आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

खेलकुदका विजेतालाई सम्मान गरिने

राजधानी समाचारदाता
4 months ago
11/07/2019

 

 

कास्की । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भएका विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ । २०७५ सालको २७ चैतदेखि २०७६ सालको ११ वैशाखसम्म प्रदेश ५ का विभिन्न स्थानमा सम्पन्न राष्ट्रिय खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारको तर्फबाट सम्मान गरिने भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकुदका विजेता खेलाडीलाई नगद र सम्मानपत्रसहित सम्मान गरिने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । राष्ट्रिय खेलकुदमा गण्डकीले प्रथममा १८, द्वितीयमा २५ र तृतीयमा ५० गरी ९३ पदक जितेको थियो । व्यक्तिगत प्रतिस्पर्धामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार तथा समूह खेलबाट प्रथम, द्वितीय र तृतीयलाई ७ हजार, ५ हजार र ३ हजार नगदसहित सम्मान गरिने क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले बताए ।

प्रदेश सरकारले खेलाडी सम्मानका लागि समितिलाई ११ लाख ७८ हजार ८ सय उपलब्ध गराएको छ । यसैबीच क्षेत्रीय खेलकुद विकास समितिले गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । २६ र २७ असारमा पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका ९१३ खेलाडीले भाग लिने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...