बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

पोखरामा २ सय ३० जनामा डेंगु

विजय नेपाल
3 months ago
23/08/2019

पोखरा । डेंगु रोग नियन्त्रणका लागि सरोकारवाला सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा शुक्रवारसम्म २ सय ३० जनामा डेंगु रोगबाट संक्रमित भैसकेको अवस्थामा सम्भावित महामारी रोक्न सबैले तोकिएको दायित्व पूरा गरी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिइएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा पोखरामा शुक्रवार आयोजित सरोकारवालाहरुसँग डेंगु रोग नियन्त्रणसम्बन्धी अन्तक्र्रियाका वक्ताले यो रोगबाट संक्रमितको संख्या क्रमशः बढिरहेकोले सम्भावित महामारी रोक्न प्रतिबद्ध हुनुपर्ने बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव नरदेवी पुनले यस क्षेत्रमा यो रोग नियन्त्रणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले यो वा त्यो बहानामा नलागी आ–आफ्नो क्षेत्रबाट तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैले दायित्व पूरा गरेमा रोगको महामारी छेकिने बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका नि.निर्देशक डा. भोजराज गौतमले हालसम्म पोखरा क्षेत्रमा २ सय ३० जना मानिसमा डेंगु रोगको संक्रमण भइसकेको जानकारी दिए । उनले विशेषगरी पोखरा महानगरपालिका वडा ८, ९, १०, १७ मा यो बढी देखा परेकोले त्यस वडामा विशेष चनाखो हुनुपर्ने बताए । डा. गौतमले रोग नियन्त्रणका लागि स्थानीयलाई परिचालन गर्नमा फोहोर व्यवसथापनको जिम्मा लिएको पोखरा महानगर अघि सर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति, टायर तथा कवाडी सामान व्यवस्थापनमा महानगरले अग्रसरता लिएर काम गरेमा नियन्त्रण सम्भव रहेको बताए ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र घिमिरे, नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बराल लगायतले रोगविरुद्ध समुदायस्तरमा सचेतना आवश्यक रहेको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष पोखरामा ५ सय ७१ जनामा डेंगु संक्रमण भएको थियो ।
यसैबीच, गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले यस क्षेत्रमा डेंगु नियन्त्रणका लागि क्षेत्रीय निर्देशनालयमार्फत खर्च हुने गरी २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अन्तक्र्रियामा पोखराका विभिन्न वडाका वडाध्यक्ष, पोखरा क्षेत्रका अस्पताल, प्याब्सन, एन प्याब्सान, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार, आमा समूह, क्लब, टोल विकास संस्था लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

चिकित्सकका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधैँ सर्दैन बरु लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका ड्रम, फूलदानी, गमला, कुलर, पानीका टंकी लगायतमा यसले फुल पार्दछ । वर्षाको महिनासँगै जताजतै पानी जम्ने भएकोले यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ ।

यसका मुख्य लक्षणमा आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोनी, हड्डी तथा मांशपेसीहरु दुख्ने, उच्च ज्वरोसँगै ती लक्षण देखा परेमा यो रोग लागेको आशंका गरिन्छ । साथै वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिंजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत रहेको चक्का (नीलडाम) देखा पर्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्न सक्ने जनाइएको छ ।

डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकोले यसको खास उपचार छैन र डेंगु ज्वरोविरुद्ध खोप समेत उपलब्ध छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गर्ने गरिन्छ ।

रोग लाग्नबाट जोगिन लामखुट्टेको टोकाइबाट बँच्ने, त्यसको लागि पूरा बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने, टोकाइबाट बँच्ने मल्हम लगाउने, घर वरिपरि पुराना भाँडामा पानी जम्न नदिने, जमिहाले हप्तामा २ पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्किने, खानेपानीका टंकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने गर्नुपर्दछ ।

(Visited 35 times, 1 visits today)
Loading comments...