शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

उडान नहुँदा हजयात्री नेपालगन्जमै अलपत्र

रुद्र सुवेदी
5 months ago
21/07/2019

नेपालगन्ज । नेपाल एयरलाइन्सको नियमित उडान रद्द हुँदा नेपालगन्ज विमानस्थलमा हजयात्री अलपत्र परेका छन् । प्राविधिक कारण देखाउँदै नेपाल एयरलाइन्सको नियमित उडान रद्द हुँदा बाँकेबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने यात्री अलपत्र परेका हुन् ।
शनिबार ११ः५० नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडांै जानका लागि करिब २० दिनअघि टिकट लिएका हजयात्री घरबाट साइत गरी बिदा भएर नेपालगन्ज विमानस्थल पुगेर बोर्डिङ पास लिने बेलामा सो एयरलाइन्सले विमानमा प्राविधिक समस्या देखिएको भन्दै उडान रद्द भएको जानकारी गराएपछि १५ जना हजयात्री र उनका आफन्त पाँच जना नेपालगन्ज विमानस्थलमा अलपत्र परेको हजयात्रीका आफन्त सलाहुद्दिन जसगढले दुखेसो पोखे ।
उनले भने, ‘हज गर्न जाने आफन्तलाई बिदाइ गर्न विमानस्थल आइपुग्दा मात्र नियमित उडान रद्द भएको थाहा पाएँ । अन्य निजी विमानको टिकट लिन खोज्दा सहुलियत दरको टिकट लुकाई सबैमा फुल टिकटको भाडा लिएर हजयात्रीलाई ठग्ने काम भयो ।’

आइतबार बिहान १० बजे केन्द्रीय हज कमिटीमा सम्पर्क राख्नका लागि बोलाइएको कारण उनीहरू शनिबार काठमाडांै जानका लागि गत १६ असारको नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगन्जबाट काठमाडांैका लागि टिकट लिएका थिए । तर, नियमित उडान रद्द गर्दा आफू ठगिएको गुनासो हजयात्री असगर अलीको छ । आफूले ३ हजार २ सय रुपैयाँमा तिरेर नेपाल एयरलाइन्सको टिकट लिएको थिएँ । उडान रद्द भएपछि निजी विमानको टिकट लिन खोज्दा ९ देखि १० हजारसम्मको भाडा लाग्ने भनिन्छ, त्यो पनि पाउने हो कि होइन निश्चित छैन । घरबाट साइत गरेर एयरपोर्ट आएको छु । अब घर फर्कने पनि कुरा भएन । अपुग रकम घरबाट फेरि मगाएको छु । रकम आउँदासम्म टिकट पाउँछ कि पाउँदैन भन्न सकिन्न ।’

उसगर अली त प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै आइतबार बिहान काठमाडांैको केन्द्रीय हज कमिटीमा अनिवार्य उपस्थिति हुने १५ जना हजयात्री र उनीहरूका पाँच जना आफन्त उडान रद्द हुँदा अलपत्र परेका छन् ।
नेपाल एयरलाइन्स नेपालगन्ज विमानस्थलका स्टेसन प्रमुख शंकर केसीले विमान विराटनगर उडान गरेको बेलामा विराटनगरमा प्राविधिक समस्या आएका कारण रद्द गर्नुपरेको जानकारी दिए । उनले आफूहरूले टिकट रद्द गरेर अन्य निजी विमानबाट जानका लागि सहजीकरण गर्न मात्र सक्ने बताए ।

(Visited 22 times, 1 visits today)
Loading comments...