शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

बाढीपहिरोको बहानामा अत्यधिक मूल्यवृद्धि

कौशिला कुँवर
5 months ago
20/07/2019

 

काठमाडौं। पछिल्लो एक सातादेखि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भएको छ । गत साता गएको बाढी र पहिरोको वहानामा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य सातामै दोब्बर वृद्धि गरेका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बाढी र पहिरोले केही रूपमा बढे पनि बिचौलियाकै कारण बजारमा अस्वाभाविक रूपमा तरकारीको मूल्यवृद्धि भएको बताए । बाढीपहिरोको बहाना बनाएर व्यापारीले मनपरी मूल्य लिने गरेको पाइएको बताए ।

धादिङ र काभे्रमा प्रतिकेजी ५० रुपैयाँ गोलभेडा व्यापारीले १५० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाएको बताए । यसैगरी, काभ्रेमा ६० रुपैयाँ पर्ने बोडीलाई काठमाडौं कालिमाटी बजारका व्यापारीले १६० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको बताए । महानिर्देशक गौचनले बजारमा बिचौलियको हावी भएकै कारणले नै प्रतिकेजी दोब्बर भएको बताए ।

यसैगरी, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पछिल्लो समय बाढीपहिरोको बहानामा बजारमा बिचौलियाको हाबीकै कारण तरकारीको मूल्य अस्भाविक रूपमा बढेको बताए । उनले भने, ‘बिचौलियाले काभ्रे जिल्लाका किसानबाट ४० देखि ५० रुपैयाँमा ल्याएको तरकारी कालिमाटी बजारमा बल्खुबारमा १५० देखि १६० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको पाएको बताए । व्यापारीले बाढीपहिरोको बहाना बनाए पनि त्यो यथार्थ नभएको तिमल्सिनाको भनाइ छ ।

कालिमाटी तरकारी तथा फलपूmल विकास बोर्डको तथ्यांकअनुसार शुक्रबार प्रतिकेजी गोलभेंडाको मूल्य १३० रुपैयाँ पुगेको छ । यसैगरी प्रतिकेजी काउलीको मूल्य १३० रुपैयाँ, भन्टा ११०, बोडी १५०, घिउ सिमी १५०, तीतेकरेला १३०, लौका ९० अदुवा २५० रुपैयाँ पुगेको छ ।

 

१९ व्यापारीलाई जरिमाना

 

काठमाडौं ÷रास– कालीमाटी र बल्खुका तरकारी बजारका १९ जना व्यापारीलाई १ लाख २० हजार रुपैयाँ जरिमाना गरेको छ ।

शुक्रबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले अनुगमन विलविजन नबुझाएको भन्दै जरिमाना गरेको हो ।

शुक्रबार बिहान अनुगमनमा गएको विभागको टोलीले बल्खु तरकारी र फलफूल बजारका ११ व्यापारीलाई ५ देखि २० हजारसम्म ७० हजार जरिमाना गरेको छ भने कालीमाटी फलपूmल तथा तरकारी बजारमा आठवटा व्यापारीलाई ५० हजार जरिमाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बजारमा अस्वाभाविक तरकारीको मूल्यवृद्धि भएपछि तरकारी बजार अनुगमन गर्दा कुनै व्यापारी पनि तरकारी तथा फलपूmल किन्न सामानको विलविजन नबुझाए पनि उपभोक्ता संरक्षण ऐनबमोजिम जरिमाना गरेको बताए ।

(Visited 48 times, 1 visits today)
Loading comments...