शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

अल्जेरिया २९ वर्षपछि अफ्रिकी च्याम्पियन

एजेन्सी
5 months ago
21/07/2019

कायरो । अल्जेरिया २९ वर्षपछि अफ्रिका कप अफ नेसन्स च्याम्पियन बनेको छ । इजिप्टस्थित कायरो अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति भएको खेलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरिया २९ वर्षपछि च्याम्पियन बनेको हो । त्यसअघि अल्जेरिया सन् १९९० मा नाइजेरियालाई १–० ले हराउँदै च्याम्पियन बनेको थियो । समग्रमा पनि अल्जेरिया दोस्रोपटक च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक साबित भयो । बागदाद बोउनेदाको प्रहार सेनेगलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एक मात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रहयो । अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरियाले सेनेगललाई खेलमा फर्कने मौका दिएन । पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो । तर, रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे । सेनेगलले खेल अवधिभर दबाब बनाए पनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा सफल हुन सकेन ।

दोस्रो स्थानमा चिक्त बुझाएको सेनेगलले फेयर प्लेको अवार्ड पायो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अल्जेरियालाई च्याम्पियन बनाउन सहयोग गरेका इस्माएल बेनासेर उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, अल्जेरियाकै राइस एमबोल्ही उत्कृष्ट गोलकिपर चुनिए । नाइजेरियाका ओडिओन ओघालो ५ गोल गर्दै सर्वाधिक गोलकर्ता चुनिए । २२ जुनबाट सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ अफ्रिकी राष्ट्रको सहभागिता थियो ।

लिभरपुलको हार

यूईएफए च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुल प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब डर्टमन्डसँग पराजित भएको छ ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–२ को अन्तरमा पराजित भएको हो । प्रि–सिजनमा लिभरपुलको यो पहिलो हार हो । यसअघि लिभरपुलले दुई खेलमा फराकिलो जित निकालेको थियो । डर्टमन्डको भने प्रि–सिजनमा लगातार तेस्रो जित निकाल्यो । डर्टमन्डका पाको अल्कासेर, थोमस डिलेनी र जाकव ब्रन लार्सेनले गोल गरे । लिभरपुलका ह्यारी विल्सन र रिहान ब्रिस्टरले पनि गोल गरे ।

खेलको तेस्रो मिनेटमै डर्टमन्डले पाको अल्कासेरको गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ५३औं मिनेटमा थोमसले गोल गर्दै डर्टमन्डलाई पुनः २–१ को अग्रता दिलाए । ५८औं मिनेटमा जाकवले गोल गर्दै डर्टमन्डलाई जितनजिक पु¥याएका थिए । ७५औं मिनेटमा रिहानले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खेलमाा फर्काउने संकेत दिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ३–२ ले विजयी भयो ।

अब डर्टमन्डले अर्काे मैत्रीपूर्ण खेलमा उडिनेसीसँग तथा लिभरपुलले सेभियासँग २२ जुलाईमा खेल्दै छ । सिजन सुरु हुनुअघि टोलीहरू प्रि–सिजनमा व्यस्त छ ।

यता, वैकल्पिक युवा खेलाडी मेसन ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले प्रि सिजन टुरमा जितलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा दुई वटा अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो ।

 

(Visited 28 times, 1 visits today)
Loading comments...