शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

मनोसामाजिक क्षेत्रमा सुपरिवेक्षण गर्ने निकायको अभाव

राजधानी समाचारदाता
5 months ago
21/07/2019

काठमाडौँ ।  मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरिवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरूले जे जानेका छन्, त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।
सुपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउन सक्ने अवस्थासमेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका त्यस्ता समस्या हल गर्न पेसागत सुपरिवेक्षणका लागि जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौंमा प्रशिक्षण सुरु  गरिएको छ ।

प्रशिक्षणमा नेपाल, भारत र बंगलादेशका मनोवैज्ञानिक, प्राध्यापक तथा मनोसामाजिक स्वास्थ्य सेवा दिँदै आएका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजक संस्था द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष नरेन्द्रकुमार ठगुन्नाले जानकारी दिए ।
नेपालमा पेसागत सुपरिवेक्षण गर्ने निकाय नभएकाले पहिलोपटक यहाँ प्रशिक्षण थालिएको र तालिम लिएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाले प्रमाणपत्र उपलब्ध गराउने उनले बताए ।
अस्ट्रेलियन काउन्सिलिङ एसोसिएसनद्वारा मान्यताप्राप्त इन्डियन एकडेमी अफ प्रोफेसनल सुपरभिजनिङका संस्थापक डा. वासुकीले उनीहरूलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणका क्रममा उनले अन्य क्षेत्रको सुपरिवेक्षण र मनोचिकित्सा क्षेत्रमा हुने सुपरिवेक्षणको बारेमा जानकारी दिए ।

स्नात्तकोत्तर गरेका, प्राध्यापक, मनोविमर्शकर्ता तथा मनोविज्ञानको क्षेत्रमा काम गर्ने हरेकका लागि पनि पोगत सुपरिवेक्षणसम्बन्धी ज्ञान हुनु जरुरी रहेको उनले बताए । मनमोहन मेमोरियल अस्पतालकी साइकोलोजिस्ट पूजन शर्माले आफूहरूले काम गरिरहेको भए पनि सुपरिवेक्षणको अभावमा गलत अभ्यासलाई नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।
बङगलादेशका मनोविद् तान्जिर अहमद तुसारले पेसागत सुपरिवेक्षणसम्बन्धी प्रशिक्षण अहिलेको अवस्थामा महŒवपूर्ण रहेको बताए । सहभागी अञ्जन ढकालले प्रयोग भइरहेका गलत अभ्यासलाई सुधार गरेर सेवा प्रभावकारी बनाउन प्रशिक्षण सहयोगी हुने विश्वास व्यक्त गरे । प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।

(Visited 16 times, 1 visits today)
Loading comments...