शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

राजधानी समाचारदाता
4 months ago
23/08/2019

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा उनी बढीमा १५ दिनसम्म सिंगापुर बस्ने भएका छन् ।
बिहीबार दिउँसो साढे १ बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यसहित सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन् । अघिल्लो पटक १८ साउनदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ति जारी गर्दै अघिल्लोपटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मिर्गाैलासम्बन्धी ‘एन्टिबडी’को मात्रा केही बढी देखिएको जनाएकी छन् ।
‘एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो,’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्नेछन् ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय जानकारी भए सञ्चारमाध्यमलाई जानकारी गराउने डा. सिंहले जनाएकी छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भए हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइलाई अवगत गराउने नै छौं’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...