शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

विद्युत् प्राधिकरणबाट सिकौं

राजधानी समाचारदाता
4 months ago
15/08/2019

 

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा नचिताएको नाफा वृद्धि गरेको छ । यो नाफा १४९ प्रतिशतले वृद्धि हुन आएको छ । कुल रकममा रूपान्तरण गर्दा यो नाफा ६ अर्ब २० करोड हुन आउँछ, जब कि २०७३ सालसम्म नेपाल विद्युत्् प्राधिकरणक हरेक वर्ष अर्बौंको घाटामा थियो । विद्युत् प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ आएपछि यो चामत्कारिक नाफा वृद्धि भएको हो । यसको पछाडि विद्युत् चुहावटको उचित व्यवस्थापन, अनुगमन र नियन्त्रण नै हो । यसका साथै जलविद्युत् केन्द्रको समयमै मर्मतसंभार र मेसिन चलाएको समयावधिको यकिन र विकल्पको तयारी, विद्युत् कर्मचारीलाई प्रोत्साहन, सहयोग र हौसला आदि पनि यसका कारक रहेका छन् । कर्मचारीबीचमा सामूहिकता र सामूहिक सहकार्यको अभिव्यक्तिका रूपमा घिसिङको अगुवाइले विद्युत् नाफा वृद्धिमा निकै ठूलो काम गरेको छ । विद्युत् कर्मचारीमा जागेको विश्वास र काममा देखापरेको स्फूर्तिले पनि यसमा ठूलो टेवा पु¥याएको छ । देशभर कुल विद्युत् चुहावटमध्ये १० प्रतिशतभन्दा बढी चुहावट नियन्त्रणमा आएको छ । अझै पनि १५ प्रतिशतभन्दा बढी विद्युत् चुहावटको समस्या नियन्त्रण गर्न बाँकी छ । यो भनेको देशलाई प्रत्येक वर्ष १२ अर्ब बराबरको घाटा हो । यो पनि क्रमशः नियन्त्रणको घेराभित्र आउँदै गरेको छ ।

विद्युत् प्राधिकरणमा पछिल्लो पटक गरिएको यो वैज्ञानिक व्यवस्थापनले राज्यको आर्थिक कोषमा श्रीवृद्धि त हुँदै गएको छ नै, यसले नेपाली जनजीवन धेरै सहज बनाउन सघाउ पु¥याएको पनि छ । देशमा उद्योगधन्दा कलकारखाना, शैक्षिक तथा व्यापारिक संस्था, सरकारी कार्यालय र निजी निवासहरू, सडक तथा सेवाका सेक्टरहरू २४ सै घण्टा झलमल्ल भई उज्यालिएका छन् । बिजुलीको मिटर राखेकाहरूले चाहेका बेला उज्यालो र ऊर्जा चाहेजति प्रयोग गर्न पाएका छन् । यो भनेको आर्थिक उन्नतिका लागि एक स्टेप भए पनि अगाडिको कुरा हो । कारखाना चौबीसै घण्टा चल्न पाउँदा यसले देशको आर्थिक समृद्धिमा पनि निकै ठूलो टेवा पु¥याएको छ । बिजुलीको आपूर्ति नहुँदा उद्योगधन्दा कलकारखाना तोकिएको आठ वा दश घण्टा मात्र चल्दथे । लोडसेडिङको मार निकै चर्को थियो । शिक्षा, स्वास्थ्यलगायतका सेवाका क्षेत्र अध्याँरामा निसासिएका थिए । तर, हाल आएर देशभर विद्युत् उपभोग गर्नेहरूको संख्या ७८ प्रतिशतभन्दा माथि पुगिसकेको छ । विद्युत् आपूर्ति र विस्तारले मैनबत्ती तथा सोलारको झन्झटलाई निकै कम गरिदिएको छ । असल नेतृत्वका कारण २४ सै घण्टा विद्युत् आपूर्ति हँुदा उत्पादनका हरक्षेत्रमा गुणात्मकता आउने शुभ संकेत देखिन थालेको छ ।

देशको समग्र विकासको आधार वा जगका रूपमा रहेको विद्युतीय उर्जाको उचित व्यवस्थापन, वितरण तथा राज्य कोषको श्रीवृद्धि राज्यका अन्य क्षेत्र तथा विभागका लागि बहुमूल्य पाठ हुनसक्छ । नेपालमा बाँकी रहेका दूर दराजका गाउँमा विद्युत् आपूर्ति गर्न सकिने सम्भावनालाई यसले बढाएर लगेको छ । यसका साथै अबका दिनमा उत्पादन हुँदै गरेका विद्युत् विदेशमा बेचेर आय आर्जन गरी देशमा समृद्धि ल्याउन सकिने परिकल्पनालाई साकार गर्न सकिने दिशा निर्देश गरेको छ । विद्युत् प्राधिकरणको कुशल नेतृत्वको सिको सरकारका सबै निकायले गर्न सकेमा मुलुक छिट्टै समृद्ध बन्न सक्ने विश्वास गर्न सकिन्छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...