बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

असारे भेलसँगै बजेट सक्ने चटारो

तुलसी भण्डारी
5 months ago
11/07/2019

वीरगन्ज। असारे भेलसँगै बजेट सिध्याउन जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । राज्यको ढुकुटीमा बजेट संकलन गरिदिने कार्यालयलाई भने चालू आर्थिक वर्षको बजेट संकलनको लक्ष्य भेट्ने अर्को चटारो छ । राजस्व विभागले करका रूपमा बजेट संकलन गर्न अघिल्ला वर्षभन्दा सिलिङ बढाएर जिम्मेवारी दिएपछि विकासे अड्डालाई खर्च गर्नभन्दा कर संकलन गर्ने अड्डालाई जिम्मेवारी पूरा गर्न चटारो परेको हो ।

मुलुकभरि ७६१ स्थानीय सरकार रहेका र ती सरकारले गर्ने कामका लागि खर्चको भार बढेसँगै राजस्व संकलन गर्ने कार्यालयलाई करको सिलिङ विगतभन्दा ५८ प्रतिशतसम्म बढेको तथ्य भेटिएको छ । यसले असारमा नै रकम सिध्याउने बानी परेका सरकार र जनप्रतिनिधिलाई भन्दा राजस्वको लक्ष्य भेट्न राजस्व संकलक कार्यालयका कर्मचारीलाई सकस परेको छ ।

बढेर आएको राजस्वको लक्ष्य पूरा गर्न कठिनाइ हुने कार्यालयमा मुलुकको प्रमुख भन्सार नाकाका रूपमा रहेको वीरगन्जमा अवस्थित आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगन्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालय नमुनाका रूपमा रहेका छन् । यी कार्यालयजस्तै देशै भरको राजस्व संकलन गरी राष्ट्रको ढुकुटी बलियो बनाइदिने कार्यालयलाई चालू आर्थिक वर्षको अन्तिम महिनामा विभागले दिएको लक्ष्य पूरा गर्न कठिन भएको छ ।

असारे भेलसँगै रकम सक्न मुलुकभरका जनप्रतिनिधि र विकासे अड्डाका कर्मचारी तल्लीन रहेको समयमा राजस्व संकलक कार्यालयलाई पनि ढुकुटी घट्ला भन्ने सकस परेको राजस्व संकलन गर्ने कार्यालयका कर्मचारीले बताएका छन् । अझ गत वर्षको १२ महिनामाको लक्ष्य ११ महिनामा नै पूरा गरेका वीरगन्जको आन्तरिक राजस्व कार्यालयजस्ता कार्यालयलाई भने अहिले बढेर आएको लक्ष्य पूरा गर्न गाह्रो भएको छ । कर्मचारी साँझको ८÷९ बजेसम्म खट्दा पनि लक्ष्य भेट्न मुस्किल भएको राजस्व कार्यालय वीरगन्जले जनाएको छ ।

 

५८ प्रतिशतसम्म सिलिङ वृद्धि

आन्तरिक राजस्व विभागले गत वर्षभन्दा ५८ प्रतिशत कर संकलनको सिलिङ बढाएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ११ महिनाका लागि राजस्व कार्यालय पर्सालाई दिएको लक्ष्यभन्दा गत वर्षभन्दा २ अर्ब ८२ करोड ६९ लाख ३४ हजारले बढी हो । चालू आर्थिक वर्षको ११ महिनाका लागि आन्तरिक राजस्व विभागले राजस्व कार्यालय वीरगन्जलाई ७ अर्ब ६६ करोड ६८ लाख ३१ हजार रुपैयाँको लक्ष्य दिएको छ ।

गत आर्थिक वर्षमा भने आन्तरिक राजस्व कार्यालय पर्सालाई राजस्व विभागले ४ अर्ब ८३ करोड ९८ लाख ९७ हजार रुपैयाँको मात्र लक्ष्य दिएको थियो । लक्ष्य बढेर आएको भए पनि चालू आर्थिक वर्षको ११ महिनामा यो कार्यालयले लक्ष्यको तुलनामा ९२ दशमलव ८४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पर्साको तथ्यांकमा छ ।

राजस्व गत वर्षजस्तो पर्सामा दाखिला हुने हो भने लक्ष्य बढेर आएको भए पनि त्यो लक्ष्य पूरा गर्न आन्तरिक राजस्व कार्यालय पर्सालाई गाह्रो नहुने कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले राजधानीलाई बताए ।

 

भन्सारको लक्ष्य पुगेन

२७ प्रतिशत लक्ष्य बढेर आएको वीरगन्ज भन्सार कार्यालयले चालू आवको ११ महिनामा लक्ष्यभन्दा १२ दशमलव ४० प्रतिशत कम राजस्व संकलन गरेको छ । यो भनेको राजस्व विभागले विरगन्ज भन्सार कार्यालयलाई दिएको लक्ष्यभन्दा १९ अर्ब १४ करोड ९५ लाख ८० हजारले कमी हो ।

राजस्व विभागले चालू आर्थिक वर्षको ११ महिनाका लागि वीरगन्ज भन्सार कार्यालयलाई १ खर्ब ५४ अर्ब ४४ करोड ५२ लाख ६५ हजारको लक्ष्य दिएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

वीरगन्ज भन्सारले गत ११ महिनामा १ खर्ब ३५ अर्ब २९ करोड ५६ लाख ८५ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको कार्यालयका प्रमुख श्यामप्रसाद भण्डारीले बताए ।

(Visited 30 times, 1 visits today)
Loading comments...