शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

सुनको कारोवारः मुल्य उकालो, व्यापार ओरालो !

नवीन शिशिर
4 months ago
13/08/2019

बागलुङ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा विगतमा सुन पसलमा निकै चहल पहल हुन्थ्यो । नयाँ सुन किन्ने, पुरानो साटफेर गर्नेहरुको बाक्लो उपस्थितीले सुन पसलेहरुलाई कामको अभाव हुने थिएन । तर यस वर्ष हरितालिका तिज नजिकिँदै गएपछि बजारको सुन पसल प्रायः सुनसान देखिन्छन् । बजारमा सुनको भाउ प्रतितोला ७० हजारमाथि पुगेपछि बागलुङ बजारमा खरिद भन्दा बिक्री गर्ने ग्राहक बढेका छन् ।

साउनको महिनाका निरन्तर सुनको मूल्य वृद्धि भएपछि बागलुङ बजारका सुन पसलमा दैनिक जसो ग्राहकहरु सुन विक्रीका लागि आउने गरेका व्यवसायीहरु बताउँछन् । केहिदिन यता बिक्री दर ठप्प बनेको अन्नपूर्ण सुनचाँदी पसलका संचालक अनिष खातीले जानकारी दिए ।

‘अहिले आधा तोला सुनका गहना विक्री गर्न गाह्रो छ,’ उनले भने । दिनै पिच्छे सुनको भाउ महंगिदा समस्या थपिएको उनको भनाई छ । ‘मुस्किलले सुन किन्न आउने ग्राहक पनि लक्ष्य भन्दा आधा मात्रा सुन किनेर फर्कने गरेको राज्य लक्ष्मी सुनचाँदी पसलका संचालक कविराज सुनारको भनाई छ ।

‘अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ, विक्री हुँदैन किन्ने मात्र काम भएको छ, ग्राहकलाई एक दुई दिनमा आउनुस भनेर गहना नकिनी फर्काउनुपर्ने अवस्था पनि छ’ सुनारले भने । विगतमा साउन महिनामा सुनको मूल्य घटने हुँदा सुन किन्नहरुको भिड हुन्थ्यो’ नेपाल सुनचाँदी व्यवसायि संघ बागलुङका अध्यक्ष ओमबहादुर विश्वकर्माले भने–‘अहिले व्यापार ८० प्रतिशतले घटेको छ ।’

बैंकमा सुन राखेर ऋण लिएकाहरु पनि अहिले सुन झिकेर बेच्न थालेका छन,’ उनले भने, ‘६८ हजार हुँदासम्म त कारोबार चलेकै थियो ७० नाघे पछि व्यापार अस्तव्यस्त छ ।’ अध्यक्ष विश्वकर्माका अनुसार बजारमा सुन किन्ने भन्दा सुन विक्री गर्ने ग्राहकको संख्या बढी रहेको छ ।

(Visited 129 times, 1 visits today)
Loading comments...