शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

कर्मचारीका समस्या, अझै सुल्झिएन ३२ हजार अस्थायी कर्मचारीको समस्या

केशवप्रसाद पाण्डे
5 months ago
20/07/2019

काठमाडौं।वर्षौंदेखि समस्याका रूपमा रहँदै आएको अस्थायी कर्मचारीको समस्या अझै सुल्झिन सकेको छैन । सरकारसँग दैनिक ज्यालादारी, करार, अस्थायी र ठेकेदारी गरी ३२ हजारको संख्यामा यस्ता कर्मचारी रहेको तथ्यांक छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस सम्बन्धमा कानुन निर्माण गरी व्यवस्थापन गर्ने भनिए तापनि मन्त्रालयसँग नै यसको स्पष्ट र यर्थाथ तथ्यांक नरहेको बताइएको छ । मन्त्रालयका सहसचिव बराल भन्छन्, ‘विभिन्न मन्त्रालयले आफ्नो आवश्यकताअनुसार यस्ता कर्मचारी भर्ना गर्ने गरेका हुन्छन् । हामीसँग यसको तथ्यांक नै छैन ।’
यता अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी तथा ठेकेदारी कर्मचारी संघले आफूहरूको माग सरकारले पुरा नगरेको भन्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ ।

संघले उमेरको हदबन्दीबिना स्वतः स्थायी हुनुपर्ने, रोजगारीको ग्यारेन्टी हुनुपर्ने, निजामती सेवाको तलब स्केलअनुसारको सेवासुविधाको व्यवस्था हुनुपर्ने, विभिन्न समयमा भएका सहमति तथा निर्णय कार्यान्वयन हुनुपर्ने र सामाजिक सुरक्षा भत्ता लागू हुनुपर्नेलगायतका माग राखेका छन् ।
संघका अध्यक्ष विमला आचार्य सरकारको व्यवहारले निजामती क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारी समस्यामा परेको बताँउछिन् ।
आचार्य भन्छिन्, ‘राष्ट्र निमार्णको सवालमा जो जहाँ जुन तहमा रहे पनि त्यसको अधिकारको प्रवद्र्धन हुनुपर्छ ।’
संगठनका प्रवक्ता एवं उपाध्यक्ष श्याम सापकोटा सर्वोच्च अदालतको आदेशअनुसार कानुन बनाएर समस्या समाधान गर्न दिएको निर्देशन तथा २१ साउन २०७४ मन्त्रिपरिषद् निर्णय कार्यान्वयनमा नआउँदा समस्या लम्बिएको बताउँछन् ।
अस्थायी कर्मचारीले यसअघि समेत विभिन्न समयमा आन्दोलन गर्दै आएका थिए ।

संघका महासचिव काशीराज श्रेष्ठ शारीरिक श्रम र मानसिक श्रमको सहकार्यबाट मात्र राष्ट्र निमार्णको परिकल्पना गर्न सकिने र आफूहरूले राष्ट्रलाई सक्दो सहयोग गरिरहँदा समेत सरकारको उदासीनताका कारण भविष्य असुरक्षित रहेको बताउँछन् । सरकारले आफूहरूको मागलाई बेवास्था गरेमा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

(Visited 567 times, 1 visits today)
Loading comments...