शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

मलाई माया र केयर गर्ने मनपर्छ

भवनाथ प्याकुरेल
5 months ago
20/07/2019

मोडलिङमा स्थापित हुने प्रयासमा लागेकी रिलिजा शाक्य २०६० सालमा ललितपुरको पाटनमा जन्मिएकी हुन् । उमेरले १६ पुगेकी यी कलकलाउँदी सुन्दरी हाल कक्षा ११ मा अध्ययनरत छिन् । पढाइ, मोडलिङ तथा समाजसेवालाई सँगसँगै अगाडि बढाउन चाहेकी रिलिजा विभिन्न फेसन सोमा पनि सहभागी हुँदै आएकी छन् । उनी मोडलिङलाई सहायक पेसाका रूपमा अगाडि बढाउन चाहन्छिन् । आमा फेसन डिजाइन शिक्षक भएकीले आमासँगै विभिन्न ठाउँमा फेसन सोमा सहभागी हुँदा उनमा पनि यससम्बन्धी अनुभव बढ्दै गएको छ ।  अवसर पाएमा मोडलिङ क्षेत्रमा जम्ने उनको चाहना छ । यी सुन्दरी मोडलिङ, प्रेम, विवाहलगायतका विषयमा राजधानीका भवनाथ प्याकुरेलसँग यसरी खुलिन् ।

यो क्षेत्रमा किन आउनुभयो ?

आमा फेसन डिजाइन शिक्षक भएको हुनाले उहाँले मलाई विभिन्न फेसन सोमा लैजाने गर्नुहुन्थ्यो । त्यस्ता, कार्यक्रममा भाग लिँदा मेरो अत्मविश्वास बढ्यो । त्यसले गर्दा मोडलिङ क्षेत्रमा पनि म केही गर्न सक्छु भन्ने लाग्यो । त्यसैले, म यस क्षेत्रमा आएकी हुँ ।

भविष्यमा कस्तो मान्छे बन्न चाहनुहुन्छ ?

मेरो बाल्यकालदेखिको इच्छा समाजसेवा गर्नु थियो । बाटोमा मागेर गुजारा गर्ने मानिसप्रति मेरो सहानुभूति रहन्थ्यो । मलाई सानैदेखि उनीहरूलाई एकै ठाउँमा जम्मा पारेर केही इलम सिकाई सक्षम बनाउनुपर्छ भन्ने लाग्थ्यो । आउने दिनमा बुबाआमाको व्यापारलाई सहयोग गर्ने र पछि आफैं केही व्यापार सुरु गर्ने योजना छ । त्यसपछि त्यस्ता गरिब विपन्नका लागि केही सहयोग गर्न चाहन्छु ।

यो क्षेत्रमा आएकालाई राम्रो नजरले हेरिँदैन नि ?

मेरो परिवारले पनि मोडलिङ क्षेत्र राम्रो होइन भन्नुहुन्छ । नियत सही भयो भने कसैले औंला उठाउन सक्दैनन् । मानिसका आआफ्नै विचार हुन्छन् । गलत विचार राखेर कुरा काट्नेलाई त कसले रोक्न सक्छ र †

तपाईंका मुख्य रुचि के कस्ता छन् ?

मेरो मुख्य रुचि, संसारभरि घुम्ने र पेन्टिङ गर्ने हो । गीत सुन्दा मन खोलेर नाचौंनाचौं लाग्छ ।

तपाईंको स्पेसल खाना के हुन् ?

मेरो स्पेसन खाना भन्ने छैन । मलाई बुबाले बनाउनुभएकोे जस्तोसुकै खाना पनि मीठो लाग्छ । उहाँले जे बनाएर दिए पनि मीठो लाग्छ ।

तपाईंले विवाहबारे केही सोच्नुभएको छ ?

म भर्खर त १६ वर्षकी भएँ । २६ वर्ष पुगेपछि विवाह गर्ने विचार गरेकी छु ।

तपाईंले कस्तो जीवनसाथी होस् भन्ने चाहनुभएको छ ?

मैले धेरै ठूलो सपना देखेकी छैन । मेरो जीवनसाथी मेरो बुबाजस्तो भए मलाई पुग्छ । बुबाजस्तो भनेको बुबाले जत्तिकै माया र केयर गर्ने हो । अर्को विषय भनेको समयअनुसार चल्ने खालको जीवनसाथी चाहन्छु । मेरो रूपभन्दा मन सफा हुनुपर्छ भन्ने मान्यता छ ।

प्रेम के जस्तो लाग्छ ?

प्रेम दुई आत्माबीचको मिलन हो । रूप मात्रै हेरेर पे्रम गर्दा
चाँडै छुट्नुपर्छ ।

तपाईंलाई के भनेर प्रपोज गर्छन् ?

धेरै जतिले आई लभ यु भनेर प्रपोज गर्ने गरेका छन् । कसैकसैले तपाईं धेरै राम्री हुनुहुन्छ भनेर भन्छन् । कसैले भने तपाईंको स्माइल राम्रो छ, आँखा हेरिरहूँजस्तो लाग्छ, बोल्ने तरिका राम्रो लाग्छ भनेर भन्ने गरेका छन् ।

त्यसो भन्दा तपाईं के भन्नुहुन्छ ?

मेरो उत्तर एउटै हुन्छ, माफ गर्नुहोला । मलाई यसमा रुचि छैन भन्ने गर्दछु । उनीहरू दुःखी हुँदा मनमा नरमाइलो लाग्छ । त्यसैले, कहिलेकाहीँ सम्झाउने पनि गरेकी छु । दुःखी नहुनुहोला मभन्दा राम्रा अरू पनि छन् भनेर सम्झाउने गर्दछु ।

 

ब्वाइ फ्रेन्ड परिवर्तन गर्ने केटीलाई के भन्नुहुन्छ ?

त्यस्ता ब्वाइ फ्रेन्ड परिवर्तन गर्ने केटीलाई यसरी परिवर्तन गर्दा समय मात्र खेर जाने भएको हुँदा यस्तो नगर्नु भन्ने अनुरोध गर्दछु । म यसरी परिवर्तन गर्नुभन्दा बनाउँदै नबनाउनु राम्रो भन्छु ।

तपाईंलाई कस्ता केटा मन पर्छन् ?

मलाई मन सफा भएका केटा मन पर्छन् । यसका लागि भित्रजत्तिकै बाहिर पनि सफा मन हुनुपर्छ । मलाई इगो र स्वार्थ नराखी माया गर्ने बफादार केटा मन पर्छन् ।

राम्रा केटा देख्दा मन कस्तो हुन्छ ?

राम्रा केटा देख्दा यसको भित्री मन कस्तो होला भनेर जान्न मन लाग्छ ।

व्यायाम कतिको गर्नुहुन्छ ?

म कसरत गर्दिनँ । कहिलेकाहीँ बिदाका दिन थोरै
समय गर्दछु ।

यो क्षेत्रमा आउन केले प्रेरित ग-यो ?

पहिलोपल्ट आमाले डिजाइन गरेको ड्रेसमा फेसन सो गरेकी थिएँ । त्यतिबेलादेखि मैले केही गर्न सक्छु भन्ने विश्वास लाग्यो । त्यस्तै, म विद्यालयमा पनि विभिन्न नाटकहरूमा भाग लिने गर्दथें । मेरो नाटक हेरेपछि शिक्षकले मेरो तारिफ गर्दा मेरो मनोबल बढेर आउँथ्यो ।

 

(Visited 136 times, 1 visits today)
Loading comments...