बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

बेयरस्टोको लगातार दोस्रो शतक

एजेन्सी
5 months ago
04/07/2019

लन्डन । इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोले एक दिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

अघिल्लो खेलमा भारतविरुद्ध शतक प्रहार गरेको बेयरस्टोले बुधबार न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेका हुन् ।  विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने ।

बेयरस्टोले ९५ बलमा आफ्नो एकदिवसीय करियरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पूरा गरे । बेयरस्टोले शतक पूरा गर्न १४ चौका र १ छक्का प्रहार गरे ।

बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्काका मद्दतमा १ सय ६ रनको शतकीय इनिङ्स खेले । बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिए तापनि मध्य र तल्लोक्रमका ब्याट्सम्यान चल्न सकेको थिएन । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।

रायडुको सन्न्यास

भारतीय क्रिकेटर अम्बाती रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । आईसीसी विश्वकप २०१९ मा भारतीय टिममा नपरेपछि असन्तुष्ट देखिएका ३३ वर्षीय रायडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

रायडुलाई विश्वकपको वैकल्पिक खेलाडीका रूपमा रहेका थिए । तर, भारतले जारी विश्वकपमा २ जना खेलाडी परिवर्तन गर्दा पनि स्थान नबनाएपछि उनले सन्न्यासकै घोषणा गरेका हुन् ।

रायडुले भारतीय क्रिकेटबाट सन्न्यास लिएसँगै आईपीएल पनि नखेल्ने बताएका छन् । रायडुले भारतका लागि ५५ एक दिवसीय क्रिकेटमा १६९४ रन बनाएका थिए । जसमा ३ शतक र १० अर्धशतक बनाएका छन् । रायडुले ६ वटा टी–२० पनि खेलेका छन् । रायडुले २०१३ मा सिनियर टोलीमा डेब्यू गरेका थिए ।

 

 

(Visited 30 times, 1 visits today)
Loading comments...