घटनासहित नेपालको सम्पदा, संस्कृति तथा विकास निर्माण जस्ता विविध पक्षलाई समेटिएको छ ।

यसरी डिजिटलाइज्ड गरिएका यी चलचित्रका केही दृश्यलाई चलचित्र विकास बोर्डको १९औं वार्षिक उत्सवको अवसरमा यही १६ असारमा प्रदर्शन पनि गरिने बोर्ड अध्यक्ष भट्टराईले जानकारी गराए ।

१० वटा पुराना चलचित्रलाई डिजिटलाइज्ड गरिएको यो कार्यलाई निरन्रतता दिँदै पुराना अधिकाँश कालजयी चलचित्रलाई डिजिटलाइजेसन गरेर बोर्डमा संग्रह गरिने पनि अध्यक्ष केशव भट्टराईले राजधानीलाई बताए ।

 

 

 

(Visited 88 times, 1 visits today)
Loading comments...