शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

बढ्यो चुरा, मेहन्दी र पोतेको रौनक

नवीन लुइँटेल
5 months ago
21/07/2019

राजधानी। साउने संक्रान्तिसँगै गाउँदेखि सहरका महिलाबीच हरियो र पहेंलो पहिरनको फेसन बढेको छ । उनीहरूको हातखुट्टा मेहन्दीको विभिन्न डिजाइनका बुट्टाले सजिने गरेको छ । हरियो–पहेंलो चुरा र पोते पनि फेसन बनिरहेको छ ।
हिन्दु धर्मावलम्बी महिला साउन र साउने सोमबारको महŒवलाई आत्मसात गरिरहेका छन् । साउनसँगै बजारमा हरियो–पहेंलो रंगका चुरा, पोतेलगायत शृंगारका सामानको बजार
ह्वात्तै बढिरहेको छ । प्रकृति नै हरियो भएको बेला साउनमा महिलाको फेसनमा पनि हरियाली देख्न पाइन्छ ।
विवाहित मात्र होइन, अहिले अविवाहित युवती पनि हरियो र पहेंलो रंगमा सजिएको देख्न पाइन्छ । हरियो र पहेंलो चुरापोते किन्न काठमाडौंका असन, इन्द्रचोक र ललितपुरको मंगलबजारलगायतका देशका मुख्य मुख्य सहरका पसलमा महिलाको भीड लागिरहेको छ ।

धार्मिक र वैज्ञानिक कारणभन्दा पनि पछिल्लो समयमा केही महिलाले देखावटी र होडबाजीलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो परम्परा र रीतिरिवाजलाई मानिरहेका छन् ।
असारमा हिलोमा छुपुछुपु खेल्दै धान रोपेका महिलाले आफ्नो छालामा लाग्न सक्ने विभिन्न संक्रमणबाट जोगिन जडीबुटीजन्य फूल र यसका पातलाई दलेर मेहन्दी लगाउने परम्पराका रूपमा सुरुवात भएको विश्वास गरिन्छ ।
असारको थकान र कामको बेफुर्सदबाट थलिएका नारी साउनमा केही समय कामबाट आरामसँगै भगवान् श्रीमहादेवको भक्तिमा लीन हुन हरियो, पहेंलो वस्त्र र चुरापोतेमा सजिने गर्छन् । साउनमा चुरा बेच्ने व्यापारी र हातमा मेहन्दी लगाउनेहरू राजधानीका चोकचोक र गल्लीगल्लीमा प्रशस्तै भेटिन्छन् ।
साउनभरि महिलाले शुद्ध शाकाहारी बनी साउने सोमबारमा व्रत लिने गर्छन् । यसपालि ६, १३, २० र २७ गते गरी चार वटा साउने सोमबार परेका छन् ।

साउने सोमबारका दिन व्रत बसेर भगवान् शिवको ध्यान गरी पूजाअर्चना गर्ने चलन छ ।
साउनमा खाली खुट्टामा भक्तजनले कुण्ड र तलाउमा गई घैला या घल्चामा पानी भरेर टाउकोमा राखी शिव
भगवान्लाई चढाउँछन् । पिठिउँमा गेरु रंगको कपडाको सानो झोला, हातमा कमण्डलु, बोलबम लेखिएको गेरु रंगको गन्जी या भेस्ट, हाफ पाइन्टमा चिटिक्क परेको कमण्डलु, बोलबम लेखिएको गेरु रंगकै साडी वा सलवार–कुर्ता लगाएका महिलाले ‘बोलबम–बोलबम’ भन्दै नजिकैको नदी, पोखरी, कुण्ड, ताल–तलैयाबाट जल ल्याई शिवालयमा गएर अर्पण गर्ने क्रम बढेको छ ।
साउने सोमबारमा व्रत बसेर हिन्दु नारीले आफ्ना पतिको सुस्वास्थ्यको कामना गर्ने र अविवाहित नारीले सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने विश्वास छ । साउनमा हातभरि मेहन्दी, हरियो र पहेंलो चुरा अनि हरियै कपडा लगाउने चलन पनि बढ्दै गएको छ ।

चुरा, मेहन्दी र कपडाको अर्थ

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ रहेको पाइन्छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य एवं पहेंलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । यसकारण पनि साउनमा हरियो, पहेंलो र रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुँदै गएको छ ।
रंगीचंगी चुरापोते र कपडासँगै साउनमा हातभरि मेहन्दी लगाउने चलन पनि छ । यसै विश्वासका साथ पनि नेपाली विवाहित तथा अविवाहित महिलाका लागि साउन विशेष रहेको बुझ्न सकिन्छ । आजभोलि भने हातमा मेहन्दी लगाउनु र चुरा लगाउनु फेसन पनि बन्दै गएको छ । ज्योतिष शास्त्रअनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ भन्ने जनविश्वास छ ।

हरायो तिउरी फूलको मेहन्दी घट्दै

पछिल्लो समय रेडिमेड मेहन्दीका कारण पुराना र परम्परागत तिउरी लगाउने चलन हराउँदै गएको छ । तिउरीको फूल, पात र डाँठलाई ढुंगामा थिचेर मेहन्दी बनाई लगाउने परम्परा थियो ।
तिउरीको फूल, पात र डाँठसँग मगरकाँचेको बिरुवा, कर्कलाको चोप, अमिलो आदि मिसाएर त्यसको परम्परागत मेहन्दी बनाएर हातमा लगाइन्थ्यो । त्यस क्रममा तिउरीले हातमा सजाइसकेपछि केहीबेर काँडा भएको फर्सीको पात वा कर्कलोको पातलाई सिरु घाँसले बाँधेर रातभर या केही घण्टा राख्ने गरिएको संस्कृतिविद् मधुसूदन सुवेदी बताउँछन् । तयारी अवस्थामा बनेको मेहन्दीको प्रयोग बढ्दै जाँदा तिउरीलगायतका हाम्रो माटो सुहाउँदा मेहन्दीको प्रयोग बढ्दै गएको उनी
ठोकुवा गर्छन् ।

पशुपतिसहित सबै शिवालयमा भक्तजन

साउने सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ । काठमाडौंको पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा विशेष, महिला भक्तजनको भीड  लाग्ने गर्छ ।
यसैगरी, ललितपुरको पाटनस्थित कुम्भेश्वर, सुनाकोठीको भृंगारेश्वर, ठेचोको ढल्केश्वर, लेलेको तिलेश्वर र पशुपतिनाथ, झरुवाराशीको सन्तानेश्वर, चापागाउँको जीवनेश्वर, लुभुको गोब्राटेश्वर, गोटीखेलको कालेश्वरसहित देशभरका सबै महŒवपूर्ण शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । बिहानैदेखि भक्तजनको भीड लाग्ने पशुपतिनाथ मन्दिरमा विशेष व्यवस्था मिलाउने गरिन्छ । सोमबारका दिन भक्तजनले शिव भगवान्को व्रत बसेर बोलबम पनि भर्ने गर्छन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...