आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

इस्तानबुलको परिणामबाट पाठ सिकेर अघि बढ्ने प्रतिवद्धता

एजेन्सी
5 months ago
25/06/2019

अंकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा आफ्नो सत्ताधारी दलले निर्वाचनमा व्यहोरेको पराजयबाट पाठ सिकेर अघि बढ्ने बताएका छन् ।

इस्तानबुल एर्दोगानको गृहनगर हो र जुन २३ मा भएको निर्वाचनमा २६ बर्षपछि यस शहरमा उनको दल नराम्रोसँग पराजित बनेको छ ।

निर्वाचनपछि पहिलोपटक सार्वजनिकरूपमा देखिएका राष्ट्रपति एर्दोगानले भने, ‘हामीले जनता र देशले दिएको सन्देश र निर्णय (पराजय) लाई वेवास्ता गरेर अघि बढ्न सक्दैनौँ, यसबाट पाठ सिकेर आगामी दिनमा अघि बढ्नुपर्छ ।’

उनले भने, ‘निर्वाचन परिणाम जनताको निर्णय हो । यसलाई स्वीकार्दै अघि बढ्नुपर्छ । मार्च ३१ र जुन २३ मा भएका निर्वाचनले हामीलाई सचेत बन्न बाटो देखाएको छ । आगामी दिनमा गर्नुपर्ने सुधारका कुरालाई जस्टिस एण्ड डेभलपमेन्ट पार्टी (एकेपी) ले गम्भीररूपमा लिनेछ ।’

इस्तानबुलमा यस पहिले एकेपीको बर्चस्व रहने गरेको थियो । तर जुन २३ को निर्बाचनमा एक्रेम इमामोग्लुको प्रतिपक्षी दल सिपब्लिक पिपुल्स पार्टीले ५४ प्रतिशत मतसहित विजय प्राप्त गरेको र एकेपीलाई ४५ प्रतिशत मत प्राप्त भएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलुले सरकारी अधिकारीलाई उद्धृत गरी बताएको छ ।

यद्यपि निर्वाचन परिणामबारे निर्वाचन आयोगबाट घोषणा भने अझै भइसकेको छैन । अनादोलुका अनुसार तीन महिना पहिलेको निर्वाचनमा भन्दा प्रतिपक्षी दललाई उपनिर्वाचनमा आठ लाख बढी मत प्राप्त भएको छ ।

(Visited 49 times, 1 visits today)
Loading comments...