बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने प्रतिबद्धता

राजधानी समाचारदाता
5 months ago
21/07/2019

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँ कतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरे । सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सह्य नहुने उनको चेतावनी छ ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहेंलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कारबाही गरेरै छाड्ने चेतावनी पनि दिए ।

त्यस अवसरमा उनले स्थानीय तहमा हुने विकास निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।
कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सबै वडासँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे । उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रदेश सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी स्थानीय सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश पूर्वाधार क्षेत्र विकास कोषको बजेट पनि काठमाडौं क्षेत्र नम्बर ५ को सम्पदा पुनर्निर्माणको काममा खर्च गर्ने योजना सुनाए ।

प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सांसद सिलवालको योजना छ ।

 

(Visited 26 times, 1 visits today)
Loading comments...