शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

दुई अर्बको सेयर कारोबार

राजधानी समाचारदाता
5 months ago
21/07/2019

काठमाडौं ।  धितोपत्र बजारमा एक सातामा २ अर्ब रुपैयाँ बराबारको सेयर कारोबार भएको छ । यो कारोबार १७० कम्पनीको हो । आर्थिक वर्ष २०७५÷७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कुल ८५ लाख ९९ हजार १७ कित्ता सेयर कारोबार भएका थिए । नेपाल स्टक एक्सचेन्जका अनुसार चालू आर्थिक वर्ष सुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामै रह्यो ।
अघिल्लो साता १ हजार २४८.५३ मा पुगेर बन्द भएको कारोबार गत साताको पहिलो दिन अर्थात् आइतबार झिनो अंकले सुधार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर १ हजार २४९.४९ बिन्दुमा पुग्यो ।

सो दिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने औसत मात्रै रह्यो । कुल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता सेयर २८ करोड ५२ लाख १४ हजार ५७२ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका थिए ।
सोमबार करिब ४३ करोडको कारोबार भयो । कुल २९ लाख ७३ हजार ८४३ कित्ता सेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको सेयर कारोबार भएको थियो । मंगलबार पनि कुल ३४ करोडको कारोबार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता सेयर खरिदबिक्री भए । बुधबार कारोबार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अंकले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १.८५ अंकले बढेर १ हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने औसतमै सीमित रह्यो । कुल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता सेयर ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, बुधबार दोहोरो अंकले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर १ हजार २७२.४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने औसतमा रह्यो । कुल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता सेयर ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरिदबिक्री भए ।
बजार पुँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंक उत्कृष्ट दसौं स्थानमा परे ।
सातामा विभिन्न चार कम्पनीका सेयर स्टकमा सूचीकृत भए । त्यसमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद सेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको २ लाख ११ हजार ३१२ कित्ता हकप्रद सेयर, नबिल ब्यालेन्स फन्डको ११ करोड २० लाख एकाइ साधारण सेयर र कुमारी बैंकको कुल १ करोड ५२ लाख २१ हजार ७८१ कित्ता सेयर लाभांश सूचीकृत भएका छन् ।

(Visited 24 times, 1 visits today)
Loading comments...