शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

साम्भवीले जितिन् दोहोरो उपाधि

राजधानी समाचारदाता
6 months ago
10/08/2019

काठमाडौं। ब्रिटिस स्कुलकी साम्भवी पाल्लक काठमाडांै ब्याडमिन्टन च्याम्पियनसिप (स्कुलस्तर) २०१९ मा दोहोरो उपाधि हात पार्न सफल भएकी छिन् ।

पाल्लकले छात्रा यू – १२ र यू – १४ दुवैतर्फ जित हात पारिन् । पाल्लकले यू–१२ मा ग्यालेक्सी स्कुलकी शेरा जे. शेर्पालाई २१ – २, २१ – ७ ले तथा यू – १४ मा ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१ – १०, २१ – ४ ले पराजित गरेकी हुन् ।

काठमाडांै जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको छात्र यू – १२ मा भ्याली भ्यू स्कुलका सक्षम ढकालले बौद्ध इन्टरनेसनलका ककेश सत्याललाई २१ – १३, २१ – ५ ले पन्छाउँदै उपाधिमा आफ्नो नाम लेखाए । यस्तै, छात्रकै यू – १४ मा क्यारिबियनका डेभिड थापा मगरले काठमाडांै मेरिडियनका अभियान कश्यपलाई २१ – १३, २१ – १० ले पाखा लगाउँदै उपाधि चुमे ।

सोही अवसरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक महेन्द्रलाल श्रेष्ठलाई कदर पत्र र नगद १० हजारबाट जिल्ला संघले सम्मान गरेको थियो । उनलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संघीय प्रतिनिधि सभाका माननीय सांसद जीवन राम श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए ।

विजयी खेलाडीले मेडल, प्रमाण पत्रका साथै यू – १४ तर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार तथा यू – १२ तर्फका खेलाडीले नगद २०, १५ र १० हजार प्राप्त गर्नेछन् । नगद पुरस्कार खेलाडीलाई विशेष कार्यक्रमको आयोजना गरी पछि प्रदान गरिने आयोजक संघका अध्यक्ष दीपक थापाले जानकारी गराए ।

विजयी खेलाडीलाई प्रमुख अतिथि श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मी, ओलम्पियन दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

 

(Visited 29 times, 1 visits today)
Loading comments...