आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

करार कर्मचारीको समस्या चाँडै समाधान हुन्छ  : सिलवाल

राजधानी समाचारदाता
4 months ago
11/07/2019

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरूको समस्या चाँडै हल हुने बताएका छन् ।

राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य सचिव सिलवालले भने, ‘तपाईंहरूको स्थायी हुनुपर्ने मागका विषयमा धेरै लामो समय कुर्नुपर्दैन । चाँडै परिणाम आउँछ । मैले तपाईंहरूको समस्याका बारेमा विभागीय प्रमुखसँग छलफल गरिसकेको छु । यही वर्षभित्र समस्या हल गरेर तपाईंहरूले स्थायी हुनुपर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्नेछौं ।’ विगत लामो समयदेखि राखेपमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरूले स्थायी हुनुपर्ने माग राख्दै आएका छन् ।

सदस्य सचिव सिलवालले आफूलाई भेट्न आउँदा समस्या मात्र नभई त्यसको उपाय पनि सँगै लिएर आउन बताउँदै उचित सुझाव भए धाउनुपर्ने ठाउँमा आफू स्वयं धाउने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान सदस्य सचिव विष्टले करार कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा आफूले चारवटा समिति गठन गरेको स्मरण गर्दै त्यसलाई वर्तमान सदस्य सचिवले पूरा गर्ने विश्वास व्यक्त गरे ।

निवर्तमान सदस्य सचिव विष्टले आफू खेलकुदभन्दा कहिलै बाहिर रहन नसक्ने बताउँदै खेल क्षेत्रमै योगदान दिन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

‘खेलकुदभन्दा बाहिर जान्न । यही क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु ।’ निवर्तमान सदस्य सचिव विष्टले भने, ‘शिर ठाडो पारेर आएको थिए । शिर ठाडो पारेर जाँदै छु । यसमा मलाई दुःख छैन । चार वर्षका लागि आएको थिएँ त्यो जिम्मेवारी पूरा गरेर गएँ ।’

राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनुपर्ने विगत लामोदेखिको माग वर्तमान सदस्य सचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा कर्मचारीले नवनियुक्त सदस्य सचिव सिलवाललाई फल माला लगाइ स्वागत गरेका थिए भने अध्यक्ष श्रेष्ठले नि वर्तमान सदस्य सचिव विष्टलाई मायाको चिनो प्रदान गरेका थिए ।

 

 

(Visited 50 times, 1 visits today)
Loading comments...