शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

त्रिबीको ६० वर्ष पुरा, दक्ष जनशक्ति निर्माणमा लाग्नुपर्ने प्रधानमन्त्रीको जोड

राजधानी समाचारदाता
5 months ago
11/07/2019

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणमा लाग्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरे । उनले देशको आबश्यकता पूर्ति तर्फ ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउनुपर्ने बताए । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालयको उद्घाटन गरेका थिए । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताए । मन्त्री पोखरेलले भने, ’विश्वविद्यालय प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ । यसलाई समयानुकुल बनाउदैं लैजानुपर्छ ।’
देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको पाइएको छ । त्रिवि स्थापना दिवसको अवसरमा सार्वजनिक गरीएको ५७ औं ग्रेसलिष्ट अनुसार गत वर्षको तुलनामा यो बर्ष करिव ४ हजारले विद्यार्थी घटेका छन् । गत वर्ष ७३ हजार ९ सय जना उत्तीर्ण भएकोमा यो वर्ष ७० हजार ७७ जना उत्तिर्ण भएका छन् ।

सबैभन्दा बढी व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८ विद्यार्थी उत्तीर्ण भएका थिए । शिक्षा संकायका २० हजार विद्यार्थी उत्तिर्ण भए भने सबैभन्दा थोरै विज्ञान प्रविधि संकायबाट २ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । कुलपति एवं प्रधानमन्त्री ओलीले त्रिबिको ६० औं स्थापना दिवसको अवसरमा ग्रेस लिस्ट पारित गरेका हुन् ।
कुलपति एवं प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकताअनुसार प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । शैक्षिक संस्थाहरूलाई पवित्र मन्दिरका रूपमा विकास गर्न बेथिति र अनियमितता अन्त्य हुनुपर्ने उनको जोड थियो । सहकुलपति तथा शिक्षामन्त्री पोखरेलले कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने औंल्याए । उपकुपति तीर्थराज खनियाँले विश्वभरका विश्वविद्यालयहरूको उत्कृष्टताको सूचीमा त्रिवि एक हजार र एसियामा तीन सयभित्र पर्न सफल भएको स्मरण गरे ।

वार्षिक दिवसका अवसरमा त्रिविको स्थापनाकालदेखि २०३९ सालसम्मको इतिहास लेखन पुस्तक विमोचन गरिएको थियो । त्रिविको भिजन २०२०–३० लगायत प्रकाशनहरूको समेत विमोचन गरिएको थियो । दिवसमा त्रिवि सेवामा २५ वर्षभन्दा बढी सेवा गरेका १ सय ९६ शिक्षक कर्मचारीहरूलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ ।

मानविकी तथा सामाजिक शास्त्र, चिकित्सा शिक्षा अध्ययन संकायमा विद्यार्थीको संख्या घटेको पाइएको हो । यस्तै, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, विज्ञान तथा प्रविधि, कृषि र वन विज्ञानमा भने विद्यार्थीको संख्या बढेको छ । शिक्षा संकायमा विद्यार्थीको संख्या अत्यधिक बढेको छ । गत वर्ष करिव १५ हजारको संख्यामा रहेका विद्यार्थीको संख्या यो वर्ष ५ हजारले बढेर २० हजार पुगेको छ । यस्तै, प्राविधिक शिक्षा क्षेत्रमा विद्यार्थीको अनुपात गत वर्षका तुलनामा ३ प्रतिशतले बढको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डीत गरीने बताएका छन् । त्रिबीको ६० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डीत गरीन्छ । ’

(Visited 25 times, 1 visits today)
Loading comments...