शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, रेमिट्यान्स १७.५ प्रतिशतले बढ्यो

राजधानी समाचारदाता
5 months ago
21/07/2019

काठमाडौं।  आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि मुलुकमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । स्वदेशमा भनेजस्तो काम नपाएपछि बाध्यतावश वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर विदेशी भूमिमा पसिना बगाएर नेपाली कामदारले पठाएको रेमिट्यान्सले नै धानेको मुलुकको अर्थतन्त्रमा उनीहरूले ७ खर्ब ९९ अर्ब २ करोडको योगदान गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ११ महिनामा मुलुकको वर्तमान आर्थिक स्थितिले यस्तो देखिएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा व्यक्त गर्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । यसरी मुलुकमा भित्रिएको रेमिट्यान्सलाई सही तरिकाले उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा मुलुकमा आयातको तथ्यांक झन् भयावह बन्दै गएको छ ।
संस्थागत तथा व्यक्तिगत रूपमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेको संख्या भने यस अवधिमा ३७.३ प्रतिशतले घटेको छ । जसमा नयाँ श्रम स्वीकृति लिएर जाने र पुनः श्रम स्वीकृति लिएर जाने कामदार मात्र रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठसम्म १७.५ प्रतिशतले वृद्धि रेमिट्यान्स वृद्धि भएको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको तुलनमा गत वर्षको ११ महिनामा १० प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि डलरमा आएको सुधारका कारण रेमिट्यान्समा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ को ११ महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भएको छ । विगतका महिनामा निरन्तर घटिरहने निर्यात यसपालि वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँबराबरको निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ८.७ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको देखिएको छ ।
यसैगरी, वस्तुगत आधारमा पोलिस्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोसाक, जुत्ता तथा चप्पल, छाला, पस्मिनालगायतका वस्तुको निर्यात घटेको देखिएको छ । ११ महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोसाक, एमएस बिलेट, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतका वस्तुहरूको आयात घटेको छ ।
त्यस्तै, ११ महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ । यो घाटा १७.२ प्रतिशतले वृद्धि भएको हो । ११ महिनामा निर्यातआयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ६.७ प्रतिशत रहेको थियो ।
सो अवधिमा वस्तु आयात १७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...