राजधानी समाचारदाता
4 months ago
0
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७६÷०७७ को खेलकुद पूर्वाधार निर्माण तथा योजना सम्बन्धी दुई दिने गोष्ठीले १३ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको दुई दिने गोष्ठीले १३औं दक्षिण एसियाली खेलकुद (साग) को भौतिक पूर्वाधारको निर्माण, नियमित हुने नवौं राष्ट्रिय खेलकुदको भौतिक संरचना, खेलकुदको विकासका लागि क्रमागत रूपमा आवश्यक पूर्वाधार निर्माण, थप आवश्यक खेलकुद पूर्वाधारहरूको शुरुवात, नयाँ पूर्वाधारहरूको डीपीआर र एनिमेसनलगायत स्थानीय तहमा खेलग्राम निर्माण गर्ने सम्बन्धमा मुख्य छलफल भएको थियो ।
प्रतिबद्धतामा १३औं साग सञ्चालनका लागि न्यूनतम आवश्यक भौतिक पूर्वाधारको तयारीका लागि विनियोजित बजेटलाई सतप्रतिशत सदुपयोग गरी समयमा निर्माण कार्य सम्पन्न गर्ने र तोकिएको समयमा १३औं सागको आयोजना गर्ने पहिलो प्राथमिकता रहने उल्लेख छ । १३औं सागको उद्घाटन स्थल दशरथ रंगशालालाई विशेष प्राथमिकता दिई रंगशालाको भीआएपी प्याराफिट छाना र कुर्सी राख्ने, बाटो, गेट आदिको निर्माण कार्य चुस्त बनाइने उल्लेख छ ।
दशरथ रंगशाला कभर्डहल, दशरथ रंगशालास्थित स्वास्थ्य एकेडमी, लैनचौर कभर्डहल, कीर्तिपुर क्रिकेट मैदन, मूलपानी क्रिकेट एकेडेमी, सातदोबाटो हिटिङ स्विमिङ पुल, तेक्वान्डो एकेडेमी, कराते एकेडेमी, स्क्वास एकेडेमीलगायत काठमाडौंभित्र सञ्चालन गरिने खेल स्थलहरूलाई प्राथमिकतामा राखी विनियोजित बजेट बमोजिम भौतिक पूर्वाधार समय सम्पन्न गर्न प्राविधिक पक्षलाई सवल र जिम्मेवार बनाई आर्थिक पक्षमा जोड दिइनेछ । पोखरा रंगशालाभित्र सञ्चालन हुने पूर्वाधारको हकमा पोखरा रंगशाला, पोखरा बहुउद्देश्यीय कभर्डहलको निर्माण कार्य सम्पन्न गर्न प्राविधिक पक्ष र आर्थिक पक्षमा जोड दिइने उल्लेख छ ।
खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नतिजामूलक बनाउने लक्ष्यका साथ राष्ट्रियस्तरमा हुने नियमित प्रतियोगिताको रूपमा प्रत्येक २÷२ वर्षमा सञ्चालन गरिने आगामी नवौं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधारको निर्माण कार्यलाई समेत प्राथमिकतामा राखिनेछ ।
गोष्ठीमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्री एवं परिषद्का अध्यक्ष जगत्बहादुर विश्वकर्मा (सुनार), उपाध्यक्ष पीताम्बर तिम्सिना, कोषाध्यक्ष शैलेश कर्माचार्य सदस्यहरू देव कुमार अधिकारी, अर्जुनबहादुर केसी उपेन्द्र पौडेल, एकेन्द्र कुँवर, सुदिल शाही र इन्दिरा निरौलासमेतको उपस्थिति रहेको थियो ।